सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ
![सुर्खेतमा लागूऔषधसहित दुई जना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/Untitled-1_20230204210926_b4buEOkkg0.jpg)
वीरेन्द्रनगर : सुर्खेतको वीरेन्द्रनगरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
कर्णाली प्रदेश प्रहरी कार्यालय, लागूऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोसाकमा खटिएको सयुक्त प्रहरीको टोलीले वीरेन्द्रनगर नगरपालिका-७ इत्रामबाट शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा जुम्ला घर भई हाल वीरेन्द्रनगर नगरपालिका-७ इत्राम बस्ने २९ वर्षीय लोकेन्द्र शाही र सोही ठाउँ घर भई हाल वीरेन्द्रनगर नगरपालिका-१२ बस्ने ४८ वर्षीय नरबहादुर सिँह रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
उनीहरूको साथबाट कपडाको रुमालसहित ३ सय ५० ग्राम चरेश जस्तो देखिने कालो पदार्थ र नगद २ हजार ८ सय रुपैयाँ फेला पारेको डीएसपी सुरज कार्कीले बताए।
पक्राउ परेका दुवैलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)