हण्डर खेप्दै संगीतको उचाइतिर
काठमाडौं : ‘संगीत सिक्नकै लागि म्याग्दीबाट काठमाडौ पसेँ म। दुःख अभाव र लगावका कहानी अनगिन्ती छन्। पैसाका लागि डेढ वर्षसम्म भृकुटीमण्डपमा बोरा बोकेँ। काठमाडौं आएकै दिन बसेको होटलमा ६ महिना भाँडा माझेँ’ कहानी सुनाइरहँदा संगीतकार दीपक शर्मा केही भावुक देखिए। केहीबेर शब्दविहीन बने। सायद यही दुःखलाई उन्न उनले मनैमनमा सुरिलो धुन बनाइसके होलान्।
अरुका शब्दहरूलाई जीवन्त लय दिन र धुन भर्न खप्पिस छन् उनी। तर, आफ्नै जिन्दगीको कहानी भन्न भने केही हच्किए। सायद लाग्दो हो उनलाई ‘मेरा सफलता मात्रै अन्यले देखुन्। दुःख अभाव मै लिन्छु। मभित्रै लुकाउँछु।’
दिल भएनी फलाम
अहिले युट्युबमा ट्रेन्डिङमा छ यो गीत। गीतको शब्द राम्रो छ। उत्तिकै उत्कृष्ट छ संगीत र लय पनि। गीतको शब्दमा श्वास जोडेका हुन् संगीतकार दीपक शर्माले। शब्दलाई जीवन्त बनाउन संगीत पनि उनैले भरेका हुन्। यो मात्रै होइन दीपकले संगीत भरेका अक्सर गीत हिट हुन्छन्। बजारमा भाइरल संगीतकार भन्छन् उनलाई। उनले संगीत गरेका प्रायः सबै गीतले चर्चा कमाउँछन्।
हुनत उनले सवै गीतलाई बराबर माया गर्देनन्। भन्छन्, ‘कुनै गीतमा डेढ दुई घण्टामै संगीत भरेर सकिन्छ। कुनैमा एक महिनासम्म पनि पुरा गर्न सकिन्न। संगीत सिर्जना हो। जस्तोसुकै अवस्थामा सिर्जना गर्न सकिन्न। मलाई राम्रा लागेका कति धुनहरू रिजेक्ट भएका छन्। हजारौं धुनहरू यसै थुप्रिएर बसेका छन्।’
दीपक भन्छन्, ‘बजारमा धेरै उत्कृष्ट शब्दहरू मरेका छन्। धेरै मीठा धुनहरू गुमनाम छन्। क्षमता भएका धेरै सम्भावनाहरू गायब भएका छन्। भाइरल हुन गाह्रो छैन। तर, सदैव दर्शक श्रोताको मनमा रहिरहने गीत बनाउन, सम्झिरहने क्षमता बनाउन भने लगाव हुनैपर्छ। केही वर्ष अभावका दिन भोग्नैपर्छ।’
२०६२ सालदेखि नेपाली संगीतमा सक्रिय शर्माले १५ सय बढी गीतमा संगीत भरेका छन्। उनले संगीत भरेका ३ दर्जन बढी गीतले निकै चर्चा कमाए। संगीत क्षेत्रमा आएर उनले चुपचाप काम गरिरहेका छन्। पर्ख पर्ख मायालु होस्, देखन चम्चा, पहिलो नम्बरमा, पिरिम नलाउने, सिल्की कपाल, अर्को जुनी खै कुन्नी, पछि पछि लाएर, जिन्दगीकै सवाल, बालखैमा दिल बस्यो, तिम्रा डोला डोला आँखालगायतका गीत निकै चर्चित छन्। उनले जनसेवाश्री पदक, मिलाप राष्ट्रिय व्यक्तित्व सम्मान, धौलागिरि युवा सम्मान, राष्ट्रिय व्यक्तित्व तथा सष्ट्रा सम्मान, वेस्ट म्युजिक कम्पोजरलगायतका अनेक सम्मान प्राप्त गरेका छन्।
- ‘म संगीतको सिकारु मात्रै हो, केही थोपा मात्रै टिप्न सकेको छु।’
- ‘होटलमा बसेको पैसा तिर्न नसकेर भाँडासमेत माझेको छु’
म्याग्दीको विकट गाउँमा जन्मिएका दीपकलाई १० कक्षा पास गर्नासाथ घरको जिम्मेवारी आइलाग्यो। बाबाआमा बिरामी अनि उनी घरको जेठो सन्तान। घर छाडेर हिँड्दा सहरमा कसरी बाँच्ने भन्ने मात्रै थिएन। मासिक रुपमा घरमा खर्च पठाउनुपर्ने जिम्मेवारी पनि थियो। म्याग्दीबाट काठमाडौं आएर सुन्धाराको एक होटलमा बसेका उनी त्यहाँ तिर्ने पैसा नभएर भाँडा माझ्न थाले। त्यो उनले ६ महिनासम्म निरन्तर गरे। करिब डेढ वर्षसम्म त भृकुटीमण्डपमा साँझ बिहान बोरा बोक्ने कामसमेत गरेको बताउँछन् उनी। भन्छन्, ‘बिहान साँझ भात खाने पैसा थिएन। भारी बोकेको पैसा छिटो आउँथ्यो। यसैले पनि भृकुटीमण्डपका पसलेहरूको सामान ल्याउने र पुर्याउने काम गर्थें। यस्तै दुःखले मलाई संगीतको स्वाद पिलाएको हो। म गर्वका साथ भन्छु, हो मलाई अभावले संगीतकार बनाएको हो।’
उनले ललितकला क्याम्पसमा संगीत पढेका हुन्। अनामनगरमा रहेको श्रुति संगीत विद्यालयमा लामो समय संगीत सिके। संगीत गुरु नरहरी प्रेमी उनका संगीत गुरु हुन्। दीपक भन्छन्, ‘श्रुति संगीत विद्यालयमा संगीत सिक्नु मेरो जीवनकै स्वर्णीम समय थियो। कोठा लिएर छुट्टै बस्ने पैसा थिएन। यसैले पनि विद्यालयकै सोफामा रात बिताउँथेँ। रातभर हार्मोनियम र गितार बजाउँथेँ। रातभर बसेर गीतका धुन सिक्थें। पुराना गीतका क्यासेट निकालेर धुन र लय सुन्थें। धेरै सिक्न पाएको त्यो समय मेरो जिवनकै टर्निङ पोइन्ट हो।’
शर्माले संगीत शिक्षक राम सिटौला, गुरुदेव कामत, किसोर गुरुङ, राजकुमार मालाकारसँग संगीत सिकेका हुन्। उनी भन्छन्, ‘म संगीतको सिकारु मात्रै हो। सिकेर कहिल्यै नसकिने असीमित भण्डार हो संगीत। मैले संगीतका केही थोपा मात्रै टिप्न सकेको छु।’
उनले आधुनिक गीतमा मात्रै होइन, लोकदोहोरी, लोकपप, आधुनिक, फिल्मलगायत अनेक गीतमा संगीत भरेका छन्।