बीपी प्रतिष्ठानको उपकुलपतिमा प्राडा शर्मा नियुक्त
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा प्राडा सन्जिव कुमार शर्मा नियुक्त भएका छन्।
प्रतिष्ठानको शिक्षाध्यक्षसमेत रहेका शर्मालाई सरकारले शुक्रबारदेखि उपकुलपतिको जिम्मेवारी प्रदान गरेको स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए।
प्रतिष्ठानको निवर्तमान उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाइ भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दर्ता गरेपछि प्रतिष्ठान उपकुलपतिविहीन बनेको थियो।
उपकुलपति नहुँदा प्रतिष्ठानको आर्थिक र प्रशासनिक काममा बाधा पुगेकाले अर्को व्यवस्था नभइन्जेलसम्मका लागि शर्मालाइ उपकुलपतिको जिम्मेवारी प्रदान गरिएको सचिव पोखरेलले बताए।
शर्माले उपकुलपति र शिक्षाध्यक्ष दुवै पदको जिम्मेवारी बहन गर्नेछन्। उपकुलपति जिम्मेवारी पाएका शर्माले स्वास्थ्य मन्त्रालयले जिम्मेवारी इमान्दारिताका साथ निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
उनले आफ्नो कार्यकालमा प्रतिष्ठानको शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारमा व्यापक परिवर्तन गरी प्रतिष्ठानलाई पहिलाको अवस्थामा फर्काउने बताए।
शर्मा प्रतिष्ठानका कुशल र इमानदार चिकित्सकका रूपमा चिनिन्छन्। शर्माको नियुक्तिले प्रतिष्ठानको स्वास्थ्य र शिक्षाको सुधार हुने धरान नागरिक दवाव समूहका अध्यक्ष राजेन्द्र शर्माले बताए।