सुक्न थाल्यो बाली

सुक्न थाल्यो बाली
सुन्नुहोस्

वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका-२ खोरीयाका बलबहादुर पुर्जाले बताए।

बेनी: हिउँद सकिनै लाग्दा पनि बर्षा र हिमपात नहुदा म्याग्दीमा खेतीबाली सुक्न थालेको छ। गर्मी छिटो सुरु हुँदा माघमै गुराँस फुल्न थालेको छ। हिमालका पहाड काला देखिएका छन्। जंगलमा डढेलोको समस्या बढेको छ। 

म्याग्दीमा गत असोज तेस्रो सातादेखि बर्षात भएको छैन। बर्षात नहुँदा गहुँ, जौ, केराउ, उवा, आलु, लगायत हिउँदे बालीमा सिचाईको समस्या भएको छ। सिचाई सुविधा नभएको ठाउँमा लगाइएको हिउँदेबाली सुक्न थालेका छन्। बाली सुक्न थालेपछि उत्पादन घट्ने र खाद्यान्न आयात गरेर उपभोग गर्नुपर्ने अवस्था देखिएको छ।

वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौँलगायतका हिउँदे खेती खेतबारीमै सुक्न थालेको धवलागिरि गाउँपालिका-२ खोरीयाका बलबहादुर पुर्जाले बताए। ‘यस्तो लामो खडेरी परेको मेरो जानकारीमा छैन, पोहोर साल यतिबेला तीन पटक हिउँ परेको थियो, तर अहिले हिमपात भएको छैन,’ ७० वर्षीय पुर्जाले भने ‘वर्षासमेत गत असोज महिनायता भएको छैन, बारीमा लगाएको जौ गहुँ सुक्न लागेका छन्।’

यस वर्ष म्याग्दीमा धानको फुल लाग्ने बेलामा भएको भारी वर्षाको कारण धान उत्पादन घटेको अवस्थामा हिउँदेबालीसमेत खेतमै सुक्न थालेपछि कृषक समस्यामा परेका छन्। सिचाई डिभिजन कार्यालयका अनुसार १९ हजार ४९८ हेक्टर क्षेत्रफल जमिन भएको म्याग्दीको करिब २५ प्रतिशत जमिनमा मात्र सिचाई सुविधा छ। ७५ प्रतिशत जमिनमा आकाशे पानीको भरमा खेती हुने गरेको छ। खेतमा लगाएको गहुँ, जौँसँगै तरकारी खेतीमा समेत सिँचाइ गर्न समस्या भएको धवलागिरि गाउँपालिका-७ ताकमका स्थानीय दीपक सुवेदीले बताए।  

हिमपातले हिउँदेबालीमा सिँचाइ हुने भए पनि नहुँदा सिँचाइको अभाव हुने र ढिला हिमपात हुँदा अन्नबालीको उब्जनी घट्ने भएकाले कृषकका लागि समयमै हिमपातको महत्व रहेको सुवेदीको भनाइ छ। समयमै हिउँ नपर्दा पानीका मुल सुक्ने, असिना पर्ने र त्यसले बालीनालीमा क्षति पु¥याउने भएकाले पनि कृषक हिमपातको प्रतिक्षमा छन्।

हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर देखिन थालेका छन्। हिउँले सेताम्मे ढाकिनुपर्ने हिमाल हिमपात नभएको र पग्लिएर नाङ्गिन थालेका छन्। पुसदेखि माघसम्म सेताम्मे देखिनुपर्ने हिमालमा यस वर्ष हिमपातमा ढिलाइ हुँदा हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएका छन्। जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरूपमा पारेको स्थानीयवासीको भनाइ छ। 

हिमपात नभएपछि हिमालको हिउँ पग्लिएको छ। हिउँ पग्लिएपछि हिमाल नाङ्गिँदै गएका छन्। पछिल्लो वर्षहरूमा हिमपात पर्ने समय नै परिवर्तन भएको छ। मौसम फेरिएर पुस-माघमा हिउँ नपर्ने र फागुन-चैतमा हिउँ पर्ने अवस्था आएको छ। 

हिउँ नपरेपछि यतिबेला धवलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, चुरेनलगायतका हिमाल रङ उडेझै फिक्का देखिन थालेका छन्। मौसमी हिमपात हुन छाडेर बेमौसमी हिमपात हुन थालेपछि स्थानीयवासीले हिमाली तथा उच्च पहाडी क्षेत्रमा जलवायु परिवर्तनको असर महसुस गर्न थालेको धवलागिरि गाउँपालिका-१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए। 

समयमा हिमपात नहुँदा हिमालमा हिउँको मात्रा घट्दै जाँदा हिमाल काला पहाडजस्ता देखिन थालेको र जङ्गली फूलहरूमा समेत त्यसको प्रभाव देखिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोरेपानीका पर्यटन व्यवसायी डमबहादुर पुनले बताए। 

‘हिउँ परे हिमाल सेताम्मे हुन्थे, हिमपातपछि मौसम खुल्थ्यो, अहिले दिनहुँ हुस्सुमात्रै छ, हिमाल पनि हिउँविहीन देखिन थालेका छन्, मौसम यसरी नै बिग्रँदै जाने हो भने हिउँदमा हिमपात नै नहुने हो कि भन्ने जोखिम बढेको छ’ उनले भने। 

गत वर्ष पुस पहिलो साता नै हिमपात भएपछि हिउँ खेल्नका लागि पर्यटकको चहलपहल भएको स्मरण गर्दै पुनले यस वर्ष हिउँ नपरेपछि पर्यटनसमेत प्रभावित बनेको पुनले सुनाए। ‘हिउँ खेल्न पर्यटक खचाखच हुन्थे, अहिले त घोरेपानीका ठूला २२ वटासहित सबै होटल सुनसान छन्, सुक्खा जाडोको कारण नेपाली पर्यटक पनि घुम्न आउने घटेका छन’ उनले भने।  

जलवायु परिवर्तनको असर हिमालमा मात्रै होइन, जङ्गली फूलहरूमा पनि देखिन थालेको छ। चैत-वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष पुसदेखि नै फुलेको देखिएको छ। जङ्गलमा लालीगुराँस पुसमै फुलेपछि अचम्मित बनेको धवलागिरी-२ खोरियाका मतिप्रसाद पाइजाले बताए। ‘मौसम परिवर्तन हुँदै गएको छ, भारी वर्षा र भारी चिसोको समस्या हरेक वर्ष बढ्दो छ,’ उनले भने ‘पानी र हिउँ समयमा पर्दैन, वनका फूलहरू बेमौसममा फुल्न थालेका छन्।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.