काठमाडौं : अमेरिकाको राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्ड नेपालको दुईदिने भ्रमणका लागि आइतबार साँझ काठमाडौं आइपुगेकी छन्। उनले नेपालपछि भारत, श्रीलंका र कतारको भ्रमण गर्ने अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
‘नेपालमा नुल्यान्ड नयाँ सरकारसँगको अमेरिकी साझेदारीको छलफलमा बृहत् एजेन्डामा संलग्न हुनेछिन्’, विज्ञप्तिमा लेखिएको छ। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन, परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग भेट गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्। यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग पनि भेटघाटको कार्यक्रम छ।
‘यो नियमित भ्रमणजस्तै हो। यस्ता नियमित भ्रमणबारे परराष्ट्रले नियमित काम गरिरहेको हुन्छ’, प्रवक्ता लम्सालले भनिन्, ‘उहाँको भ्रमणका विषयमा अग्रिम सूचना थियो।’ अमेरिकी राजदूतावासका अनुसार नुल्यान्डको भ्रमणका क्रममा मानवअधिकार, प्रजातन्त्र, शरणार्थीलगायत विषयमा छलफल हुनेछ। नेपालमा अमेरिकी अनुदानमा सञ्चालित परियोजनाका विषयमा थप ‘अपडेट’ लिने पनि जनाइएको छ।
नेपालको संस्कृतिलगायत विषयमा पनि छलफल हुनेछ। उनले अमेरिकाले नियमित दिँदै आएको सहयोग यूएसएआईडी र नेपालले ती क्षेत्रमा गरेको प्रगतिका विषयमा पनि समीक्षा र अपडेट लिने जनाइएको छ। अमेरिकाले नेपालको पुनर्निर्माणमा गरेको सहयोग र ललितपुरको पाटनमा रहेका सांस्कृतिक सम्पदास्थलको अवलोकन गर्ने कार्यक्रम छ।
अमेरिकी राजदूत डिन थम्पसनले यसअघि जनवरी १२ मा पत्रकारसँग एमसीसी नेपाल कम्प्याक्टलाई कार्यान्वयन गर्न उच्च प्राथमिकता दिएको बताएका थिए। अमेरिकाले ५० करोड डलरको यो परियोजना अगस्टदेखि लागू हुने गरी यसलाई कुनै पनि अवरोधबिना कार्यान्वयन होस् भन्ने चाहेको छ। उपमन्त्रीको भ्रमणलगत्तै अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोगकी प्रमुख सामन्था पावर पनि ५ फेब्रुअरीदेखि नेपाल भ्रमणमा आउने तय भएको जनाइएको छ। अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानवअधिकार उपमन्त्री उज्रा जिया पनि गत वर्ष जेठमा नेपाल आएकी थिइन्।
यसपटक अमेरिकी टोलीमा उपसहायक मन्त्री नेन्सी ज्याक्सन र अमेरिकी विदेश मन्त्रालयकी म्यारी फ्रेङ्गाकिस छन्। उनीहरू सोमबार भारत जाने तालिका छ। नुल्यान्ड सन् २०२१ अप्रिलदेखि अमेरिकी विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्रीका रूपमा कार्यरत छिन्। त्यसअघि उनी वासिङ्टन डीसीमा रहेको विश्वव्यापी रणनीतिक सल्लाहकार र व्यावसायिक कूटनीति फर्म अबल्राइट स्टोनब्रिज समूहकी वरिष्ठ सल्लाहकार थिइन्।