कर्णाली नदीमा अवैध उत्खनन
टीकापुर : कैलालीको पूर्वी क्षेत्र भएर बग्ने कर्णाली नदीका विभिन्न स्थानबाट स्थानीयले जथाभावी अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् गर्न थालेका छन्।
स्थानीय व्यवसायीहरूले कर्णाली नदीको पाताभार, मालझुल क्षेत्रबाट दैनिक ट्र्याक्टर, जेसीबी, स्काइभेटर, टिप्परको प्रयोग गरेर जथाभावी उत्खनन् गर्न थालेका हुन्।
स्थानीयका अनुसार आयोजनाका नाममा नदीमा जथाभावी जेसीबी, स्काइभेटरहरू प्रयोग गरेर अवैध रुपमा उत्खनन् हुँदा बर्सेनि कर्णाली नदीको बाढी बस्ती पस्ने गरेको छ।
चौधरीले भनिन्, ‘जहाँ जहाँबाट ढुंगा निकालिएको छ। अर्को पटक कर्णाली नदीले त्यही ठाउँबाट कटान गरेर बाढी बस्तीमा पस्छ।’
कर्णाली नदीको पाताभार, मालझुललगायतका क्षेत्रमा व्यवसायीहरूले जथाभावी रुपमा उत्खनन् गर्दै आएका हुन्। हिउँदमा जथाभावी उत्खनन गर्दा नै वर्षायाममा बाढी आउने गरेको छ। स्थानीय भोजराज भाटले कर्णाली नदीमा आउने बाढीले पूर्वी कैलाली असारदेखि कात्तिकसम्म ज्यादै त्रसित बन्दै आएकोमा ढुंगागिट्टी र बालुवाको अवैध उत्खननले समस्या झन् विकराल बन्दै गइरहेको बताए।
‘रानी, कुलरिया, जमरा सिँचाइ परियोजनाले लगाइदिएको कर्णाली नदी तटीय क्षेत्रको तटबन्धनका समेत ढुंगा खुल्लम–खुल्ला उखेलेर लगिरहेका छन्। यसमा प्रहरी, प्रशासन र आयोजना समेतको संलग्नता हुनसक्छ’, भाटले आशंका गरे, ‘आयोजनाले बनाएकै तटबन्धबाट ढुंगा झिकिएका छन्। यो समस्याबारे सबै चुप छन्। जसका कारण यो नदीले वर्षायाममा तटीय क्षेत्रको टीकापुरमा तहसनहस बनाउन सक्छ।’ बर्सेनि नदीबाट जथाभावी ढुंगा, बालुवा उठाउँदा नदीको सतह खस्किँदै गएर बाढी गाउँ पस्ने गरेको भाटले बताए।
कैलालीका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला प्रहरी कार्यालयसँगको समन्वयमा गाउँपालिकाले मंगलबार ती व्यवसायीका सवारी साधन नियन्त्रणमा लिएर अवैध उत्खननमा रोक लगाएको छ।
गाउँपालिकाले सूचना प्रकाशित गर्दासमेत आलटाल गर्दै आएका व्यवसायीहरूलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएर गाउँपालिकामा छलफल गरेको थियो। प्रहरीले कर्णाली नदीको पाताभार क्षेत्रबाट स्थानीय व्यवसायी जनकबहादुर शाही, रणबहादुर साउदलगायतका व्यवसायीहरूका सवारी साधन नियन्त्रणमा लिएर छलफल गरेको हो।
जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बर्सेनि बाढीबाट डुबान हुँदै आएको नदीको दक्षिणी क्षेत्रलाई असर गर्ने गरी अवैध रुपमा उत्खनन गर्दै आइरहेका व्यवसायीहरूसँग छलफल गरिएको बताए। ‘रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाले गर्ने तटबन्धका लागि नदीमा ट्र्याक्टर, जेसीबीलगायतका सवारी साधन हालेर उत्खनन् हुँदै आएको खबर पाएपछि हामीले जिल्ला विपद् व्यवस्थापन समितिलाई भनेका थियौं’, अध्यक्ष चौधरीले भने, ‘मंगलबार प्रहरीले ती व्यवसायीहरूलाई नियन्त्रणमा लिएर गाउँपालिकामा छलफल गरेका छौं।’
छलफलमा सहभागी व्यवसायीहरूले राष्ट्रिय गौरवको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाले गर्ने तटबन्धनका लागि ढुंगा निकालिएको जिकिर गरेका थिए। आयोजनाले निर्माण गर्ने तटबन्धनमा नदी क्षेत्रबाट ढुंगा संकलन गरेर तटबन्ध गर्ने प्रावधान राख्दै आएको छ।
‘गौरवको आयोजनाका लागि आवश्यक परिमाणमा निश्चित क्षेत्रबाट मात्र निकाल्न पाउने गरी सहमति गरेका छौं। अन्यले पाउँदैनन्’, अध्यक्ष चौधरीले प्रष्ट पारे, ‘निश्चित क्षेत्र तोक्नका लागि रानी जमरा, कुलरिया आयोजनाका प्रतिनिधि र गाउँपालिकाका प्राविधिकले तोक्नेछन्।’ अध्यक्ष चौधरीले विकास निर्माणमा मात्र नभई वातावरणीय असरलाई समेत ख्याल गर्न आग्रह गरेका छन्।
‘कर्णालीको तल्लो तटीय क्षेत्र हरेक वर्ष डुबानमा पर्छ। यसबाट बचाउने हो भने अवैध रुपमा ढुंगागिट्टीको चोरी निकासीलाई रोक्नुपर्छ’, अध्यक्ष चौधरीले भने, ‘हामी विकास विरोधी होइनौ। एउटा सिस्टमबाट निकासी गरौं। वातावरणीय असरलाई पनि ख्याल गरौं। यदि त्यो अनुसार भएन भने सुरक्षाकर्मीको सहयोगमा त्यस्ता सवारी साधनलाई नियन्त्रण गरेर कारबाही गर्ने नीति लिएका छौं।’