अन्तिम जम्बो जेटको कारुणिक बिदाइ

अन्तिम जम्बो जेटको कारुणिक बिदाइ

सियाटल (एपी) : अन्तर्राष्ट्रिय हवाई यातायातमा द्रुत उडानको विम्ब बनेको जम्बो जेट ७४७ को विधिवत् बिदाइ गरिएको छ। बोइङले आफ्नो अन्तिम उत्पादन अर्थात् १५७४ औँ जम्बो जेट ७४७ विमान वासिङ्टन राज्यको पुगेट साउन्ड क्षेत्रमा क्रेतालाई हस्तान्तरण गरेर बिदा गरेको हो। ५५ वर्षदेखि बोइङका विमान बनाउन खटेका हजारौँ कामदारले भावुक भएर जम्बो जेटलाई बिदा गरेको दृश्य कारुणिक थियो।   

भीमकाय भए पनि चित्ताकर्षक जम्बो जेटले वि.सं. २०२५ माघ २७ गते पहिलो सेवा प्रारम्भ गरेको थियो। मालबाहक विमानका रूपमा उडान भरेकामा पछि व्यावसायिक उडानमा उपयोग गरियो। ५ सय यात्रु बोक्ने क्षमताको विशाल विमान अमेरिकी अन्तरिक्ष अनुसन्धान तथा वायुयान प्रशासनका उपकरण बाहक मात्र बनेन अपितु अमेरिकी राष्ट्रपतिको आधिकारिक विमान ‘एयरफोर्स वान’ बनेर विश्व यात्रा गर्‍यो। 

हवाई यात्रामा क्रान्ति ल्याएको जम्बो जेट अन्तर्राष्ट्रिय शहरहरूलाई जोड्ने भरपर्दो माध्यम बन्यो। त्यसअघि विश्वका प्रमुख सहरहरू सिधा हवाई सम्पर्कबाट कहिल्यै जोडिन पाएका थिएनन्। 

समयको प्रवाहसँगै अमेरिकी कम्पनी बोइङको ‘सौता’ एयरबस युरोपमा जन्मियो। १५ वर्षदेखि प्रमुख प्रतिद्वन्द्वी बनेको एयरबसले कम इन्धनमा लामो समय उडान भर्न सक्ने क्षमता भएका फराकिला यात्री विमान निर्माण गर्न थाल्यो। चार इन्जिनयुक्त बोइङका ७४७ विमानभन्दा दुई वटा मात्र इञ्जिन भएका एयरबसका किफायती मात्र होइन अधिक लाभ दिने साबित भए।   

मालबाहक विमान कम्पनी एटलास एयरलाई विमान हस्तान्तरण गर्न बोइङको विशाल कारखाना परिसरमा आयोजित कार्यक्रममा विश्वका विभिन्न भागमा खटिएका बोइङका उच्च अधिकारी, बोइङका ७४७ विमान उडाएका कलाकार एवम् विमान चालक जोन ट्रोभोल्टा सहभागी थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.