सहकारीको लगानीमा भैँसी फार्म
दोलखा : दोलखाको गौरीशंकर गाउँपालिका-२ मा रहेको प्रगतिशील बहुउद्देश्यीय सहकारी संस्थाले भैसी फार्म सञ्चालनमा ल्याएको छ। गाउँमै स्वच्छ दूध उत्पादन गर्ने र स्थानीय किसानलाई व्यवसायी बनाउने उद्देश्यले भैँसी फार्म सञ्चालन गरिएको संस्थाले जनाएको छ।
गाउँका कृषक हरेकले २/४ वटा गाई भैसी पाल्ने गरेका छन्। उक्त गाई भैसीबाट दूध उत्पादन त हुन्छ तर बिक्री गर्ने बजार नहुँदा दूधबाट दही, मोही र घिउ मात्र बन्थ्यो। तर अहिले परिस्थिति बदलिएको छ। किसानहरूले दूधबाट राम्रो आम्दानी लिन थालेका छन्। त्यसैले किसानलाई व्यवसायी बनाउन सहयोग पुगोस् भनेर सहकारीले भैसी फार्म सञ्चालन गरेको जनाइएको छ।
प्रगतिशील सहकारीले गाँउमै पुगेर किसानले उत्पादन गरेको दूध प्रतिलिटर ६५ रुपैयाँमा संकलन गरेर सदरमुकाम चरिकोटमा रहेको दूध संकलन संस्था दोलखा डेरीलाई पठाउने गरेको छ। गाउँका किसानलाई गाईभैँसी पालेर आत्मनिर्भर बनाउने उद्देश्यसहित सहकारीले पाँच करोड ऋण लगानीमा भैसी फार्म सञ्चालन गरेको संस्थाका अध्यक्ष बलराम पाण्डेले जानकारी दिए।
सहकारीले कृषि ज्ञान केन्द्र रामेछापको समन्वयमा गाउँमै एकीकृत नमुना कृषि फार्म सञ्चालन गरेर भैसी पालनमा सहयोग पुर्याएको उनले बताए। अहिले फार्ममा तराईबाट किनेर ल्याएको ४ वटा दुहुनो भैसी रहेको पाण्डेले बताए। फर्मबाट दैनिक २२ देखी ४० लिटर दूध उत्पादन हुँदै आएको छ।
अध्यक्ष पाण्डेका अनुसार करिब ३९ लाख लगानीमा घेराबारसहितको भैँसी फार्म खोलिएको छ। फार्म सञ्चालनका लागि ज्ञान केन्द्रको १४ लाख अनुदान र सहकारीको २५ लाख रुपैयाँ लगानी रहेको पाण्डेले बताए।
गाउँमै उत्पादित दूध बिक्रीका लागि सहकारीले राम्रो व्यवस्था गरिदिएपछि निर्वाहमुखी पशुपालन गर्दै आएको कृषकलाई व्यावसायी बन्न र आयआर्जनमा वृद्धि गर्न टेवा पुगेको स्थानीय किसानहरूको भनाइ छ।
सहकारीको व्यवस्थापनपछि उत्पादित दूध टाढा लगेर बेच्नुपर्ने बाध्यता हटेकाले शेयर सदस्यहरू खुसी भएको अध्यक्ष पाण्डेको भनाइ छ। सहकारीले पशुपालनसँग सम्बन्धित किसानलाई घाँस खेती गर्न र केरा तथा बेसार खेतीका लागि अनुदान दिएको अध्यक्ष पाण्डेले बताए।
सहकारीका शेयर सदस्यहरू रोजगारीका लागि अन्यत्र जानुपर्ने बाध्यता नहोस् भन्ने उद्देश्यले पशुपालन तथा कृषि उत्पादनमा जोड दिएको अध्यक्ष पाण्डेले बताए।