तलब लिन गएका युवकको शंकास्पद मृत्यु
होटलमा काम गरेको पैसा लिन भन्दै माघ १७ गते घरबाट पाटन बजार पुगेका उनी माघ १९ मा पाटन नगरपालिका ६ को पाटन बजार नजिकै गबरजल ढ्वानी भीरमा मृत फेला परेका थिए।
बैतडी: माघ १९ गते बैतडीको पाटन नगरपालिका ६ को गबरजल ढ्वानी भीरमा एक युवक मृत फेला परे। डडेल्धुराको नवदुर्गा गाउँपालिका ५ का २० वर्षीय पदम अवस्थीलाई मृत फेला पारिएको थियो।
२ वर्ष पहिलेदेखि पाटन बजारकै एक होटलमा कार्यरत पदम केही महिना पहिले मात्रै घर गएका थिए। पाटनको होटलमा काम गरेको पैसा लिन भन्दै माघ १७ गते घरबाट पाटन बजार पुगेका उनी माघ १९ मा पाटन नगरपालिका ६ को पाटन बजार नजिकै गबरजल ढ्वानी भीरमा मृत फेला परेका थिए।
मृतक पदमका (आफन्त) काका ठानेश्वरप्रसाद अवस्थीका अनुसार होटलबाट २४ हजार रुपैया लिनु पर्ने थियो । २४ हजार रुपैया लिनुपर्ने ठाउँमा १० हजारको चेक दिइएको छ, त्यो पनि २३ गतेको मिति उल्लेख छ । पदम मृत भेटिएको ठाउँमा १८ गते प्रहरीमा दिन तयार पारेको निवेदन भेटिएको थियो।
यी दुवै तथ्यलाई हेर्दा पदमको लडेर मृत्यु नभई हत्या गरेर फालेको आफन्तको आशंका छ। ‘हाम्रो घर डडेल्धुराको नवदुर्गा हो, जुन ठाउँमा पदम मृत भेटिएको छ, त्यहा कोई आफन्त पनि छैनन्, मृत भेटिएको ठाउँमा पदम किन गए होलान,’ आफन्त ठानेश्वरप्रसाद अवस्थी भन्छन्, ‘पदमका हत्या भएको हो, उचित छानबिन होस।’
प्रहरीले पनि घटनास्थलमा भेटिएको प्रमाण र तथ्याका आधारमा अनुसन्धान भइरहेको जनाएको छ।