भूकम्पपछि खुल्दै जयबागेश्वरी
काठमाडौं : पाशुपत क्षेत्रमा अवस्थित जयबागेश्वरी मन्दिर आठ वर्षपछि शुक्रबारदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। २०७२ सालको भूकम्पले तीन तले उक्त मन्दिरको माथिल्लो तला गजुरसहित भत्किएको थियो। लिपिका आधारमा जयबागेश्वरीको स्थापना लिच्छविकालमा राजा अंशुबर्माले बनाएको पाइन्छ।
पशुपति क्षेत्र विकास कोषले निर्माण सम्पन्न गरेको हो। कोषका सदस्यसचिव डा. मिलनकुमार थापाले जगैदेखि पुनर्निर्माण गरिएको जानकारी दिए। उनले अन्नपूर्णसँग भने, ‘भूकम्पबाट बचेका दलिन, काठका टुँडाल, केही झ्यालढोका, गजुर आदि पुरानै सामग्री प्रयोग गरिएको छ भने बाँकी सबै नयाँ सामग्री राखेर पुनर्निर्माण गरिएको हो।’
कोषका अनुसार जयबागेश्वरी मन्दिर पुनर्निर्माण कार्यका लागि ४ करोड १३ लाख ५८ हजार ८ सय ५० रुपैयाँ लाग्ने अनुमान गरिएको थियो। तर, सम्पन्न गर्दा ३ करोड १४ लाख दुई हजार ३ सय ८२ रुपैयाँमै काम सम्पन्न भएको छ।
कोषका प्रवक्ता रेवतीरमण अधिकारीले २०७७ सालदेखि मन्दिरको पुनर्निर्माण थालिएकाले ढिला भएको बताए। उनले भने, ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यो मन्दिरलाई तेस्रो चरणमा मात्र पुनर्निर्माण गर्ने गरी काम अघि बढाएकाले ढिला भएको हो।’
त्यसअघि दाताले व्यक्तिगत लगानीमा मन्दिरको पुनर्निर्माण गरिदिने भएकाले केही समय अलमल भएको उनको भनाइ छ। यसबीच कोरोनाले पनि असर पु¥याएको थियो। पुनर्निर्माणमा दची इँटा, विशेष किसिमको माटो आदिको प्रयोग गरिएको मन्दिरका पूर्व मूलपूजारी मृत्युञ्जय कर्माचार्यले जानकारी दिए। उनका अनुसार, भक्तपुरस्थित चाँगुनारायणबाट विशेष प्रकारको पहेंलो र कालो माटो ल्याएर मन्दिरमा प्रयोग गरिएको थियो।
उनले भने, ‘गर्भगृहमा भने भूकम्पले कुनै असर पु¥याएन।’ मन्दिरको शरीरको भागलाई प्रत्येक १२ वर्षमा नयाँ बनाउने परम्परा पनि अंशुबर्माले चलाएका थिए। महासरस्वती देवीको सम्पूर्ण भाग भने सधैंभरि कपडाले बेरेर राख्ने चलन छ।
यस मन्दिरमा चारजना पूजारी हुन्छन्। हरेकको एक एक महिनामा पालो पर्छ। चारमध्ये मृत्युञ्जय कर्माचार्य र श्रीकृष्ण कर्माचार्य नियमानुसार उमेरका कारण पूजारीबाट बाहिरिएका छन्। हंसराज कर्माचार्य र रमेश कर्माचार्य पूजारीको रुपमा कार्यरत छन् भने मूलपूजारीको दरबन्दी खाली छ।
जयबागेश्वरीकै पूजारीले पाशुपत क्षेत्रमा रहेको तलेजु भवानी मन्दिरमा पनि पूजाआजा गर्ने परम्परा छ। जयबागेश्वरीमा पशुपतिनाथमा जसरी तान्त्रिक विधिले पूजाआजा गर्ने परम्परा छ।