वामपन्थी आन्दोलनका आरोह–अवरोह

नेपालको समाजवादी आन्दोलन सफल पार्न वामपन्थी एकता हुन जरुरी छ। तर त्यो एकता सत्ता र व्यक्ति स्वार्थमा नभई समाजवाद स्थापनाका निम्ति हुनुपर्छ।

वामपन्थी आन्दोलनका आरोह–अवरोह

नेपालको समाजवादी आन्दोलन सफल पार्न वामपन्थी एकता हुन जरुरी छ। तर त्यो एकता सत्ता र व्यक्ति स्वार्थमा नभई समाजवाद स्थापनाका निम्ति हुनुपर्छ। 

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको सात दशकको समयावधिमा नेपालमा धेरै कम्युनिस्ट पार्टी गठन भए। कम्युनिस्ट पार्टीको इतिहास नागबेली भए पनि यथार्थमा नेपालको कुल जनसंख्याको ७० प्रतिशत जनसंख्या वामपन्थी विचार अँगाल्नेको देखिन्छ। राजनीतिक व्यवस्था परिवर्तनको आन्दोलनमा पनि वामपन्थी विचार बोक्नेहरूको निर्णायक भूमिका आजसम्मका सबै आन्दोलनमा निर्णायक नै देखिन्छ। राजनीतिक परिर्वतनका निम्ति तत्कालीन माले र माओवादी पार्टीले सशस्त्र विद्रोहसमेत गरेको इतिहास साक्षी छ। देशको समग्र राजनीतिक चेतना जगाउने सवालमा वामपन्थी विचार बोक्नेले निर्वाह गरेको भूमिकाको अवमूल्यन गर्ने ठाउँ छैन र देखिँदैन।

नेपालको सन्दर्भमा वामपन्थीले राज्य सञ्चालनमा पाएको अवसर सदुपयोग गर्ने सवालमा पनि अन्यको भन्दा राम्रै देखिन्छ। २०५१ सालमा पहिलो पटक नेपालमा बनेको वामपन्थी सरकारले गरेको सामाजिक सुरक्षा भत्ता, आफ्नो गाउँ आफैं बनाउँजस्ता जनपक्षीय काम भए। तिनको छाप अहिलेसम्म नेपाली जनताको माझ यादगार छन्। २०७४ सालमा केपी ओली नेतृत्वको सरकारले १९६५ देखि भारतले भोगचलन गर्दै आएको लिपुलेक, लिम्पियाधुरा र कालापानीको जमिन नेपालको नक्सामा समेटे। जुन विश्वसामु प्रदर्शन गरेको विषयले सिंगो देशको शिर ठाडो पारेको छ। दक्षिणपन्थी विचारमा आस्था राख्ने नेताहरूको तुलनामा वामपन्थी विचारवाट निर्देशित नेताको नेतृत्वमा देशमा भएका विकास निर्माणको गति ज्यादा गतिशील छ।

विश्व जगत्मा कम्युनिस्ट पार्टी र समाजवादी आन्दोलन रक्षात्मक हुँदैछ। नेपालमा नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको लोकतान्त्रिक कम्युनिस्ट विचारधारा जबजका कारण नेपालमा समाजवादी आन्दोलन आजसम्म रक्षात्मक बन्नु परेको छैन। मदन भण्डारीको विचार, मनमोहन अधिकारी, केपी शर्मा ओलीले गरेका काम र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भएको सशस्त्र विद्रोह नेपालमा वामपन्थी शक्तिको स्थायित्वका निम्ति उर्वर सावित भएका छन्। जसले वामपन्थी आन्दोलनमा ऊर्जा थप्ने काम गरेका छन्। वास्तवमा वामपन्थी विचारका निम्ति नेपाल उर्वरभूमि नै होभन्दा हुन्छ। नेपाल कम्युनिस्ट पार्टीको स्थापनाकालदेखि अहिलेसम्म नेपाली जनताले नेपालका वामपन्थी शक्तिलाई साथ सहयोग दिँदै आएका छन्। तर नेपालका वामपन्थी नेताहरूको व्यक्ति हठ र मनोवादका कारण जनताको इच्छा, चाहनाबमोजिम वामशक्ति एकीकृत ढंगवाट हिँड्न सकेका छैनन्। समाजवादी समाज निर्माण महान् लक्ष्य कुरा, भाषण र संवादमा जति नेपालका वामसँग ठोस कार्ययोजना छैन।

समाजवादी विचार बोक्ने दल, जनता र मतदाताको उल्लेख्य संख्या भए पनि यो शक्तिलाई एकताबद्ध गर्न नसक्नु नै वाम शक्तिको कमजोरी हो। समाज बुझ्नेभन्दा समाज बदल्ने कुरा धेरै महत्त्वपूर्ण हो। दर्शन, सिद्धान्त जनतालाई कण्ठस्त पार्न लगाएर जनताको जीवनमा त्यो सिद्धान्त लागू हुने होइन। यदि यसो हुँदो हो त विश्वमा धेरै पहिले समाजवाद आइसक्थ्यो। नेपालमा सबैभन्दा धेरै पण्डित समाजवादकै छन्। दलकै कुरा गर्ने हो भने पनि सबैभन्दा पुरानोे दल नेपाली कांग्रेसदेखि वामपन्थी सबै दल समाजवाद नै भनेको सुनिन्छ, खोइ त अहिलेसम्म आएको समाजवाद ? सोभियत संघ विघटनपछि विश्व कम्युनिस्ट आन्दोलन फरक परिस्थतिमा गुज्रिरहेको छ। विश्वका पुँजीवादीहरूले वामपन्थी जनमतलाई प्रभावमा पार्न विश्व पुँजीवादी शक्तिले सोसलिस्ट (समाजवादी) शब्द राखेर दल खोलेको पाइन्छ। पछिल्लो समयमा आउँदा समाजवाद रबरको टोपीजस्तो जसले लगाउँदा पनि मिल्ने शब्द समाजवाद भएको छ। जुनसुकै सिद्धान्त, वाद, दर्शनको पक्षधर भए पनि कुरा समाजवादकै गरेको सुनिन्छ। दक्षिणपन्थी, पुँजीवादी, मध्यपन्थी वा वामपन्थी जो भए पनि समाजवाद सबैका निम्ति प्यारो शब्द बनेको छ।

साम्राज्यवाद र समाजवाद बीचको अन्तर्विरोध, अन्तर्राष्ट्रिय, राष्ट्रिय पुँजीपति वर्ग र सम्पूर्ण श्रमजीवी जनताबीचको अन्तरविरोध सधैं भइरहेको हुन्छ। पुँजीवादसँग संवाद गरेर समाजवाद स्थापना हुने कुरा होइन। जहाँसम्म समाजवादले संघर्षमार्फत पुँजीवाद माथि विजय प्राप्त गर्न सक्दैन। त्यहाँसम्म्म पुँजीवाद अस्तित्वमा रहिरहनेछ। यी दुई व्यवस्थाको स्थापना संवादबाट होइन, संघर्षबाट स्थापित हुने कुरा हो। पुँजीवादी व्यवस्था पनि सामन्तवादी व्यवस्थामाथि विजय प्राप्त गरी नै आएको हो। तर, अहिले समाजवाद प्राप्त गर्ने नाममा धेरै भ्रम, अन्योलता सिर्जना गरिँदैछन्। त्यसको सिको नेपालको राजनीतिमा समाजवादी नामका पार्टीहरू निर्माण भइरहेका छन्। पार्टीको अनुशासनमा बस्न नसकी पार्टीले कारबाही गरेका, जनताको तिरस्कारमा परेका अथवा राजनीतिक हिसाबले म्याद ग्रुजेकाहरूले समाजवादी नामको पार्टी खोले। यसरी के समाजवाद आउँला ? सम्भव हुँदैन र छैन।

समाजवादी लक्ष्य, उद्देश्य नबोकी खोलिने केन्द्र वा पार्टी जे भए पनि त्यो केवल केही नेताका पेट पाल्न खोलिएको समाजवादी विचार बेच्ने पसलमात्र हुनेछ। वामपन्थी विचारबाट विचलन भएका वा जीवनमा कम्युनिस्ट नभएकाबाट कसरी सम्भव हुन्छ ? समाजवादी व्यवस्था ल्याउने कुरा। वास्तविक समाजवाद जुन समाजवादले सामाजिक न्याय स्थापना गर्न सक्छ। पुँजीवादी व्यवस्थाले गरेका सामाजिक विभेद अन्त्य गर्न सक्छ। शोषित, पीडित, सर्वहारा र श्रमजीवी वर्गको उत्थान गर्न सक्ने व्यवस्था हो समाजवाद। के अहिले नेपालका राजनीतिक दल हिँडिरहेको मार्गबाट वास्तविक जनताको समाजवाद सम्भव छ ? समाजवाद स्थापनार्थ पुँजीवादलाई धक्का दिने हैसियत निमार्णमा जवसम्म समाजवादी शक्तिहरू लाग्दैनन्, तबसम्म समाजवादी व्यवस्था ल्याउँछौं भन्ने कुरा फगत गफ हुन्।

संविधानमा यो संविधान समाजवाद उन्मुख भनेर लेख्दैमा समाजवाद आउने होइन। राज्यका संरचना समाजवादी छन् कि छैनन् भन्ने विषयले अर्थ राख्छ। राज्यको आर्थिक नीति कस्तो छ ? त्यसमा आमनागरिकको कति पहँुच छ भन्ने कुराले समाजवादको मर्मलाई अथ्र्याउँछ। साथै राज्यको वितरण प्रणाली कस्तो छ ? त्यसबाट आमनागरिक कसरी लाभान्वित छन् ? त्यो महत्त्वपूर्ण हो। के अहिले संविधानले आमनागरिकलाई राज्यले गर्ने सेवा प्रवाह सम्पूर्ण सेवामा एकरूपता छ ? के आम नागरिकसँग पैसा नभए पनि उसले बिनासर्त राज्यसँग आवश्यक वस्तु माग्न सक्छ ? के कुनै नागरिकले मसँग यो सीप छ, म यो काम गर्न सक्छु, मलाई मेरो कामअनुसारको दाम पाउने श्रम चाहियो भन्दा संविधानले उपल्बध गराउन सक्छ ? अभिभावकले सन्तान डाक्टर पढ्न चाहन्छ, राज्यले पढाउने व्यवस्था गरिदिनु पर्‍यो भने के अहिलेको समाजवादउन्मुख संविधानले त्यो व्यवस्था गर्ला ? अस्पतालमा मृत्युसँग लडिरहेको बिरामीले राज्यले औषधोपचार गरोस्, बाँचें भने राज्यले भनेबमोजिम काम गरेर चुक्ता गर्छु भन्यो भने के त्यो सेवा उपलब्ध हुन्छ ? हुँदैन। नेपालका सम्पूर्ण प्रशासनिक अवयवहरू नाफामूलक छन्।

वास्तविक समाजवादी हुन पहिले कम्युनिस्ट हुन अनिवार्य छ। कम्युुनिस्ट नहुने समाजवादी यात्रामा छौं भन्ने विषयले कुनै अर्थ राख्दैन। अहिलेको नेपालको राजनीतिक यात्रा यही दिशातिर लिने प्रयास भइरहेको छ।

संविधानमा लेखिएको समाजवादउन्मुख प्रस्तावना आमनागरिकका निम्ति आकाशेफल आँखा तरी मर भनेजस्तै हो। संविधानमा समाजवाद लेखेका छौं यसले आमनागरिकको भलो गर्छ भन्ने कुरा सफेद झुटबाहेक केही हुन सक्दैन। कुनै पनि मुलुकका निम्ति देश, जनता र भूगोल साध्य हो भने नियम, कानुन, संविधान यी सबै साधन हुन्। जनताले चाहे भने यी सबै जतिखेर पनि संशोधन वा खारेज गर्न सक्छन्। नेपाली जनताले अहिलेसम्म सात संविधान परिवर्तन गरेका छन्। देशको परिस्थति र जनताको आवश्यकताअनुसार संविधान, नियम कानुन परिवर्तन हुन र गर्न सक्छ। नेपालमा समाजवादी वामशक्ति समाजवादको लक्ष्य बोकेका भए पनि संविधानप्रति वफादार छन्।

अहिलेको नेपालको संविधान पुँजीवादी व्यवस्थाको जगमा निर्माण भएको हो। नागरिक र कम्युनिस्ट जनमतले चाहेजस्तो समाजवादी क्रान्तिकारी संविधान होइन। जवसम्म यो संविधान परिवर्तन गर्ने ल्याकत वामपन्थीले राख्दैनन्, तबसम्म समाजवादी क्रान्ति गर्ने हिक्मत राख्दैनन्। तबसम्म समाजवाद गीतजस्तै हुन्छ। नेपाली जनतालाई समाजवादी व्यवस्थातिर लैजाने हो भने वामपन्थी दलहरूले संसद् विघटनको रोइलोमा रमाउन हुँदैन। समाजवाद नेपाली जनताका निम्ति लोकप्रिय, कर्णप्रियसँगै आमजनताको भावनासँग जोडिएको शब्द हो। जसलाई नेपाली जनता मायामात्र होइन, सम्मान पनि गर्छन्। असली समाजवादी को हुन् ? नेपालमा यसको छिनोफानो गर्न जरुरी छ। नाम समाजवादी राखेर समाजवाद आउने हुँदो हो त विश्वमा धेरै अघि समाजवाद आइसक्थ्यो। यसरी समाजवाद ल्याउने विषय धेरै टाढाको हो, अझ कल्पना बाहिरको हुन्छ।

वास्तविक समाजवादी हुन पहिले कम्युनिस्ट हुन अनिवार्य छ। कम्युुनिस्ट नहुने समाजवादी यात्रामा छौं भन्ने विषयले समाजवादका निम्ति कुनै अर्थ राख्दैन। अहिलेको नेपालको राजनीतिक यात्रा यही दिशातिर लिने प्रयास भइरहेको छ। कटर क्षेत्रवादी, जातिवादी र धर्मवादी पृष्ठभूमिवाट राजनीतिमा उदाएका शक्तिहरू पनि राजनीतिक स्पेसका निम्ति आफूलाई समाजवादी भन्न थालेका छन्। यसरी यस्ता शक्तिवाट निर्माण भएको समाजवादी केन्द्र राजनीतिक नाट्यशालाबाहेक अर्को हुन सक्दैन।

मार्क्सवादको जगमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दर्शनका वैज्ञानिक नियम पालना र कार्यान्वयन नगरी समाजवादी व्यवस्था सफल पार्ने कुरा कल्पना पनि गर्न सकिँदैन। त्यसैले नेपालको समाजवादी आन्दोलन सफल पार्न वामपन्थी एकता हुन जरुरी छ। जसले सिद्धान्त मार्क्सवादी लक्ष्य समाजवादको अँगालेर हिँडेका छन्। तर त्यो एकता सत्ता र व्यक्ति स्वार्थमा नभई 
समाजवाद स्थापनाका निम्ति हुनुपर्छ। जुन एकताका निम्ति वर्तमान समय निर्णायक हुने देखिन्छ।

शाही, नेकपा एमालेका केन्द्रीय सदस्य हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.