जो विद्यार्थीलाई छ आवासको समस्या
दोलखा : दोलखा जिल्लाकै एउटा मात्र बहिरा विद्यालयमा आवास भवन नहुँदा विद्यार्थीलाई समस्या भएको छ। भिमेश्वर नगरपालिका–३ देउराली डाँडामा रहेको भिमेश्वर बहिरा प्राथमिक विद्यालयमा ३० जना आवासीय विद्यार्थी अध्यनरत रहेको भएपनि आवास भवनको समस्या रहेको विद्यालयका प्रधानाध्यापक गुणराज सुवेदीले बताए।
आवासको समस्या हुँदा छात्र तथा छात्रालाई विद्यालय भवनकै दुई छुट्टाछुट्टै कोठामा राख्नु परेको प्रधानाध्यापक सुवेदीको भनाइ छ। २०७१ सालमा स्थापना भएको कक्षा पाँचसम्मको भिमेश्वर बहिरा प्राथामिक विद्यालयमा अहिले १३ जना छात्रा र १७ जना छात्र गरी ३० जना बहिरा विद्यार्थीहरू अध्ययन गरिरहेको विद्यालयले जनाएको छ।
उनीहरू सबै आवसीय विद्यार्थी भएपनि विद्यालयको छुट्टै आवास भवन नभएकाले समस्यामा परेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तमाङले बताए। विद्यालयको सात रोपनी जग्गा भएपनि अहिले ६ कोठाको एउटा मात्र विद्यालय भवन रहेको प्रधानाध्यापक सुवेदीले बताए।
भिमेश्वर नगरपालिकाले विद्यालयलाई १० लाख रुपैयाँ दिएको भएपनि त्यसले आवास भवन बनाउन अपुग हुने देखिएपछि भान्साघर निर्माण गर्न लागिएको प्रधानाध्यापक सुवेदीले बताए। विद्यालयमा एक÷एक जना प्रावि स्थायी, प्रावि करार, प्रावि राहत र बाल विकास गरी ४ जना शिक्षक (दुई जना बहिरा शिक्षक), दुई जना आया र एक जना कार्यालय सहयोगी रहेको विद्यालयले जनाएको छ।
विद्यालयमा शिक्षक र अन्य कर्मचारीको समस्या नरहेको तर आवास भवनसँगै माथिल्लो कक्षा सञ्चालनमा समस्या देखिएको प्रधानाध्यापक सुवेदीको भनाइ छ।