परराष्ट्रमन्त्री पौड्याल स्वदेश फिर्ता
काठमाडौं :परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल श्रीलङ्काको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्केकी छन् ।
श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन श्रीलङ्का गएकी परराष्ट्रमन्त्री पौडेलले आइतबार दिउँसो स्वदेश फर्केकी हुन्।
परराष्ट्रमन्त्री पौड्यालले त्यहाँ रहँदा विभिन्न उच्चस्तरीय भेटवार्ता समेत गरेकी छन् ।
स्वदेश फर्कने क्रममा मन्त्री पौड्याले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै श्रीलङ्काको औपचारिक कार्यक्रममा उच्चस्तरीय साइड लाइन भेटवार्ता भएको जानकारी दिइन् ।
उनले श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घे र प्रधानमन्त्री दिनेश गुणबद्र्धनेसँग भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हित र चासोका विविध विषयमा छलफल भएको जानकारी दिइन् ।
बङ्गलादेशसँग ऊर्जा व्यापार र माल्दिभ्ससँग त्यहाँ नेपाली चिकित्सक र नर्स पठाउने विषयमा कुराकानी भएको मन्त्री पौडेलले जानकारी दिइन् ।
पौड्याललले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाई सम्पर्क विस्तार,दुई देशबीच सांस्कृतिक आदानप्रदान,नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्यका लागि आग्रह गरेको जानकारी दिइन् ।
भ्रमणका क्रममा उनले भारतका विदेश राज्यमन्त्री,बङ्गलादेश,माल्दिभ्स र श्रीलङ्काका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी थिइन् । भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरूबीच आपसी छलफल,सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेलगायत विषयमा आफूले स्पष्ट कुरा राखेको बताइन् ।
श्रीलङ्काले उक्त समारोहमा दक्षिण एसियाका सबै परराष्ट्र मन्त्रीलगायत विशिष्ट पाहुनालाई आमन्त्रण गरेको थियो ।