सुदूरपश्चिम सरकार जोगिने एमाले अध्यक्ष ओलीको दाबी
काठमाडौं : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशको सरकार जोगिने दाबी गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग वार्ता गर्न सिंहदरवार पुगेका उनले यस्तो दाबी गरेका हुन्।
ओलीले यस्तो दाबी गरे पनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेका छन्। 'अहिलेसम्म हामीसँग कुनै खालको छलफल भएको छैन। हामी रेशम चौधरीसहित टीकापुर घटनाका राजबन्दी रिहाइको अडान छाड्दैनौं,' नागरिक उन्मुक्तिको सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता रामेश्वर चौधरीले भने।
सुदूरपश्चिम प्रदेशमा एमालेका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बनेका छन्। उनले नागरिक उन्मुक्ति पार्टीका सात जना सांसदको समर्थनमा गत पुस २७ गते मुख्यमन्त्रीको सपथ लिएका थिए। तर विश्वासको मत दिनुअघि रेशम चौधरीको रिहाइ अनिवार्य शर्त राखेपछि सुदूरपश्चिम सरकार संकट नजिक पुगेको हो।
मुख्यमन्त्री रावलले आज जसरी पनि विश्वासको मत लिनुपर्ने छ। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने बताएपछि सदन सुरु नै नभई स्थगित भएको छ।