सन्दर्भ : विश्व क्यान्सर दिवस सप्ताह

अनवरत क्यान्सर अभियन्ता

जसको अगुवाइमा चुरोटबाट शुल्क उठाएर बन्यो क्यान्सर अस्पताल

अनवरत क्यान्सर अभियन्ता
कर्ण शाक्य

शाक्य आफैं क्यान्सरका रोगी हुन्।  

काठमाडौं : क्यान्सरले १७ वर्षकी छोरीलाई चुँडेर लग्यो। पुत्रीवियोगको घाउ थाक्न नपाउँदै तीन महिनामा जीवनसंगिनीलाई क्यान्सरकै कारण गुमाउनुपर्‍यो। ३५ वर्षअघिको त्यो समय उक्त रोगको नाम सुन्नेबित्तिकै मान्छे डराउँथे। बिरामीलाई हेलाको नजरले हेर्थे। त्यही डरले होला रोग लुकाउँथे। उपचार नै पनि थिएन। 

‘बौलाहाजस्तो भएँ। आफूले जन्माएको छोरीको लास बोक्नु कुनै जोक होइन’, क्यान्सरविरुद्धका अभियन्ता कर्ण शाक्य भन्छन्, ‘क्यान्सर रोग भयो भने रोगीभन्दा परिवारलाई मानसिक, आर्थिक दृष्टिले पीडा हुन्छ। बरु जहाज खसेर, हृदयघात भएर मर्न गाह्रो छैन होला। एक मिनेट त हो। आफ्ना प्रियजन कोही क्यान्सर भएर मर्दै छ भनेर काल पर्खनु पलपल मर्नु हो।’ 

शाक्यलाई छोरीको मृत्युपछि मात्र थाहा भयो कि छोरीलाई फोक्सोको क्यान्सर थियो। तर, उनको अन्य रोगको उपचार भइरहेको थियो। नेपालमा उपचार नभएपछि श्रीमतीको पाठेघरको क्यान्सरको उपचार गर्न बैंकक (थाइल्यान्ड), सिंगापुर, भारत धाए। शाक्य भन्छन्, ‘मेरो आमाले भन्नुहुन्थ्योे– शिवले सतीको मृत शरीर बोकेर हिँडेजस्तै मैले उपचारका लागि विदेशी भूमि यति धाएँ, के पो गरिनँ होला ?’ 

फरक तरिकाले जीवन जिउनुपर्छ भन्ने सोच राख्ने उनी पुत्री र पतिवियोगका आँसु र पीडा सहन बाध्य भए। जो सरकारी सेवामा वनकर्मी र सामान्य व्यवसायीका रूपमा जीवनयापन गरिरहेका थिए। छोरी र श्रीमतीलाई क्यान्सरका कारण गुमाएका शाक्यलाई उक्त रोगको उपचार गर्ने अस्पताल नेपालमै भइदिए हुन्थ्यो भन्ने लाग्न थाल्यो। वियोगको पीडाका बेला उनी कहिले असनको डबली त कहिले टुँडिखेलमा २०–२५ जना जम्मा गरेर सरकारलाई गाली गर्थे। 

यो कुरा थाहा पाएपछि उनलाई बोलाएर त्यस बेलाकी एक मन्त्री सुशीला थापाले शाक्यलाई बोलाएर भनिन्, ‘देशको अवस्था यस्तो छ। देशका ७५ वटै जिल्लामा अस्पताल छैनन्। अहिले क्यान्सर अस्पतालको कुरा कहाँ सम्भव हुन्छ ?’ क्यान्सर अस्पताल सम्भव नभएको भन्दै थापाले यस्ता कुरा नगर्न आग्रह गरिन्। 

तापनि शाक्यको मन शान्त भएन। कतिपयले उनलाई असम्भव कुरा गर्‍यो भने। पत्नी र छोरी क्यान्सरले मर्‍यो भनेर ‘आकाशमा महल बनाउन खोज्यो’ भन्ने टिप्पणी पनि गरे। तर, त्यस्ता कुराले उनलाई रोकेन। अस्पताल खोल्ने उपाय खोज्न थाले। क्यान्सर के हो भनेर जनतामाझ अभियान चलाए। बैंकमा पैसा राख्न पाउने तर निकाल्न नपाउने गरी खाता खोले। जब अस्पतालको जग सुरु हुन्छ तब मात्र पैसा निकाल्न मिल्ने गरी। 

‘त्यो बेला पहिलो चोटि हरेक विभाग, मन्त्रालयले सम्पूर्णले एक दिनको पैसा राख्ने अभियान चलेको थियो’, शाक्य सम्झिन्छन्, ‘३० देखि ३५ लाख संकलन भयो। तर, त्यो रकम अस्पताल बनाउन पर्याप्त थिएन।’ 

उनी एकदिन कास्कीको घान्दु्रकमा चौतारामा सुस्ताइरहेका थिए। स्याउला बोकेर आएकी युवती चौतारामै बसेर चुरोट पिउन थालिन्। ‘४–५ खिली चुरोट तानेपछि मैले ती युवतीलाई सोधें– दिनभरमा कति पिउनुहुन्छ ? उनले जवाफ दिइन्– १५ देखि २० खिली’, शाक्य सम्झिन्छिन्, ‘मैले सोचें, एक महिलाले यत्रो चुरोट पिउँछिन् भने नेपालमा कति खपत भएको होला ? ओहो ! चुरोटको एक खिल्लीमा एक पैसा अन्तःशुल्क लगाउने हो भने त्यसले क्यान्सर अस्पताल बनाउन सकिन्छ।’

त्यस बेला जनकपुर चुरोट कारखानाले दिनमा ५ करोड खिली चुरोट उत्पादन गर्दाे रहेछ। एक खिलीमा १ पैसा शुल्क लिँदा दिनमा कति उठ्छ ? वर्षमा १८ देखि २० करोड उठ्ने हिसाब उनले निकाले। त्यसपछि एउटा निचोडमा पुगे, ‘यति दामले अस्पताल बन्छ।’
उनले १ पैसामा क्यान्सर अस्पतालको योजना बनाएर गिरिजाप्रसाद कोइरालाको समय मागे। ‘उहाँले निवासमै आउनुस् भन्नुभयो। एकाबिहानै कोइराला निवास पुगेँ। उहाँले समय छैन, पाँच मिनेट टाइम दिन्छु भन्नुभयो’, शाक्य सम्झिन्छन्, ‘मैले मेरो निजी स्वार्थको विषय होइन, पाँच मिनेटमा कुरा नै सकिँदैन। त्यसो भए अर्को दिन आऊँला भनेँ। 

शाक्यको अडानपछि कोइराला कुरा गर्न तयार भए। कोइराला भने, ‘ल भन्नुस् के हो ? तपाईंलाई १५ मिनेट समय भयो।’ तब शाक्यले आफ्नो प्रस्ताव पढेर सुनाए। त्यो प्रस्ताव हस्तान्तरण नगर्दै कोइरालाले महेश आचार्यलाई फोन गरे। फोनको रिसिभर राख्दै उनले भने, ‘कर्णजी, ढुक्क भएर जानुस्।’ 
त्यही वर्षको बजेट भाषणको दिन थियो। शाक्यका छोराले मध्यराति अमेरिकाबाट फोनमा भने, ‘बुवा बधाई छ, तपाईंको सपना साकार हुने भयो।’ 

कोइरालाले बजेट भाषणमै प्रत्येक खिली चुरोटमा एक पैसा अन्तःशुल्क लगाउने कुरा राख्न लगाएछन्। जुन शुल्कबाट सन् १९९० मा भरतपुर क्यान्सर अस्पताल चितवनको स्थापना सुरुआत भयो। 

पछि कोइराला चीन भ्रमणमा जाने बेला शाक्यले अर्को अनुरोध गरे, ‘तपाईं चीन जाँदै हुनुहुन्छ। अस्पताललाई पैसा पुग्दैन।। चीन सरकारसँग उपकरण माग्नुपर्‍यो।’ कोइरालाले चीन गएर शाक्यले सुझाएअनुसारै गरे। सबै उपकरण चीनबाट आयो। शाक्यका अनुसार क्यान्सर अस्पताल दक्षिण एसियाकै एक सर्वोत्कृष्ट बन्न सक्थ्यो। तर, दलहरूले राजनीतीकरण गरेकाले त्यो हुन सकेन। मन्त्री आए। राजनीतिक आधारमा बाँडफाँट भयो। स्वास्थ्य क्षेत्रमै राजनीति भयो। 

नेपाल क्यान्सर सोसाइटीका पूर्वअध्यक्षसमेत रहेका शाक्यका अनुसार अहिले नेपालमै किमोथेरापी, हर्मनथेरापी, रेडियोथेरापीदेखि अप्रेसन हुन्छ। भन्छन्, ‘पहिलेजस्तो अवस्था छैन। बिरामी बाँच्न सक्ने अवस्था छ।’ तर, गाउँबाट अन्तिम अवस्थामा मात्र रोग थाहा पाएर उपचारमा आउने गरेकाले बाँच्न गाह्रो हुने गरेको उनको ठम्याइ छ। भन्छन्, ढिलो आउँछन्। डाक्टरले महँगो उपचार गरिदिन्छ। अन्तिम अवस्थामा आएका बिरामी त मर्छन् नै। औषधि उपचार गर्दा गर्दै जग्गा बेच्नुपर्दा परिवारको बेहाल हुन्छ।’ 

आफैं क्यान्सरपीडित 

शाक्य आफैं क्यान्सरका रोगी हुन्। १६ वर्षअघि स्वास्थ्य परीक्षण गर्दा डाक्टरले कागज थमाउँदै भनेको उनी स्मरण गर्छन्, ‘ब्याड न्युज फर यू। म केही सोच्न नसक्ने भएँ। दिमाग शून्य भयो। भगवान्सँग रिस उठ्यो। १७ वर्षकी छोरी र ३४ वर्षकी श्रीमती गुमाएर फेरि आफैंलाई क्यान्सर लागेर ठूलो बज्रपात भयो।’ 

डाक्टरले दिएको रिपोर्ट लिएर भगवान्लाई गाली गर्दागर्दै उनका छोरा सुशील अस्पतालभित्र आइपुगे। बुवाको हातमा कागजको टुक्रा देखेपछि सुशीलले सोधे, ‘के हो यो ?’ कागजमा रिपोर्ट दुई लाइन लेखिएको थियो। त्यो पढ्न छोरालाई पाँच मिनेट लाग्यो। ‘आँखा टिलपिल टिलपिल हुँदै आँसु चस्माको सिसाभरि फैलियो। एकाएक छोराको आँसुले मेरो रिस, डर सबै हरायो। रिपोर्ट हातमै बोकेर बाबु बाहिर निस्किए’, शाक्य सम्झना गर्छन्। 

आफू बलियो बनेर परिवारका लागि बाँच्नुपर्छ भन्ने सोच आयो। छोराले मन कमजोर बनाएपछि उनले मन बलियो बनाए। भन्छन्, ‘त्यससँगै क्यान्सरप्रतिको डर हरायो। भगवानप्रतिको रिस मेटियो।’ 

डाक्टरले उनको आयु ६ वर्ष तोकेका थिए। त्यो अवधिभन्दा करिब एक–डेढ दशक बढी भयो। शाक्य आफ्नो जीवनपायपनलाई सामान्य बनाउने कोसिसमा लागे। अहिले उनी क्यान्सरमुक्त भइसकेका छन्। आफूलाई क्यान्सर लागेको विषयमा पत्रिकामा लेखे। 

‘म लेखक होइन। साहित्यकार होइन। साहित्यकार, लेखकका किताबभन्दा मेरो किताब फरक छ। मेरो कितावमा भोगेको कुरा छ। म रुँदा पाठक रुन्छन् म हाँस्दा पाठक हाँस्छन्’, उनी भन्छन्, ‘म जब प्रश्न गर्छु तव उत्तर आउँछ। म जब गुनासो गर्छु तब विकल्प हुन्छ। म जब समस्या खोतल्छु समाधान हुन्छ। जहाँ समाधान हुँदैन त्यहाँ समस्याको के काम ?’ 

उनका अनुसार लेख्नका लागि मनमा घाउ हुनुपर्दो रहेछ। पीडा हुनुपर्दो रहेछ। भोगाइ हुनुपर्दो रहेछ। भन्छन्, ‘हो त्यही कुरालाई जिब्रोमा नचपाएर प्रस्ट्याउन सके त्यो जीवनोपयोगी साहित्य हुँदो रहेछ।’

उनले सन् २००६ मा ‘सोच’ किताब लेखे। ‘खोज’ लेखे। सोच खोज मोज जस्तै उनले अन्य अंग्रेजी गरी १५ वटा किताब लेखेका छन्। त्यसबीचमा उनले कलाकार सन्तोष पन्तसँग मिलेर ‘दोषी को’ भन्ने चलचित्र बनाए।

प्रकृति प्रेमी शाक्य 

मिसिगन युनिभर्सिटी अमेरिका, नेसनल युनिर्भसिटी अस्टेलिया र दिल्ली युनिभर्सिटी पढेका शाक्य बनविज्ञ हुन्। उनी प्रकृतिप्रेमी हुन्। उनले घर वरिपरि अनेक प्रकारका रूख रोपेका छन्। चराचुरुङ्गीको आवाज, रुखको छहारी उनलाइ निकै मन पर्छ। शाक्य भन्छन्, ‘मलाइ पेट भनेर पुग्दैन्। मन भरिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.