विश्व आर्थिक मन्दीको अनुहार

आर्थिक–मन्दी सबैको घरछेउ आएको छ, मूलढोका वा जस्केलो, कहाँबाट भित्र पस्छ ? कुन रूपमा पस्छ ? भन्ने मात्र छ।

विश्व आर्थिक मन्दीको अनुहार

एबिसी न्युज (अमेरिका) मा लेखक तथा व्यवसायी प्रशिक्षक रेचल रोजर्स आर्थिक–मन्दीमा गर्नुपर्ने पाँच उपाय सिकाउँदै भन्छिन्, ‘मन्दी भनेको आर्थिक गतिविधिमा कमी हुनु हो। यस्तोमा मानिस कम खर्च गर्छन्। नगद प्रवाह घट्छ। कयौंको जागीर जान्छ। बेरोजगारी बढ्छ। यस्तोमा म तपाईंलाई पाँच उपाय सिकाउँछु। मन्दी भन्नेबित्तिकै हामी अत्तालिन थाल्छौं, त्यसैले पहिलो त आफूलाई सम्हाल्नुहोस्। दोस्रो, आपत अवस्थाका लागि नगद जोहो गर्नुहोस्। तेस्रो, ठूला खर्च नगर्नुहोस्। चौथो, क्रेडिट स्कोर जाँच्दै गर्नुहोस्। पाँचौ, आय–व्ययको पुनः मूल्यांकन गर्नुहोस्।’

धेरै मानिस सन् २०२३ मा आर्थिक–मन्दी अवश्यंभावी छ भन्नेमा छन्। सर्वेक्षणहरू त्यसै भन्छन्। जेपी मोर्गन चेसको २०२३ को वार्षिक बिजनेस लिडर्स आउटलुक सर्वेक्षणअनुसार २०२३ मा साना र मध्यम आकारका अमेरिकी व्यापारका अगुवाले मन्दी आउने अनुमान गरेका छन्। समग्रमा, ६५ प्रतिशत मध्यम–आकारका व्यवसाय र ६१ प्रतिशत साना व्यवसायले मन्दी आउँछ भनेका छन्। वाल स्ट्रिट जर्नलले अर्थशास्त्रीसँग गरेको अर्को सर्वेक्षणमा ६१ प्रतिशतले वर्षको १२ महिना मन्दीको अनुमान गरेका छन्।

विश्वभरको आर्थिक गतिविधिले त्यस्तै देखाउँदै आएको छ। आर्थिक–मन्दीको अनुमान सन् २०२१–२२ मै गर्न थालिएको हो। कोभिडका कारण बन्द हुने पुगेका चमेना–गृह, साना व्यवसाय, कलकारखाना, अखबार आदिले लाखौंको रोजगारी खोसेकै थियो। महामारीबाट पूरै नतंग्रिएको विश्वले युक्रेन युद्ध झेलिरहेछ, जुन युरोपमा सन् १९४५ पछिको सबैभन्दा ठूलो भू–युद्ध हो। बढ्दो खाद्यान्न र ऊर्जा लागत अर्कातिर थियो र अझै छ नै। बजार भाउ चुलियो र यो घट्न मानिरहेको देखिँदैन। श्रीलंका टाट पल्ट्यो नै भनौं। इजिप्टका जनतालाई कुखुराको खुट्टा-नंग्रा खाउ भन्ने अवस्था आयो। फिलिपिन्सको बजारमा प्याज हरायो। यी अवस्थाहरू उनीहरूका गलत आर्थिक नीतिका कारण हुन्। कोभिडबाट उक्सन सचेत नहुँदाको नियति उनीहरू भोगिरहेका छन्। श्रीलंका र इजिप्ट, बेग्लै विषय हुन् वा नहुन सक्छन्। यी आर्थिक–मन्दीका प्रसंग होइनन्। कोभिड वा अरूथोकका शिकार हुन्।

कोभिडको राप अलि सेलाउन थालेपछि विश्व–बजारमा आपूर्ति प्रणाली प्रभावित भयो। बजारमा देखिन थालेको संकटलाई मध्यनजर गर्दै कोलिन्स अंग्रेजी शब्दकोशका सम्पादकहरूले ‘पर्माक्राइसिस’लाई सन् २०२२ वर्ष–शब्दका रूपमा घोषणा गरे। यो समाचार थियो, गत नोभेम्बर १ को। जुन शब्दको अर्थ, ‘अस्थिरता र असुरक्षाको विस्तारित अवधि’ हुन्छ। उक्त शब्दले वर्तमानको झल्को दिएकै थियो। अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर)ले आफ्नो वेबसाइटमा जनवरी १७ मा यस्ता शब्दसूचीमा अर्को एउटा शब्द समेटेको छ, ‘पोलिक्राइसिस’, जसको अर्थ ‘धेरै विनाशकारी घटनाहरू एकसाथ घटनु’। ‘पर्माक्राइसिस’भन्दा ‘पोलिक्राइसिस’ बढी प्रचलित हुने एनपीआर अनुमान गर्छ। क्राइसिस (संकट) मा जे जोडिए पनि संसार यस्तै अवस्थामा छ। आर्थिक–मन्दी सबैको घरछेउ आएको छ, मूलढोका वा जस्केलो, कहाँबाट भित्र पस्छ ? कुन रूपमा पस्छ ? भन्ने मात्र छ।

एकछाक पाक्ने घरमा पुगेको मन्दीको तथ्यांक आउन वर्ष बित्छ। मन्दीले धनी, ठूला व्यवसायीलाई पिरोल्छ, सबैभन्दा पहिले। गरिब राष्ट्रलाई भन्दा धनी राष्ट्रलाई सताउँछ, पहिले। व्यवसायमा पनि जल्दाबल्दा यसको पहिलो शिकार हुन्छन्, ती मूलतः सूचना–प्रविधिका कम्पनीहरू हुन्, जुन देखिएको छ। यो क्रम सन् २०२२ मै सुरु भएको थियो। अमेरिकाका १ सय २० ठूला कम्पनी (प्रविधि, मुख्य बैंक, उत्पादन, र अनलाइन व्यवसाय) ले १ लाख २५ हजारलाई सन् २०२२ मा जागिरबाट निकाले। त्यसमा फेसबुक, इन्स्टाग्रामको मूल कम्पनी मेटाले मात्र करिब ११ हजारलाई नोभेम्बरमा निकालेको थियो। विश्वका धनीमध्ये एक एलन मस्कले ट्विटर किनेपछि ३ हजार ७ सयको जागिर गएको थियो।

सन् २०२३ लागेपछि यो क्रम जारी छ। हजारभन्दा कम संख्यामा कर्मचारी कटौती गर्नेमा पेलोटोन, भिमियो, सेल्सफोर्स, जेनेसिस ट्रेडिङ, स्टिच फिक्स, स्केल एआई, क्वाइनबेस, फ्लेक्सपोर्ट, क्रिप्टो डट कम, लेन्डिङक्लब, नेलनेट, स्पटिफाई, जेमिनी आदि छन्। तर ठूला भनिएका सूचना–प्रविधिका कम्पनीसहित अरूमा कर्मचारी कटौतीको भूकम्प नै आउन थालेको छ। नेदरल्याण्डको फिलिप्सले ६ हजार, अमेरिकाको गोल्डम्यान स्क्याक्सले तीन हजार दुई सय, आईबिएमले १२ हजार, एस पन्ड पीले १० हजार, गुगलको मूल कम्पनी अल्फाबेटले १२ हजार (कुल कर्मचारीको करिब ६ प्रतिशत), वेफेयरले करिब १८ सय, क्यापिटल वानले ११ सय, माइक्रोसफ्टले १० हजार, थ्रीएमले २५ सय, भाकासाले १३ सय, एम्याजनले १८ हजार कर्मचारी कटौतीको घोषणा गरेका छन्। एप्पल मात्र त्यस्तो ठूलो कम्पनी हो, जो अहिलेसम्म कर्मचारी कटौतीबारे बोलेको छैन। कोभिड सुरु भएपछि धेरै सूचना–प्रविधिका कम्पनीले धेरै कर्मचारी भर्ति गरेका थिए।

माइक्रोसफ्टले सन् २०२१ जूनदेखि २२ जूनसम्म ४० हजार, अल्फाबेटले सन् २०२१ सेप्टेम्बरपछिको एक वर्षमा ३६ हजार ७५१, मेटाले २०२० र २०१२ मा २६ हजारभन्दा बढीलाई जागिर दिएका हुन्। तिनले नाफा पनि कमाए। यी कम्पनीहरू घाटामा छैनन्। डिसेम्बरमा अमेरिकाको बेरोजगारी घटेर ३.५ प्रतिशत भएको छ, जुन ५३ वर्षकै कम हो। तर पनि आम–मानिसले प्रत्येक दिन बिहानको ताजा समाचार कुनै पनि कटौतीको समाचार सुन्न सक्छन्। यो दैनिकी जस्तै बनेको छ। बढेको महंगी, मन्दीका लक्षणका कारण अर्थतन्त्र धराशयी हुन नदिन अमेरिकाले ब्याजदर दोब्बरभन्दा बढी बढायो। यो जे हो, आर्थिक–मन्दीको तयारी हो– मन्द, मध्यम वा भयंकर ?

अमेरिकाबाट एकपटक बाहिर निस्केर हेरौं। स्वीजरल्याण्डको डाभोसमा यही जनवरी १६–२० मा भएको ५३औं संस्करणको वल्र्ड इकोनोमिक फोरममा युक्रेन युद्ध, पर्यावरण र आर्थिक–मन्दी मूल विषय रहे। मन्दीका विषयमा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) प्रमुख क्रिस्टालिना जर्जिएभाले मुद्रास्फीति घट्दै गएको र विश्वव्यापी अर्थतन्त्रको परिदृश्य ‘केही महिनाअघि हामी डराएभन्दा कम खराब भएको’ बताइन्। युरोपेली केन्द्रीय बैंकका अध्यक्ष क्रिस्टिन लागार्डले भने, ‘यो गतिलो वर्ष त होइन, तर हामी डराएभन्दा यो धेरै राम्रो छ।’ तर त्यही कोषले २०२२ को अक्टोबरमा एक प्रक्षेपण गर्दै भनेको थियो, ‘सन् २०२३ मा विश्वव्यापी वृद्धिदर २.७ प्रतिशतमा झर्नेछ। विश्वव्यापी वित्तीय संकट र महामारीको सबैभन्दा खराब अवस्थाबाहेक सन् २००१ पछि विश्व अर्थतन्त्रका लागि सबैभन्दा कमजोर वर्ष हुनेछ।’ दुई प्रमुखको भनाइले थोरै आशा जगाएको भने छ।

जापानमा सबै वस्तुको मूल्य बढेकाले जापानको उपभोक्ता मुद्रास्फीति दर डिसेम्बरमा ४१ वर्षको सबैभन्दा धेरै ४ प्रतिशत पुग्यो। विश्वको तेस्रो अर्थतन्त्रको मुद्रास्फीति अमेरिकाको तुलनामा कम त हो। जापान पनि मन्दीबाट बच्न ब्याजदर बढाउने जस्तो काममा नजुटेको होइन। तर महंगी बढ्ने सम्भावना अझै छ। यसरी सुदूर पश्चिम अमेरिकादेखि सुदूर पूर्व जापानसम्म मन्दीका लक्षण विद्यमान छन्। भय उत्तिकै छ। डाभोसको फोरमबाट अफ्रिका यात्राका क्रममा सेनेगलको राजधानी ड्यकार पुगेकी अमेरिकी अर्थमन्त्री जेनेट एलेनले एसोसिएट प्रेससँगको अन्तर्वार्तामा अमेरिकी अर्थतन्त्र चलायमान राख्न ऋण बढाउने प्रस्तावमा जोड दिइन्। यसो नगर्दा सरकारसँग पैसा भएन भने अर्थ–चक्र रोकिन सक्छ भन्ने उनको जोड हो। सुस्ताएको बजारलाई कृत्रिम रूपमा थोरै बल दिनै पर्छ, यसको विकल्प पक्कै छैन। यसै साता ०.२५ प्रतिशत ब्जाजदर थपिने भएको छ।

जर्जिएभा र लागार्डजस्तै अमेरिकी अर्थशास्त्रीहरू पनि सोचेभन्दा कम प्रभाव हुने कुरा गर्दैछन्। किनभने अमेरिकामा मुद्रास्फीति २०२२ जूनमा ९.१ प्रतिशत थियो भने नोभेम्बर आइपुग्दा ७.१ प्रतिशतमा झर्‍यो। डिसेम्बरमा यो ६.५ प्रतिशत देखियो। तेलको भाउ मध्य–जूनमा ५ डलर प्रतिग्यालन पुगेकोमा जनवरी आइपुग्दा ३ डलर प्रतिग्यालन वा सोको हाराहारीमा छ। आपूर्ति शृंखला सन्तुलनमा आउँदैछ र साना व्यावसाय नाफा कमाउन थालेका छन्। यस्तैमा शान्तिले बस्ने अवस्था पनि छैन किनभने अमेरिकी बजारको खुद्रा व्यवसायले ७० प्रतिशत ओगटेको छ। यो अनुमानभन्दा काममा छ। घरजग्गाको बजार २५ प्रतिशत खुम्चेको छ। हामीले कर्मचारी कटौतीको शृंखला त देखिहाल्यौं। अहिले धेरै कम्पनी अरू तरिकाको खर्च कटौतीको रणनीति अवलम्बन गरिरहेका पनि छन्।

यति भन्दाभन्दै पनि अझै दोधारको प्रश्न, कस्तो होला आर्थिक–मन्दी ? सन् २००८ मा अमेरिकी घरजग्गा व्यवसायका कारण आएको जस्तो भयंकर वा सन् २०२० मा कोभिड–प्रेरित जस्तो मन्दी। हामीले एउटा महामारी देख्यौं। यही मौकामा पहिलेका महामारीबारे जान्यौं। सबै महामारी उस्तै देखिएनन्। तर पालना गर्नुपर्ने सतर्कता उस्तै देखिए, हात धुने, टाढा बस्ने आदि। आर्थिक–मन्दीको प्रसंग पनि त्यस्तै हो। सबै मन्दी एकै हुँदैनन्। सतर्कता लेखक तथा व्यवसायी प्रशिक्षक रोजर्सले भनेजस्ता त छँदैछन्।

हो, मन्दीले ठूला व्यवसाय, धनीलाई मात्र प्रभावित पार्न सक्छ। अमेरिका, युरोप, जापान आदि विश्वको एकतिहाइ र सम्पन्न राष्ट्रमा मात्र सीमित रहे पनि भूकम्पजस्तो यसको तरंग विश्वभर फैलन सक्छ। यो पक्कै हो। कोभिड, प्रभावित आपूर्ति प्रणाली, मुद्रास्फीति÷महंगी, युक्रेन युद्ध, चर्को इन्धन मूल्य, महामारीबाट बेहोरेको घाटामा उक्सने व्यापारीको दाउ आदिजस्ता अप्ठ्याराले रन–वेमा खनेका धेरै खाडल पुर्दै अब यो मन्दीको उडानलाई जर्जर विमान, रित्तिन लागेको इन्धन ट्यांक, थकित अनि चकित चालकदल, प्रतिकूल मौसम, टुटेको टावर सम्पर्क, डराएका यात्रुसहित अवतरण कसरी गराउने भन्ने चुनौती भने छ।

कोइराला, अमेरिकामा नेपाली न्युजलेटर अक्षरिकाको सम्पादन गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.