बाँकेमा थारू सम्मेलन
नेपालगन्ज : थारू लेखक संघ नेपालले सातौं राष्ट्रिय थारू साहित्य सम्मेलन बाँकेमा आयोजना गर्ने भएको छ। थारू लेखक संघ नेपाल बाँके र थारू गोचाली समाज नेपाल राप्ती सोनारीले शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गरी आगामी माघ २० देखि २२ गतेसम्म राष्ट्रिय थारू साहित्य सम्मेलन आयोजना गर्न लागेको जानकारी दिएका हुन्।
यसैगरी थारू र सिकलसेलबारे पनि छलफल हुनेछ। देशभरीबाट आएका झन्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूलाई बाँकेको राप्तीसोनारी र नरैनापुरमा रहेका पर्यटकीय क्षेत्र बर्फानीबाबा, सन्तानेश्वर, भुवरभवानी, सिक्टा नहर मूल बाँध क्षेत्रको अवलोकन गराउने कार्यक्रम पनि रहेको छ। यसअघि ०७३ सालमा पहिलो राष्ट्रिय थारू साहित्य सम्मेलन दाङमा भएको थियो। दोस्रो कैलालीको धनगढीमा, तेस्रो बर्दियाको बढैयातालमा, चौथो रुपन्देहीको मुर्गीया, पाँचौं सुर्खेतको नयाँगाउँ, छैठौं कञ्चनपुर र सातौं बाँकेको राप्तीसोनारी गाउँपालिका–६ सिधनवामा हुन लागेको हो।