सुदूरपश्चिमका मुख्यमन्त्रीले विश्वासको मत लिने आज अन्तिम दिन, सकसमा रावल
बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए।
धनगढी : सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावललाई विश्वासको मत लिन सकस भएको छ। विश्वासको मतकै लागि प्रदेशसभा बैठक बुधबार बोलाइएको थियो। तर, नागरिक उन्मुक्ति पार्टी (नाउपा)का सांसद धनगढी नआएपछि बैठक बिहीबारलाई सारिएको छ।
‘मुख्यमन्त्रीज्यू अस्वस्थ हुनुभयो। त्यसकारण बुधबारको बैठक बिहीबार सार्न भनेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट पत्र आयो’, सभामुख भीमबहादुर भण्डारीले भने, ‘हामीले बिहीबार दिउँसो १ बजेका लागि संसद् बैठक सारेका छौं।’
बिहीबार विश्वासको मत लिनुपर्ने अन्तिम दिन हो। रावलले पुस २७ गते मुख्यमन्त्री पदको शपथ लिएका थिए। संवैधानिक व्यवस्थाअनुसार शपथ लिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। तर, गठबन्धन दल नाउपा बुधबारसम्म पनि अनिर्णीत छ। उक्त पार्टीका सातै सांसद यसबारे निर्णय लिन मंगलबार जेलमा रहेका संरक्षक रेशमलाल चौधरीसँग भेट गर्न काठमाडांैं गएका थिए। पार्टीभीत्रै शक्ति बाँडफाँटबारे कुरा नमिलेकाले निर्णय गर्न ढिलाइ भइरहेको स्रोत बताउँछ।
नाउपा अध्यक्ष रञ्जिता चौधरीले आफ्नोे बटमलाइन रेशम चौधरीको रिहाइ भएको बताइन्। ‘रेशम चौधरीको रिहाइको बाटो नखुल्दासम्म हामी सरकारमा सहभागी हुने पक्षमा छैनौं’, अध्यक्ष चौधरीले भनिन्। गठबन्धन दल भने उक्त पार्टीले अन्तिम समयमा आएर विश्वासको मत दिनेमा ढुक्क देखिएका छन।
माओवादी संसदीय दलका नेता खगराज भट्टले शीर्ष नेताहरूबीच नाउपाका माग र मुद्दाबारे छलफल भइरहेको बताए। ‘शीर्ष तहमा रेशम चौधरीको रिहाइ र नागरिक उन्मुक्तिको मागका बारेमा छलफल भइरहेकै कारण बुधबारको संसद् बैठक बिहीबार सारिएको हो’, मन्त्रीसमेत रहेका भट्टले भने, ‘गठबन्धन सरकार टीकापुर घटना राजनीतिक भएको र रेशमलाल चौधरीको रिहाइकै पक्षमा छ। तर, प्रक्रियाहरू चलिरहेका छन्।’
एमालेका प्रदेशसभा सदस्य सुरेन्द्र पाल नाउपाले बिहीबार विश्वासको मत दिने दाबी गर्छन्। ‘रेशम चौधरी जेलमुक्त गर्ने कार्य संघीय सरकारको हो। यो गठबन्धन संघबाटै बनेकाले शीर्ष नेताहरू छलफलमा छन्। बिहीबार हामी विश्वासको मत पाउँछौं’, पालले भने।
सत्ता गठबन्धनमा खटपटको फाइदा लिने दाउमा कांग्रेस देखिएको छ। कांग्रेसका प्रदेश सभापति तथा कैलाली ४ बाट प्रतिनिधिसभा सदस्य वीरबहादुर बलायरले सत्ता गठबन्धन छिट्टै भत्किने दाबी गरे। ‘नागरिक उन्मुक्तिले बिहीबार यो सरकारलाई विश्वसको मत दिँदैन। मैले रेशम चौधरीलाई आफंै गएर भेटेको छु। बिहीबार पछि मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ। हामीलाई एमाले बाहेक सबै दलहरूले समर्थन गर्छन्’, नेता बलायरले भने।
रावलले पुस २७ गते एमालेका १०, माओवादीका ११, नाउपाका ७ र राप्रपाका १ गरी २९ प्रदेशसभा सदस्यको हस्ताक्षरपछि मुख्यमन्त्रीको शपथ खाएका थिए। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा २७ मत बहुमत हो। तर, गठबन्धन दल नाउपा अनिर्णीत हुँदा बहुमत पुग्नेमा मुख्यमन्त्री देखिँदैनन्। केन्द्रको गठबन्धनमा सहभागी नाउपाका सांसदले मुख्यमन्त्रीका लागि पनि प्रदेश प्रमुखले तोकेको समय घर्किन २० मिनेटअघि मात्रै हस्ताक्षर गरेका थिए।
सभामुखमा पनि उक्त पार्टीकै कारण तीनपटक मतदान भएको थियो। उपसभामुख नाउपालाई छुट्याए पनि मनोनयन दर्ता नगरेपछि एमालेकी कोइलीदेवी चौधरीले अवसर पाएकी थिइन्।
विश्वासको मत लिन नसकेकै कारण प्रदेश सरकार विस्तार हुन सकेको छैन। मुख्यमन्त्रीले शपथ खाएका दिन मन्त्रीमा नियुक्त भट्ट र एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्माले मन्त्रालय पाएका छैनन्।