बहिरा विद्यालयमा आवासको समस्या
दोलखा : दोलखा जिल्लाकै एउटामात्र बहिरा विद्यालयमा आवास भवनको अभावमा विद्यार्थीलाई समस्या भएको छ।
भीमेश्वर नगरपालिका-३ देउराली डाँडामा रहेको भीमेश्वर बहिरा प्राथामिक ३० जना आवासीय विद्यार्थी अध्ययनरत रहेको भएपनि आवास भवनको समस्या रहेको विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले बताए।
आवासको समस्या हुँदा छात्र तथा छात्रा विद्यार्थीहरूलाई विद्यालय भवनकै दुई छुट्टाछुट्टै कोठामा राख्नु परेको प्रधानाध्यापक सुवेदीले बताए।
२०७१ सालमा स्थापना भएको कक्षा पाँचसम्मको भीमेश्वर बहिरा प्राथामिक विद्यालयमा अहिले १३ जना छात्रा र १७ जना छात्र गरी ३० जना बहिरा विद्यार्थी अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।
उनीहरू सबै आवसीय विद्यार्थी भएपनि विद्यालयको छुट्टै आवास भवन नभएकाले समस्या परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तमाङले बताए।
विद्यालयको सात रोपनी जग्गा भएपनि अहिले छ कोठाको एउटामात्र विद्यालय भवन रहेको प्रधानाध्यापक सुवेदीले बताए।
भीमेश्वर नगरपालिकाले विद्यालयलाई १० लाख रुपैयाँ दिएको भएपनि त्यसले आवास भवन बनाउन अपुग हुने देखिएपछि भान्साघर निर्माण गर्न लागिएको प्रधानाध्यापक सुवेदीले बताए।
विद्यालयमा एक जना प्रावि स्थायी, एक जना प्रावि करार, एक जना प्रावि राहत र एक जना बाल विकास गरी चार जना शिक्षक (दुई जना बहिरा शिक्षक), दुई जना आया र एक जना कार्यालय सहयोगी रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा शिक्षक र अन्य कर्मचारीको समस्या नरहेको तर आवास भवनसँगै माथिल्लो कक्षा सञ्चालनमा समस्या देखिएको प्रधानाध्यापक सुवेदी बताउछन्।
'यहाँ कक्षा पाँचसम्म मात्र रहेकाले थप कक्षा अध्यनको लागि विद्यार्थीहरू सिन्धुली लगायत जानुपर्ने बाध्यता छ। यसले धेरै बहिरा विद्यार्थीहरूले कक्षा पाँचपछि पढाइनै छाड्ने गरेको देखिन्छ', प्रधानाध्यापक सुवेदीले भने।
सरकारले यसलाई प्राथामिकतामा राखेर तत्काल आवास र चमेना भवनको व्यवस्था, थप कक्षा सञ्चालनको अनुमति तथा शिक्षकको व्यवस्था समेत गर्नुपर्ने उनको भनाइ छ।