भान्सामा बढ्दै छ सिस्नोको परिकार
सोलुखुम्बु: सोलुखुम्बुबासीले भान्सामा सिस्नोको परिकार बढाउन थालेका छन्। स्वास्थ्यका लागि बहुउपयोगी सिस्नो गाउँ तथा बजारमा भान्सामा नयाँ नयाँ परिकारका रुपमा पाक्न थालेको छ।
विगतमा खासै महत्व नपाएको सिस्नोलाई अहिले खोजी खोजी प्रयोग गर्न थालिएको छ। ‘बहुगुण भएको सिस्नोलाई मैले सधै खाने गरेको छु, मलाई स्वाद मनपर्छ, अरुले पनि सिस्नो प्रयोग गर्नुस् यसले राम्रो गर्छ,’ सिस्नो किन्दै गरेका सल्लेरीका महेश अधिकारीले भने।
पछिल्लो समय सिस्नो प्रतिको मोह बढ्दै गएको छ भने ठूला होटल, रेष्टुँरामा पनि महँङ्गो खानाको परिकारमा सिस्नो समावेश हुन थालेको छ। हिजोआज सिस्नोको माग बढ्दै गएको सोलुखुम्बु सदरमुकाम सल्लेरीमा सिस्नो बेच्दै गरेकी तीर्षमाया राई देउसाले बताइन्। अहिले सिस्नो बेचेर राम्रो आम्दानी हुने गरेको पुर्णमाया राईको अनुभव छ।
सिस्नो पहाडी क्षेत्रमा वारीका कान्लामा पाईने हुँदा घरमा यसलाई सागको रुपमा पनि प्रयोग गर्न सकिन्छ। सिस्नोको प्रयोगले किड्नीको समस्या भएका, पिसाब पोल्ने समस्या भएकालाई राहत मिल्छ। दम, बाथ रोगका लागि उपयोगी सिस्नो रगत उत्पादन बढाउन उपयोगी हुने चिकित्सकहरू बताउँछन्।