पाकिस्तानको मस्जिदमा विस्फोट, ४७ को मृत्यु
इस्लामाबाद (बीबीसी) : पाकिस्तानको पेशावरस्थित मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीप्रति लक्षित आत्मघाती बम विस्फोटमा कम्तीमा ४७ जनाको मृत्यु भएको छ। उक्त मस्जिद उच्च सुरक्षा रहेको प्रहरी मुख्यालय क्षेत्रमा अवस्थित छ।
प्रधानमन्त्री सहवाज सरिफले भनेका छन्, ‘आतंकवादीहरूले पाकिस्तानको सुरक्षामा खटिएकाहरूलाई लक्ष्य गरी त्रास सिर्जना गर्न खोजेका छन्।’ घटनाको जिम्मा हालसम्म कुनै समूहले लिएका छैनन्। यद्यपि, पाकिस्तानी तालिबानको संलग्नता रहेको जनाइएको छ। उक्त समूहले गत नोभेम्बरमा युद्धबिराम अन्त्य गरेसँगै विस्फोटका घटनामा वृद्धि भएको छ। सोही समूहले गत डिसेम्बरमा गराएको विस्फोटमा ३३ सैनिकले ज्यान गुमाएका थिए।
मस्जिदमा सोमबार एक व्यक्तिले आफैंलाई विस्फोट गराएका थिए। पेशावर प्रहरी प्रमुख मोहम्ममद इजाज खानका अनुसार मस्जिदमा ३ देखि ४ सय संख्यामा प्रहरी थिए। उक्त घटना स्थानीय समयअनुसार अपराह्न साढे १ बजे भएको थियो।
घाइते हुनेमा अधिकांश प्रहरी रहेका जनाइएको छ। पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले पेशावरको मस्जिदमा भएको आतंकवादी हमलाको निन्दा गर्दै खुफिया र प्रहरी बललाई सचेत रहन आग्रह गरेका छन्।