टर्की भूकम्पमा मृत्यु हुनेको संख्या ११ हजार नाघ्यो
काठमाडौं : टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ११ हजार नाघेको छ।
टर्कीएमा ८ हजार ७५४ र सिरियामा दुई हजार चार सय ७० जनाले ज्यान गुमाएका दुवै देशका सरकारी अधिकारीहरूले बताएका छन्। टर्कीएमा मात्र ४० हजारभन्दा बढी घाइते भएका छन्। प्रतिकूल मौसमका कारण खोज तथा उद्धारमा अवरोध भएको छ। यद्यपि उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन्।
करिब छ हजार भवन भत्केकाले ज्यान गुमाउनेको सङ्ख्या बढ्ने प्रभावित क्षेत्रमा खटिएका उद्धारकर्मी र चिकित्सकले बताएका छन्। उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्रसंघका अधिकारीहरूले २० हजार मानिस हताहत भएका अनुमान गरेका छन्। भूकम्पबाट अतिप्रभावित १० प्रान्तमा तीन महिने आपतकाल घोषणा गरिएको छ।
अन्तर्राष्ट्रिय समुदायले टर्कीए र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ। बेलायतका नवनियुक्त सत्तारुढ कञ्जरवेटिभ पार्टीका अध्यक्षले टर्कीएको अनुरोधअनुसार थप सहायता उपलव्ध गराउने बताएका छन्। युरोपेली संघ, रुसी महासंघ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रीस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अष्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक एवं भौतिक सहायता उपलब्ध गराएका छन्। इजरायल, चीन र भारतले चिकित्सक, इञ्जिनियर र भारी उपकरणका साथ उद्धारकर्मी परिचालन गरेका छन्।