स्मार्ट कार्डमार्फत छात्रालाई प्याड
जाजरकोट : छात्राहरूलाई महिनावारीका बेला विद्यालयमै सेनेटरी प्याड दिने उद्देश्यले जिल्लाको कुशे गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालयमा भेन्डिङ मेसिन (सेनेटरी प्याड बाकस) जडान गरिएको छ।
किशोरीसँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत ती विद्यालयमा मेसिन जडान गरिएको हो। भेन्डिङ मेसिनबाट छात्राहरूले आवश्यकताका आधारमा स्यानिटरी प्याड प्रयोग गर्न पाउने छन्। पाँच विद्यालयका ७६८ जना छात्रालाई स्मार्ट कार्ड वितरण गरिएको छ। स्मार्ट कार्डका आधारमा उनीहरूले मेसिनबाट सेनेटरी प्याड निकालेर प्रयोग गर्न पाउने छन्।
महिनावारी भएको बेला छात्राहरू सेनेटरी प्याडको अभावमा विद्यालय नआउने र पठनपाठन प्रभावित हुन थालेपछि गाउँपालिकाले विद्यालयमै प्याडको व्यवस्था गरेको हो। महिनावारीको समस्याले किशोरीहरूले विद्यालय छोड्न नपरोस् भनेर विद्यालयहरूमा मेसिन जडान गरिएको कुशे गाउँपालिकाकी उपाध्यक्ष देविका सिंहले बताइन।
विद्यालयमा भेन्डिङ मेसिन जडान गरेर स्मार्ट कार्डमार्फत प्याड वितरण हुन थालेपछि विद्यालय छाड्नुपर्ने अवस्थाको अन्त्य भएको छात्राहरूको भनाइ छ। विद्यालयमै महिनावारी भएको बेला निकै समस्या हुने गरेकोमा विद्यालयमा निःशुल्क प्याडको व्यवस्था भएपछि ढुक्क भएर स्कुल जाने गरेको जनता माध्यमिक विद्यालयकी छात्रा समीक्षा सिंहले बताइन्।
विद्यालयको कक्षाकोठामा महिनावारी हुँदा महिनावारीको व्यवस्थापन गर्न नसकेर साथीहरूको अगाडि लाज लाग्ने, कक्षा छाडेर घर जानुपर्ने अवस्थाको अन्त्य भएको अर्की छात्रा सनिमा आरसीले बताइन्। एक पटक स्मार्ट कार्ड प्रयोग गरेर मेसिनबाट १८ वटा सम्म सेनेटरी प्याड निकाल्न सकिने उनको भनाइ छ।
कुशेका जनता माध्यमिक विद्यालय पैंक, लक्ष्मी माध्यमिक विद्यालय खुर्पा, मान्ने ढुंगा माध्यमिक विद्यालय टालेगाउँ, भगवती माध्यमिक विद्यालय अर्छानी र दुर्गादेवी माध्यमिक विद्यालय थर्पुभार्मामा भेन्डिङ मेसिन जडान गरिएको उपाध्यक्ष सिंहले जानकारी दिइन्।