ईलाका प्रशासन लोमान्थाङमा छैनन् कर्मचारी
ईलाका प्रशासन कार्यालय लोमान्थाङ विगत आठ महिनादेखि कार्यालय प्रमुखविहिन बनेको छ।
जोमसोम: तिब्बतसँग सीमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङस्थित ईलाका प्रशासन कार्यालयमा ७ जनाको कर्मचारी दरबन्दी रहेपनि कास एक्लैले कार्यालय कुरेर बसेका छन्।
ईलाका प्रशासन कार्यालय लोमान्थाङ विगत आठ महिनादेखि कार्यालय प्रमुखविहिन बनेको छ। ईलाकामा प्रमुखविहीन भएसँगै उपल्लो मुस्ताङमा नागरिकता र राहदानी लगायत विभिन्न सेवा प्रभावका कामकाज प्रभावित बनेका छन्।
इलाका प्रशासन कार्यालय लोमान्थाङमा शाखा अधिकृत तहको एकजना कार्यालय प्रमुखसहित ७ जनाको स्थायी दरबन्दी छ। जसमध्ये २ जना नायव सुब्बा,१ जना सहलेखापाल,१ जना सहायक कम्प्यूटर अपरेटर र २ जना कार्यालय सहयोगीको दरबन्दी छ। तर अहिले दरबन्दी अनुसार कर्मचारी छैनन्।
गतवर्षको असार महिनामा तत्कालिन ईलाका प्रशासन प्रमुख देवेन्द्र पाण्डेयको सरुवा भएसँगै ईलाका प्रशासन कार्यालयमा ईलाका प्रमुखको पद रिक्त रहेको प्रमुख जिल्ला अधिकारी अनुप केशीले जानकारी दिए। ईलाका प्रशासनमा शाखा अधिकृत तहको कर्मचारी पदपूर्ती नभएसम्म ईलाका प्रशासन लोमान्थाङको सबै प्रशासनिक कार्य प्रभावित हुने र त्यसका लागि जिल्लामै धाउनु पर्ने समस्या रहेको प्रजिअ केशीले बताए।