लैंगिक हिंसाविरुद्ध किशोर–किशोरी
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का किशोर–किशोरीहरूले लागूऔषध दुर्व्यसन र लैंगिक हिंसाविरुद्धको अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन्। आवाज संस्थाले सोमबार वीरेन्द्रनगरमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन्। हिंसा र दुर्व्यसनले समाज नै असुरक्षित र असभ्य बनेको किशोर–किशोरीको भनाइ छ।
जनप्रभात मावि कोलडाँडामा कक्षा १० मा अध्ययनरत छात्रा सन्ध्या विकले लागूऔषध दुर्व्यसन र हिंसाका घटना समाजमा रहेको बताइन्। ‘राज्यले हाम्रो सुरक्षाको ग्यारेन्टी गर्ने हो भने सूचना दिनका लागि हामी तयार हुन्छौं, बालक्लव तथा समूहहरू गठन गरेर हिंसा, विभेद र दुर्व्यसनबिरुद्ध अभियान थाल्छौं, यसबाट हिंसा, विभेद र दुर्व्यसनमुक्त समाज बनाउन सकिन्छ,’ उनले भनिन्।
छात्र भरतप्रसाद चौलागाईंले समाजमा हुने लागुऔषध दुर्व्यसन, बाल विवाह, बहुविवाह, घरेलु हिंसा जस्ता सामाजिक विकृति र बिसंगतिबिरुद्ध सामुहिक रुपमा आवाज उठाउनुपर्ने बताए। ‘एक्ला एक्लै काम गर्दा समाजका अपराधिक सोच भएका मानिसहरू दुस्मनीका रूपमा लिन्छन् तर एकताबद्ध भएर अगाडि बढ्ने हो भने समाजलाई सभ्य बनाउन सकिन्छ,’ उनले भने।
समुहमा संगठित गरेर विभिन्न सचेतनाका कक्षाहरू संचालन गर्दा किशोर–किशोरीहरू पढाइदेखि अन्य सामाजिक अभियानमा नेतृत्वदायी बनेर लाग्न थालेको आवाज संस्थाकी सामाजिक परिचालिका सम्झाना सुनारले बताइन्।
‘विगतमा आफ्ना समस्या समेत अभिभावकलाई बताउन नसक्ने किशोरकशोरीहरू अहिले आफ्नो अधिकारका विषयमा बोल्ने र कर्तव्य बुझ्ने पनि भएका छन्, यसले हरेक किशोरकिशोरीहरूमा सकारात्मक परिवर्तन आएको छ,’ उनले भनिन्।