कमोडिटी एक्स्चेन्ज गुपचुप सञ्चालनमा

सञ्चालनमा रहेका सबै कमोडिटी एक्स्चेन्ज अवैध

कमोडिटी एक्स्चेन्ज गुपचुप सञ्चालनमा

काठमाडौं : नेपाल धितोपत्र बोर्डबाट अनुमति नै नलिइ अवैध रूपमा वस्तु विनिमय बजार (कमोडिटी एक्स्चेन्ज मार्केट) सञ्चालनमा रहेको पाइएको छ। नेपाल धितोपत्र बोर्डले हालसम्म कसैलाई कमोडिटी एक्स्चेन्ज बजार सञ्चालन गर्न अनुमति नदिएको भए पनि सीमित व्यक्तिले लुकिछिपी कारोबार गरिरहेको जानकारी बोर्डकहाँ पुगेको छ।

वि.सं. २०७४ सालमा वस्तु विनिमय बजारसम्बन्धी ऐन आएपछि त्यसअघि सञ्चालनमा रहेका कमोडिटी एक्स्चेन्च स्वतः अवैध भएका थिए। ऐनको दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था गरिएको छ।

‘नेपाल धितोपत्र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान गरेको छैन’, बोर्डका अध्यक्ष रमेश हमालले अन्नपूर्ण पोस्ट्सँग भने, ‘तर, लुकिछिपी कमोडिटी बजार सञ्चालनमा आइरहेको गुनासो प्राप्त भएपछि हामी सजग भएका छौं र आम सर्वसाधारण लगानीकर्तालाई पनि होसियार रहन सूचित गरेका छौं।’ हमालका अनुसार नेपाल प्रहरीले पनि यसरी हुने कारोबारको अनुसन्धान गरिरहेको छ।

बोर्डले नयाँ एक्स्चेन्जलाई अनुमतिपत्र प्रदान गर्ने तयारी गरेको भए पनि सर्वोच्च अदालतमा मुद्दा परेका कारण हाल सो प्रक्रिया रोकिएको छ। बोर्डले वस्तुको विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्न पूर्वस्वीकृतिका लागि निवेदन दिनेसम्बन्धी सूचना गत असोज २ मा सूचना प्रकाशन गरेको थियो। तर, सर्वोच्च अदालतको अल्पकालीन आदेशअनुसार नयाँ एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रिया हालका लागि स्थगित छ। यस्तो स्थितिमा बिना अनुमति वस्तु विनिमय बजार सञ्चालनमा रहेको बोर्ड अध्यक्ष हमाल बताउँछन्। त्यही सिलसिलामा बोर्डले आइतबार सूचना निकालेर जनतालाई सुसूचित पनि गराएको छ।

बोर्डले कुनै अमुक कमोडिटी एक्स्चेन्ज बजार तथा व्यवसायीमार्फत वस्तु विनिमय बजारसम्बन्धी कुनै किसिमको कारोबार नगर्न लगानीकर्तालाई आग्रह गरेको छ। बोर्डले वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरू अनुमति नलिई सञ्चालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही हुने सूचित पनि गरेको छ।


सञ्चालनमा रहेका सबै कमोडिटी एक्स्चेन्ज अवैध 

रमेश हमाल - अध्यक्ष, नेपाल धितोपत्र बोर्ड

बोर्डमा मैले कार्यभार सम्हालेदेखि नै वस्तु विनिमय बजार प्रभावकारी ढंगले सञ्चालन गर्नुपर्छ भन्ने मत राख्दै आएको छु। राजस्व बढ्ने, लगानीका आयाम विस्तार हुने, किसान तथा उद्योगीलाई हेजिङको सुविधा प्रदान गर्ने भएकाले कमोडिटी बजारले अर्थतन्त्रको विविध पाटोमा सकारात्मक प्रभाव पर्छ ।

मैले पदबहाली गर्दाको उद्घोषअनुसार २०७९ असोज २ गते कमोडिटी बजारलाई लाइसेन्स प्रदान गर्ने सोचले पूर्वस्वीकृतिका लागि आवेदन माग गर्‍यौं। तर, सम्मानित सर्वोच्च अदालतको अल्पकालीन आदेशअनुसार नयाँ एक्स्चेन्जलाई लाइसेन्स दिने प्रक्रिया हालका लागि स्थगित छ। २०७४ सालमा वस्तु विनिमय बजारसम्बन्धी ऐन आउनुअघि पनि कमोडिटी बजार सञ्चालनमा नरहेका भने होइनन्। तर, त्यस्ता बजार कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएर सञ्चालनमा थिए। ऐन आएपछि ती बजार स्वतः अवैध भए किनभने ऐनमा नेपाल धितोपत्र बोर्डबाट बजार सञ्चालनको अनुमति लिनुपर्ने व्यवस्था छ।

अहिले हाम्रो चिन्ताको विषय लगानीकर्ताको हित हो। गुपचुप रूपमा यस्ता बजार अझै पनि चलिरहेका छन् भन्ने सूचना प्राप्त भएको छ। लगानीकर्तालाई कमोडिटी बजारमा कारोबार नगर्न सुचित गराएका छौं। अवैध बजारमा कारोबार गर्दा सोझा लगानीकर्ता डुब्ने जोखिम धेरै रहन्छ।
– कुराकानीमा आधारित


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.