प्याराग्लाइडिङबाट उदयपुर हेर्दा ...

प्याराग्लाइडिङबाट उदयपुर हेर्दा ...

उदयपुर : हेर्ने दर्शकलाई नै लोभ्याउने गरी नेपाली आकाशमा सुरु गरिएको प्याराग्लाइडिङको क्षेत्र दिनदिनै फराकिलो बन्दै गएको छ। एक साहसिक मनोरञ्जनात्मक खेलको रूपमा लिइएको प्याराग्लाइडिङ हिजोआज देशका कुनाकन्दराका डाँडाबाट उडिरहेको देखिन्छ। उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्ने भएकाले उदयपुरका धेरैजसो ठाउँमा प्याराग्लाइडिङका अभ्यास र उडानहरू भइरहेका छन्। 

उदयपुरको त्रियुगा, चौदण्डीगढी, बेलका, कटारी नगरपालिका र रौतामाई गाउँपालिकामा गरिएका सबै परीक्षण सफल भएपछि व्यवसायीहरूले चासो दिन थालेको प्याराग्लाइडिङ प्रशिक्षार्थी तथा त्रियुगा नगरपालिकाका पर्यटन सल्लाहकार जितु रोइला बताउँछन्। सफल उडानसँगै त्रियुगा नगरपालिकामा प्याराग्लाइडिङ स्कुल नै स्थापना गरी अभ्यासहरू गराउन थालिएको उनले बताए। प्लाराग्लाडिङ उड्ने र हेर्ने दुवैका लागि मनोरञ्जन प्रदान गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत जोड दिने भएकाले यसलाई व्यावसायिक रूपले अघि बढाउन थालिएको रोइलाले बताए। 

विद्यार्थी प्रशिक्षित गराउन पोखराबाट आएका प्रशिक्षक सुरेन्द्र गुरुङ भन्छन्, ‘यसमा युवाहरूको आकर्षण बढ्दो छ, स्थानीय तहहरूले समन्वय गरिदिने हो भने व्यावसायिक रूपमै रोजगारी सिर्जना गर्न सकिन्छ।’ उदयपुरको उत्तरीभेग पहाडी उच्च भाग र दक्षिण भेग सहरी क्षेत्र भएकाले प्याराग्लाडिङ उडानका लागि उपयुक्त मानिने उनले बताए। त्रियुगा नगरपालिकामा  नागरिक उड्डयनबाट अनुमति प्राप्त भइसकेको उनले बताए। 

उनले भने, ‘पाइलट उत्पादनका लागि स्कुल सञ्चालनको तयारी गर्दै छौं, त्यसका लागि नौ जना विद्यार्थीसमेत सम्पर्कमा आएका छन्।’ नेपालमा प्याराग्लाइडिङको चौथो स्कुल यहाँ स्थापना हुन लागेको हो। पहिलो चरणमा नौ जनालाई तालिम दिने र त्यसपछि क्रमशः थप गर्दै जाने उनले बताए।

नगरलाई आधुनिक र उद्यमशील बनाउन पर्यटन प्रवद्र्धनका लागि सदरमुकामबाट पाँच किलोमिटर दूरीमा प्याराग्लाइडिङको सफल परीक्षण गरिसकिएको मेयर बसन्तकुमार बस्नेतले बताए। प्याराग्लाइडिङको स्कुल सञ्चालनका लागि सम्बन्धित संघसंस्थाहरूसँग समन्वय भइरहेको उनले बताए। 

गाईघाटबाट ५० किलोमिटर दूरीमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र रौता पोखरीको दर्शन गरी फर्किने पर्यटकलाई त्रियुगानगरसहित सप्तरी, सिराहासम्मका भूभाग देखिने गरी नवउदय सामुदायिक वनमा प्याराग्लाइडिङका लागि स्टेसन बनाएर उडान गरिने मेयर बस्नेतले बताए। उपमेयर महेश्वरी राईले नगरलाई आधुनिक र उद्यमशील बनाउन विभिन्न सम्भावनाहरूको खोजी भइरहेको बताइन्। उनले भनिन्, सुन्दर, सफा नगरीसँगै पर्यटक लोभ्याउने गरी गन्तव्यस्थलको खोजी, मनोरञ्जन दिन प्याराग्लाइडिङ सञ्चालनको तयारी गर्दैछौं।’

यसअघि कटारी नगरपालिका ७ को पर्यटकीय क्षेत्र मर्जितपुरमा व्यावसायिक उडानका लागि परीक्षण गरिएको थियो। सफल उडानसँगै सो क्षेत्रमा समेत व्यावसायिक प्याराग्लाइडिङको तयारी भइरहेको जनाइएको छ। स्थानीय गढीकोट पर्यटन व्यवस्थापन समितिले प्याराग्लाइडिङ सुरु गर्न लागेको उपमेयर गीता खड्काले बताइन्। प्याराग्लाइडिङसँगै जिपलाइन र रक क्लाइबिङ पनि सुरु गरिने तयारी गरिएको छ। माथिल्लो सगरमाथा सोलु, ओखलढुंगा र खोटाङको प्रवेशद्वारको रूपमा रहेको कटारी क्षेत्र पर्यटकीय हिसाबले निकै अगाडि छ। 

कटारीबाट सोलुमा हिउँ खेल्न जाने, खोटाङको हलेसी मन्दिर जाने र युगकवि सिद्धिचरण श्रेष्ठको जन्मथलो जाने पर्यटकहरूको आवतजावत हुने गरेकाले आन्तरिक र बाह्य पर्यटकलाई भित्र्याउने गरी पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने गरी काम भइरहेको उनले बताइन्। 

प्याराग्लाइडिङ, जिपलाइन र रक क्लाइबिङको रौनकसँगै सिमसार क्षेत्रमा बोटिङ, भुगोलपार्क, महादेवको गुफा, बेतेनी डाँडाको चिसो मौसम र दृश्यावलोकनको मनोरञ्जन लिन सकिने उनले बताइन्। ७५० मिटरको उचाइमा रहेको मर्जितपुर उडान गरी २५० मिटर तल रहेको सिमसार क्षेत्र आसपासमा अवतरण गर्ने सकिने गढीकोट पर्यटन व्यवस्थापन समिति कटारीका अध्यक्ष सूर्य लामाले बताए। 

मर्जितपुर प्याराग्लाइडिङका लागि नेपालकै उत्कृष्ट ठाउँ रहेको परीक्षणका लागि आएका द बाबु एडभेन्चर इन्टरनेसनल स्कुल स्याङ्जाका प्रशिक्षक दिलकुमार सुनुवारले बताए। उनले भने, ‘नेपालकै पहिलो ठाउँ हो, जुन स्थानबाट प्याराग्लाइडिङको उडान र अवतरण एकै ठाउँमा हुन्छ त्यसैले मर्जितपुरमा प्याराग्लाइडिङको प्राविधिक हिसाबले उपयुक्त छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.