ट्राफिकको असुली धन्दा
जाजरकोट : नेपालगन्जदेखि गत आइतबार जाजरकोट आउने क्रममा बाँकेको चिसापानी बजारस्थित प्रहरीको चेकपोस्टमा एउटा गाडी रोकियो। सनराइज यातायातको सार्वजनिक जिपका चालक चेकपोस्टनजिकै गाडी रोकेर इन्ट्री गर्न गए। इन्ट्री गर्ने क्रममा उनले खल्तीबाट केही झिकेर प्रहरीलाई दिए। त्यसपछि चालक आएर पुनः गाडी हुइँक्याउन थाले।
‘खल्तीबाट प्रहरीलाई के झिकेर दिनुभयो ?’ अन्नपूर्ण पोस्ट्को जिज्ञासामा उनले भने, ‘के गर्ने ? यो चेकपोस्टमा दैनिक एक सय रुपैयाँ चढाउनैपर्छ। नत्र त अनेक बहाना झिकेर हामीलाई सताउँछन्, प्रहरीसँग लफडा गर्नुभन्दा त दाम चढाइदिए सजिलो हुन्छ।’
गाडी हुँइक्याउँदै उनले थपे, ‘यतिमात्र कहाँ हो र ? नेपालगन्ज–जाजरकोट रुटमा नौ ठाँउमा हामीले मासिक रूपमा पाँच सय रुपैयाँ र दुई ठाउँमा त दैनिक एक सय रुपैयाँ बुझाउनुपर्छ, नदिएमा दुुःख दिन्छन्। जरिवाना भन्दै रसिद काट्छन्, पैसा त प्रहरीमा बुझाउँदैमा सकिन्छ।’
गाडी देउराली हुँदै अघि बढ्यो। बर्दिया र सुर्खेतको सीमानानजिक बबई बजार पुग्न करिब एक किलोमिटर जति बाँकी थियो। दुई जना ट्राफिक प्रहरी बाटोमै उभिएका थिए। उनीहरूले गाडी रोक्न इसारा गरे। गाडी रोकेर चालकले एक सय रुपैयाँ निकालेर दिए। गाडी फेरि घुइँकियो। सुर्खेतको मेहेलकुना, बोटेचौर र राकम, सल्यानका बालुवासंग्रही र सल्लीबजार, जाजरकोटका छेडाचौर, कुदु, मटेला र खलंगामा गरी नौ ठाउँमा मासिक पाँच सयका दरले चालकहरूले प्रहरीलाई बुझाउने गरेका छन्।
उनका अनुसार नौवटा चेकपोस्टमा मासिक चार हजार पाँचसय र दैनिक चिसापानी र बबईमा एक सयका दरले दुई सय गरी मासिक ६ हजार तथा अन्य प्रहरी र ट्राफिक प्रहरीलाई खाजा गरी मासिक १२÷१४ हजार जति रुपैयाँ खर्च हुन्छ। बबई पछिका चेकपोस्टमा मासिक रूपमा बुझाएका कारण दैनिक बुझाउनु नपर्ने उनले खुलाए।
उनले आफ्नो नाम र गाडी नम्बर नखुलाउन आग्रह गरे। परिचय सार्वजनिक हुँदा प्रहरीले थप सताउने उनको त्रास थियो। कर्णालीका सुर्खेत, दैलेख, कालिकोट, मुगु, जुम्ला, जाजरकोट, सल्यान र रुकुमपश्चिममा गाडीहरू यही रुटबाट चल्ने गर्छन्। दैनिक पाँच सयवटा गाडीबाट एक सय रुपैयाँका दरले हिसाब गर्दा पनि दैनिक ५० हजारभन्दा बढी रुपैयाँ असुली हुने गरेको अनुमान छ तर यसतर्फ कुनै नियमनकारी निकायको ध्यान जान सकेको छैन।
एक चालकका अनुसार प्रहरी र ट्राफिक प्रहरीले गाडीवालाबाट अवैध रूपमा असुलेको रकम माथिल्लो निकायमासमेत जाने गरेको छ। जाजरकोटदेखि नेपालगन्ज रुटमा फोर्स गाडी चलाउँदै आएका नाम खुलाउन नचाहने अर्का एक जना चालकले पनि नौवटा चेकपोस्टमा पाँच सयदेखि एक हजार रुपैयाँसम्म मासिक बुझाउने गरेको बताए।
सुर्खेतको छिन्चु र जाजरकोटको छेडामा मासिक एक हजार र अन्य चेकपोस्टमा मासिक पाँच सय रुपैयाँ बुझाउने गरेको उनको भनाइ छ। जाजरकोटका प्रहरी प्रमुख डीएसपी सन्तोष निरौलाले त्यसरी प्रहरीले गाडीवालाबाट पैसा असुलेको प्रमाणसहित फेला परेमा प्रहरीमाथि कडा कारबाही गरिने बताए। प्रहरीले पैसा मागे तत्काल आफूलाई खबर गर्न समेत उनले आग्रह गरे।
यस्तै, कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रज्वल महर्जनले गाडीवालाबाट ट्राफिक प्रहरीले पैसा असुल्ने गरेको र मासिक रकम लिने गरेको गुनासोका सम्बन्धमा छानबिन गर्ने बताए।
चालकबाट प्रहरीले पैसा असुलेको प्रमाणसहित पेस गर्न आग्रह गर्दै उनले भने ‘गलत गर्नेलाई कारबाही हुन्छ।’
जाजरकोटको खलंगादेखि नेपालगन्जसम्म जाने क्रममा गाडीले ठाउँठाउँका प्रहरी पोस्टमा चेकिङ र इन्ट्री गर्नुपर्दा यातायात व्यवसायी र यात्रुले निकै सास्ती खेप्नु परेको छ। करिब दुई सय किलोमिटरको सडकमा १४ ठाउँमा गाडी इन्ट्री गर्नुपर्ने बाध्यता छ। ठाउँठाउँमा गाडी इन्ट्री गर्दा झन्झट र ढिलाइ हुने गरेको सनराइज यातायात समिति खलंगाका इन्चार्ज रमेश श्रेष्ठले बताए। उनी भन्छन्, ‘सबै ठाँउमा इन्ट्री गर्दा करिब एक घण्टा समय खेर जान्छ।’
नेपालगन्ज–जाजरकोट रुटमा गाडीवाला नौ ठाउँमा मासिक ५ सय र दुई ठाउँमा त दैनिक एक सय रुपैयाँ बुझाउँछन्