सगरमाथा क्षेत्रको उडानलाई निकुञ्जसँग अनुमति लिनुपर्ने
सोलुखुम्बु: सगरमाथा क्षेत्रको उडानलाई निकुञ्जसँग अनुमति लिनुपर्ने भएको छ। सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चे सोलुखुम्बुले रुट पर्मिट र उडान अनुमति नलिएका हेलिकप्टरलाई निकुञ्ज क्षेत्रमा उडान अनुमति नदिन दुई विमानस्थललाई आग्रह गरेको छ।
निकुञ्जको इन्ट्रान्स अनुमति, हेलिकप्टरको अवतरण अनुमती, तथा ओभरिङ अनुमति भए नभएको जाँच गरी हेलिकप्टर पठाउन फाप्लु विमानस्थल र तेन्जिङ हिल्लरी विमानस्थल लुक्लालाई पत्र काटेको हो।
हेलिकप्टर कम्पनीले लापरबाही गर्दै निकुञ्ज क्षेत्रमा जथाभावी उडान भर्न थालेपछि कडाई गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिए। यसअघि निकुञ्ज क्षेत्रमा अनुमति विना अवतरण हुने हेलिकप्टरलाई नियन्त्रणमा लिने निकुञ्जले चेतावनी समेत दिईसकेको छ।
निकुञ्जको कार्यालयले फेब्रवरी १ तारिखबाट विना अनुमति निकुञ्ज क्षेत्रमा ल्याड गरिने हेलिकप्टरलाई नियन्त्रण लिई कारबाही गर्ने जनाएको छ। जसका लागि निकुञ्जले हेलिकप्टर कम्पनीहरुलाई पत्राचार गरिसकेको छ।