जसले चल्तीमा ल्याएका थिए नेपाली नोट

पहिलो अर्थसचिव÷गभर्नर जबराको ९६ वर्षको उमेरमा निधन

जसले चल्तीमा ल्याएका थिए नेपाली नोट

काठमाडौं : पहिलो अर्थसचिव पहिलै गभर्नर हिमालयशमशेर जबराको ९६ वर्षको उमेरमा आइतबार निधन भएको छ। जो २०१३ साल वैशाख १४ गते २९ वर्षको उमेरमा पहिलो गभर्नर बनेका थिए। त्यही बेला जबराले नेपाली नोट चलनचल्तीमा ल्याउने ऐतिहासिक कार्य गरेका थिए। उनले नै नेपाली नोट निष्कासनको सुरुआत गरेका हुन्। जति बेला तराईमा आफ्नो मुद्रा प्रचलनमा थिएन। भारु मात्रै चल्थ्यो। जबराले तराईमा मात्रै होइन, देशका सबै भागमा नेपाली मुद्रा नै चलाउने वातावरण बनाए। 

उनले तराईमा नेपाली मुद्रा चलाउन सक्नु ठूलो सफलता भएको अन्नपूर्ण पोस्ट्सित बताएका थिए। नेपाल राष्ट्र बैंक स्थापना गर्नुको मुख्य उद्देश्य नै मुलुकभित्र आफ्नै रुपैयाँको कारोबार होस् भन्ने सरकारको उद्देश्य थियो। झापाबाट कञ्चनपुरसम्मको तराई र भित्री मधेसमा भारतीय मुद्रामा कारोबार हुन्थ्यो। तर, विनिमयदर समान थिएन। सटहीको अस्थिरताका कारण व्यवसायीले आफूखुसी सामानको मूल्य बढाउँथे। जनताले महँगी खेप्नुपथ्र्यो। जबराले नै नेपाली र भारतीय मुद्रामा स्थिर विनिमयदर लागू गरेका हुन्। यसअनुसार भारु १ सयको नेरु १ सय ६० निर्धारण गरियो। त्यही विनिमयदर अझै कायम छ। 

‘त्यस बेला विनिमयदर तोक्न खोज्दा धेरैले कार्यान्वयन सम्भव छैन भनेका थिए’, उनले गत जेठमा अन्नपूर्ण पोस्ट्सित भनेका थिए, ‘तर, सफल भयौं।’ जसकारण नेरु–भारु सटहीदरको अस्थिरता हटेको उनले बताएका थिए। 

पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीका अनुसार जबरा मौद्रिक व्यवस्थापन र वित्तीय व्यवस्थापनको सुरुवात गर्ने व्यक्ति हुन्। ‘वित्तीय व्यवस्था गर्ने अर्थ मन्त्रालयको पहिलो अर्थसचिव र मौद्रिक व्यवस्था गर्ने नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हुनुहुन्थ्यो। उहाँ दूरदर्शी हुनुहुन्थ्यो। किनभने, उहाँले २०१३ सालमै चल्तीमा ल्याएको भारुसँगको विनिमयदर अझै कायम छ’, पूर्वगभर्नर क्षेत्री भन्छन्, ‘६५ वर्षसम्म पनि सोही विनिमयदर औचित्यपूर्ण बन्नु दूरदर्शीताको नमुना हो। उहाँले नेपाललाई ठूलो गुण लगाउनुभयो।’ 

जबराले राणाशासन अन्त्य भई प्रजातन्त्र आएलगत्तै अर्थसचिवको जिम्मेवारी बहन गरेका थिए। त्यस क्रममा उनले आर्थिक क्षेत्र व्यवस्थापनका आधारहरू खडा गर्न अग्रणी भूमिका निर्वाह गरे। बजेट सार्वजनिकीकरणको आधार खडा गरे। राजस्व अभिवृद्धिका लागि भन्सार व्यवस्थापनको आधुनिकीकरणतर्फ लागे। आन्तरिक राजस्व प्रशासनलाई सबलीकरणतर्फ डोर्‍याए। आर्थिक एवम्‌ वित्तीय अनुशासन र पारदर्शिताका लागि महालेखापरीक्षक कार्यालयको गठनलगायत संरचना निर्माणमा योगदान दिए। वित्तीय क्षेत्रको दायरा र औद्योगिक विस्तार कार्यमा उनको महत्वपूर्ण भूमिका रह्यो। 
‘अर्थसचिव भएपछि आर्थिक प्रणालीमा युगान्तकारी परिवर्तन गरेँ’, उनले अन्नपूर्ण पोस्ट्सित भनेका थिए, ‘बजेट बनाएँ। जनतालाई विकासका लागि सरकारी अनुदान दिने व्यवस्था गरेँ।’ 

त्यसबेला सरकारको आम्दानी मालपोतबाट मात्रै हुन्थ्यो। उनले २००८–२००९ सालतिर भन्सार अड्डाहरू पुनर्गठन गरे। अन्तःशुल्क विभाग र आयकर विभाग पनि बनाए। त्यसपछि राष्ट्र बैंकको स्थापना भयो। गभर्नरको खोजी चल्यो। छिमेकी भारत र पाकिस्तानमा अर्थसचिवलाई गभर्नर बनाउने चलन थियो। त्यसलाई नै यता अबलम्बन गरियो। जबरा गभर्नरमा योग्य ठहरिए। तत्कालीन राजा महेन्द्रले २०१७ सालमा संसद् विघटन गरेपछि भने उनी पनि हटाइएका थिए।

त्यसलगत्तै उनले संयुक्त राष्ट्रसंघमा प्रवेश गरे। २४ वर्ष सेवा अवधिमा उनले अमेरिका, श्रीलंका, अफगानिस्तान, बर्मा, इन्डोनेसिया, पाकिस्तानलगायत देशमा गएर काम गरे। अवकाश पाएपछि स्वदेश फर्किए। गोर्खा ब्रुअरी कम्पनी खोले। पाँच वर्षपछि बिक्री गरे। हिमालयन बैंक खोले। उक्त बैंक पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा खोलिएको थियो। पूर्वगभर्नर क्षेत्रीका अनुसार नेपाल विश्व व्यापारको संगठनको सदस्य बन्न तरखर गरिरहँदा के कुराले असर गर्छ भनेर जबराकै अध्यक्षतामा समिति बनाइएको थियो। त्यसमा क्षेत्री सदस्य थिए। त्यति बेला उनले व्यापार प्रवद्र्धन गर्ने हो भने प्रतिस्पर्धी तरिकाले जानुपर्छ भनेका थिए। 

‘हाम्रो बजारमा वस्तु र सेवा प्रचुर मात्रामा उत्पादन गर्न सक्नुपर्ने हुन्छ। त्यसो भए बाहिरबाट आयात गरेर भ्यालु याड गरेर उत्पादन गरी निर्यात गर्न सकिन्छ। यी सबैलाई विश्व व्यापार संगठन अनुकूल बनाएर लैजानुपर्छ भन्नु भएको थियो’, उनी भन्छन्, ‘सोही प्रतिवेदन पेस गरेपछि नेपाल विश्व व्यापार संगठनको सदस्य बन्न अग्रसर भएको थियो।’ 

जबराको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन्। गभर्नर महाप्रसाद अधिकारीले एक अग्रणी अर्थविद्, आर्थिक चिन्तक तथा नेपालको वित्तीय क्षेत्रको प्रवद्र्धकका रूपमा जबरालाई स्मरण गरेका छन्। ‘नेपाली अर्थतन्त्रको विकासका निम्ति नीतिगत, संरचनागत एवं व्यवस्थापकीय पूर्वाधारका कुशल निर्माता एवं प्रवद्र्धक जबराको निधनबाट नेपाल राष्ट्र बैंकले एक अभिभावक, देशले एक कुशल अर्थविद् तथा नेपालको वित्तीय क्षेत्रले एक अग्रणी मार्गदर्शक गुमाएको हामीले महसुस गरेका छौं’, गभर्नर अधिकारीले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्।  

त्यसपछि जापानीसँग आर्थिक सम्बन्ध 

दोस्रो विश्वयुद्ध समाप्त भएपछि जापानले आर्थिक पुनरुत्थानको बाटो समात्यो। हाम्रा पहिलो गभर्नर जबरा सन् १९६० सेप्टेम्बरमा जापान भ्रमणमा गए। उद्देश्य थियो अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको वार्षिक सम्मेलनमा भाग लिने। त्यहाँ जापानका गभर्नर यामामोटोसँग भेट भयो। त्यस क्रममा याटामोटोले जापानी बैंकमा खाता खोल्न आग्रह गरेका थिए। त्यसको एक वर्षपछि नेपालले जापानको सरकारी बैंकमा खाता खोल्यो। 

विदेशी मुद्राको सञ्चितिमध्ये केही रकम जापानी यनमा राखियो। बैंक अफ जापानमा खाता खोल्ने नेपाल पहिलो राष्ट्र बन्यो। त्यो बेला नेपालले गरेको विश्वासलाई आज पनि जापानले उत्तिकै सम्मान र आदर गर्ने गरेको पाइन्छ। 

जबरालाई जापान सरकारका तर्फबाट राजदूत युताका किकुताले गत जेठ १० गते ‘द अर्डर अफ द राइजिङ सन (गोल्ड एन्ड सिल्भर स्टार) बाट सम्मान गरेका थिए। त्यसो त नेपाल–जापान आर्थिक सम्बन्धका सूत्रधार मानिन्छन्, जबरा। त्यसअघि राष्ट्र बैंकले भारतीय, बेलायती र अमेरिकी मुद्रामा मात्रै सञ्चिति राख्थ्यो। उनले जापानसँग आर्थिक कूटनीतिमा त इतिहास रचे। 

जब एमए पास गरे...

जबराको जन्म लक्ष्मणशमशेर र गीता राणाको कोखबाट १९८४ पुस २४ गते भएको थियो। तत्कालीन प्रधानमन्त्री देवशमशेरका छोरा जंगशमशेर, जंगशमशेरका छोरा लक्ष्मण हुन्। जबराले दरबार हाइस्कुलबाट आधारभूत शिक्षा लिए। नेपालमा मेरिट सकाएपछि बीए र एमए अध्ययन गर्न भारतको मुम्बई गए। 

राणा परिवारको सुख–सयलमा हुर्किएका उनले त्यहाँ पुगेपछि भने सामान्य परिवारको विद्यार्थीझै जीवनयापन गरे। २००६ साततिर मुम्बई युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरे। त्यसपछि स्वदेश फर्केका थिए। २०१२ तिर अमेरिकाको हार्डवर्ड युनिभर्सिटीबाट करबारे अध्ययनसमेत गरे। 

उनले मुम्बईबाट फर्किएको केही समयपछि नै पहिलो अर्थसचिव बन्ने मौका पाएका थिए। तत्कालीन अर्थमन्त्री सुवर्णशमशेरले मन्त्रालयको सचिवमा एमए गरेका युवा खोजिरहेका थिए। उच्च शिक्षा लिएका व्यक्ति सीमित मात्रै थिए। मन्त्रीले चार युवालाई केही समय काममा लगाएर उत्कृष्टताका आधारमा जबरालाई जिम्मेवारी दिएका थिए। उनी  पाँच वर्ष (२००७–२०१२) अर्थसचिव बने। 

उनै जबरा निमोनिया संक्रमणपछि उपचारार्थ थापाथली नर्भिक अस्पतालमा भर्ना भएका थिए। त्यहीं नै उनको निधन भएको हो। जबराका दुई छोरा र दुई छोरी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.