अन्ततः ढल्यो सुदूरपश्चिम प्रदेश सरकार, मुख्यमन्त्री रावल पदमुक्त
धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्विकृत भएको छ। बिहीबार प्रदेशसभा बैठकले रावलले पेस गरेको विश्वासको मत बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले जानकारी दिए। यससँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन्।
उनी नेकपा एमालेबाट मुख्यमन्त्री बनेका थिए। मुख्यमन्त्री भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान रहे पनि उनले अन्तिम दिनमा बसेको प्रदेशसभा बैठकबाट विश्वासको मत पाउन सकेनन्।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसदहरू बैठकमा अनुपस्थित भएपछि रावलले विश्वासको मत नपाएका हुन्। नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइ नभइसम्म विश्वासको मत नदिने अडान लिँदै आएको छ।
प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।