तरकारी बजार मूल्यको चक्र
नेपालमा उत्पादनले आन्तरिक मागको ३५ % धान्छ, मागको ६५ % तरकारी मूलतः भारतबाट ल्याउनुपर्ने अवस्था छ।
नेपालमा आधार मूल्य नभएको र बजारमा भारतीय तरकारीसमेत आउँदा आपूर्ति ज्यादा भएकाले मूल्य घट्न गएको हो।
हालसालै चितवनका किसानले तरकारी सडकमा फालेर विरोध प्रदर्शन गरेका छन्। यस्तै घटना सर्लाही, काभ्रे र धादिङमा पनि बेलाबेलामा हुने गर्छन्, खास गरेर हिउँदमा। यी सबै घटनामा एउटै कारण हुन्छ तरकारीले भाउ पाएन। भारतको सस्तो तरकारी नेपाल आएर हाम्रो तरकारी बिकेन। हाम्रो तरकारीको लागत पनि उठेन।
उत्पादन र खपत
एफएओका अनुसार एसियामा तरकारीको औसत खपत विगत २००९ देखि २०१९ सम्म १५ प्रतिशतले वृद्धि भई लगभग १८३ किलो प्रतिव्यक्ति प्रतिवर्ष पुगेको छ। यो वर्ष १९४ किलो प्रतिव्यक्ति प्रतिवर्ष पुगेको अनुमान गरिएको छ। सन् २०२१ मा भारतले ३४२.३३ मिलियन मेट्रिकटन तरकारी उत्पादन गर्यो। आफूलाई चाहिने १२५.३ मिलियन मेट्रिकटन तरकारीबाट बचेको २१७ मिलियन मेट्रिकटन निर्यात गर्यो। जुन जम्मा उत्पादन ६३.४ प्रतिशत हो।
सोही समयमा चीनले ६०२ मिलियन मेट्रिकटन तरकारी उत्पादन गर्यो। आफूलाई चाहिने ५५२ मिलियन मेट्रिकटन तरकारीबाट बचेको ५०.२ मिलियन मेट्रिकटन निर्यात गर्यो। जुन जम्मा उत्पादन ८.३ प्रतिशत हो। त्यसै समयमा समयमा नेपालले ४.१ मिलियन मेट्रिकटन तरकारी उत्पादन गर्यो। जुन आफूूलाई चाहिने ११.६ मिलियन मेट्रिकटन तरकारीमध्ये ७.५ मिलियन मेट्रिकटन कम हो। जुन जम्मा मागको ६४.७ प्रतिशत हो (तालिका १)।
माग र वितरण
तरकारीको तथ्यांक हेर्दा हाम्रोमा अजीवको अवस्था देखिन्छ। एकातिर स्वदेशी उत्पादन कम भएर ७.७ मिलियन मेट्रिकटन तरकारी अर्थात् जम्मा मागको लगभग ६५ प्रतिशत तरकारीको माग अपुग छ। उपभोक्ताहरूले उच्च मूल्यमा तरकारी खरिद गरिरहेका छन्। अर्कोतिर उत्पादकले चाहिँ बजार मूल्य नपाएर तरकारी सडकमा फालिरहेका छन्। यो अवस्थाको मूल कारण वितरण प्रणालीले राम्रोसँग काम नगर्नु हो। यो कुरा उत्पादन र खपतबीचको तथ्यांक हेर्दा प्रस्ट देखिन्छ। मूलरूपमा तरकारी नेपालमा मौसमी खेती हो। मौसमी खेतीको विशेषता भनेकै निश्चित समयमा मात्रै खेती सकिने हो। त्यो समयमा नेपालको एक भूगोलमा लगभग उस्तै जातिका तरकारी लगाइन्छन्। उत्पादन धेरै हुन्छ। उत्पादन धेरै हुनासाथ मूल्य घट्नु सामान्य नै हो। तरकारी सड्ने गल्ने वस्तु हो।
नेपालमा २०–५० प्रतिशतसम्म तरकारी उत्पादनपश्चात् भान्सामा नपुग्दै खान अयोग्य हुन्छन्न्। त्यसैले तरकारी उत्पादन हुनासाथ किसानले बेच्नु पर्छ। हिउँदमा वातावरणको तापक्रम कम हुँदा सिँचाइ वा पानीको धेरै आवश्यकता नपर्ने, भर्खर वर्षात् सकिएकाले वातावरणमा आद्रता कायमै रहने, रोग–किरा कम लाग्ने हुनाले पनि उत्पादन धेरै हुन जान्छ। नेपालमा मात्रै नभएर नेपालका छिमेकी भारतीय क्षेत्रमा पनि त्यही हुन्छ। तरकारी चिसो वस्तु हो, त्यसैले जाडोमा तरकारी कम खाँदा हुन्छ भन्ने मानिसको धारणाले पनि तरकारी खपत हिउँदमा घट्न जान्छ। त्यसैले आपूर्ति धेरै तर माग कम हुने हुनाले मूल्यमा गिरावट आउँछ। त्यसैले हामीले हिउँदमा मात्रै तरकारीले भाउ नपाएको वा सडकमा फालेको समाचार देख्छौं।
उत्पादन लागत र पोस्ट हार्भेस्ट क्षति
भारतको गोलभेंडा उत्पादन लागत नेपालको भन्दा लगभग ४.५ गुणा थोरै छ। त्यस्तै भारतमा उत्पादनपश्चात् भान्सामा पुग्ने बेलासम्म हुने क्षति (पोस्ट हार्भेस्ट क्षति) नेपालमा भन्दा ४ गुणा कम छ। लागत र क्षति दुवै कम हुँदा वस्तुको मूल्य सजिलै घटिहाल्छ। पोस्ट हार्भेस्ट क्षति कम गर्न प्याकेजिङ, ढुवानी र भण्डारणको उचित व्यवस्था गर्नु पर्छ (तालिका २)।
नेपालमा तरकारीले उत्पादनदेखि भान्सामा पुग्दा बजारका ३–६ वटा विविध चक्र पूरा गर्छ। हरेक चरणमा मूल्य बढ्छ। त्यसमाथि तरकारी ओसारपसार, प्याकेजिङ र भण्डारणको हरेक चरणमा बिग्रिन्छ। अनि उपभोक्तालाई हरेक चरणकै क्षतिहरूको मूल्य पनि थपिँदै जान्छ। त्यसैले तरकारीजस्ता सड्ने गल्ने वस्तुमा किसानले पाउने मूल्य उपभोक्ताको भन्दा तीन गुणासम्म फरक पर्नु सामान्य मानिन्छ। ओसारपसार, प्याकेजिङ, भण्डारण आदि राम्रो भयो भने तरकारीको मूल्य राम्रोसँग घटाउन सकिन्छ। भारतीयहरूको यसमा राम्रो अनुभव छ।
नेपालमा उत्पादित तरकारीले उचित मूल्य पाएन भन्ने उत्पादकहरूको गुनासो हुने गरेको छ। उचित मूल्य भनेको कति हो ? एउटा आधारमूल्य भएमा त्यसलाई मानेर कुन वस्तु न्यूनतम कति मूल्यमा बेच्नुपर्छ भन्ने निर्णय गर्न सजिलो हुन्छ। नेपालमा त्यस्तो कुनै आधार मूल्य नभएको र बजारमा भारतीय तरकारीसमेत आउँदा आपूर्ति ज्यादा भएकाले मूल्य घट्न गएको हो। भारतीय तरकारी ढुवानी खर्च र करसमेत तिरेर नेपाल आउँदा पनि नेपालको भन्दा सस्तो हुनु भनेको नेपालमा उत्पादन लागत बढी हुनु र पोस्ट हार्भेस्ट क्षति धेरै हुनु हो। त्यसबाहेक उत्पादकत्व कम हुनु, उत्पादक वा बिचौलियाले धेरै नाफा राख्नु पनि हो। सारमा हाम्रो उत्पादन प्रक्रिया र बजारीकरणमा कुनै न कुनै समस्या छ।
हिउँदमा रोग किरा कम लाग्ने, सिँचाइको धेरै समस्या नहुने, तरकारीको बिउ थोरै मात्राले पनि पुग्ने हुनाले मलको मूल्य, कामदारको ज्याला वा विषादीको मूल्यले तरकारीको मूल्य बढेको मान्नु पर्छ। अनुदान प्राप्त मल भारतमा नेपालमा भन्दा अलिकति कम मूल्यमा पाइन्छ। विषादीको थोक मूल्य दुवैतिर लगभग उस्तै नै छ। कामदारको ज्याला पनि भारत र नेपालमा त्यति धेरै फरक छैन। भारतमा ठूलो क्षेत्रमा एकै जातिको तरकारी खेती गर्ने हुँदा समग्र उत्पादन लागत कम भएको हो। नेपालमा भने स–साना फार्महरूमा खेती गरिने हुँदा लागत बढ्न जान्छ।
भारतको तरकारी ल्याउने कि बन्द गर्ने ?
नेपालमा आफ्नो उत्पादनले आन्तरिक मागको ३५ प्रतिशत मात्रै धान्न सक्छ, मागको ६५ प्रतिशत तरकारी मूलतः भारतबाट ल्याउनुपर्ने अवस्था छ। त्यसैले नेपालका बजारमा तरकारीको भाउ कहिले पनि सस्तो हुँदैन। चीनबाट प्याज र लसुन भने आउने गरेको छ। भारतको सस्तो तरकारी आउँदा त नेपालमा तरकारीको मूल्य यस्तो छ भने भारतीय तरकारी आउन बन्द भयो भने बजार मूल्य कता पुग्छ होला ? त्यसैले यता धेरै उत्पादन हुँदा उता जानु र यता आवश्यक परेमा उताबाट ल्याउनु बजारको सिद्धान्तअनुसार सामान्य हो। त्यसमाथि हामीले बजारीकरणका विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा प्रतिबद्धता जनाइसकेका कारण पनि हामीले भारतीय उत्पादन रोक्न मिल्दैन।
उत्पादन धेरै हुँदा के गर्ने ?
नेपालमा हरेक वर्ष हिउँदमा तरकारी धेरै उत्पादन जान्छ। यस्तो अवस्थामा कृषि मन्त्रालय र स्वास्थ्य मन्त्रालयले संयुक्त रूपमा फलफूल÷तरकारी चिसा खानेकुरा होइनन्, बरु यिनले शरीरलाई थप तागत दिन्छन् र शरीर झन् स्वस्थ्य बनाउँछन् भन्ने ज्ञानलाई स्थापित गर्ने हो भने तरकारी हिउँदमा पनि धेरै मात्रामा तरकारी खपत हुनसक्छ। हिउँदमा भारतबाट गोलभेंडा, बन्दा, मुला, गाँजरजस्ता केही दिनसम्म भण्डारण र ढुवानी गर्न सकिने तरकारी आउँछन्। त्यसैले नेपाली किसानले मूल मौसमभन्दा अगाडि वा पछाडि तयार हुने तरकारी लगाउनु पर्छ। त्यस्ता तरकारीको बिउ बजारमा सजिलै पाइन्छ।
मूल मौसमको समय चाहिँ बढी मूल्य आउने अन्य बाली जस्तै खुर्सानी, धनियाँ, मटरकोसा, लसुन, हरिया साग आदिको खेती गर्नुपर्छ। त्यसबाहेक जनतामा ताइवान, जापान, कोरिया र चीनमा जस्तै आफ्नो देशको उत्पादन खपत गर्दा स्वदेशी किसानको भलो हुन्छ भन्ने कुरा स्थापित गराउनु पर्छ। यो व्यवसायीहरूले सामाजिक दायित्व प्रदर्शन गरेको खण्डमा मात्रै जनताले पत्याउँछन् होइन। व्यापारीको नाफाका लागि जनताले आफ्नो खर्च बढाउने बलिदानी गर्दैन। तरकारीहरूको प्रयोग गर्ने तरिकामा विविधता ल्याउन सके पनि खपत बढ्न जान्छ। उदाहरणका लागि चेरी गोलभेंडा फलको रूपमा पूर्वी एसिया, युरोप, अमेरिकामा एकदमै चर्चित छ। तरकारीवाला गोलभेंडा भारतबाट आओस्, फलवाला चेरी गोलभेंडा हामीले उत्पादन गरौं। तरकारीवाला बन्दा भारतले सस्तोमा बेचोस्, हामीले सलादवाला बन्दा बजारमा लैजाऔं।
ताइवानमा बेमौसममा इजरायल र मध्य-दक्षिण अमेरिकाबाट गोलभेंडा आउँछन्, अमेरिकाबाट साना ठूला बट्टामा प्याक गरिएका सिंगो वा टुक्रा पारिएका गोलभेंडा आउँछन्। हामी पनि त्यसरी नै बेमौसमको बजार खोज्न सक्छौं। ताइवानमा कुनै मौसमी फलफूल वा तरकारी धेरै फल्यो र बजार भाउ एकदम तल झर्यो। सरकारले सेना, पुलिस, सरकारी, निजी वा गैरसरकारी संघसस्था, कार्यालय उद्योग, स्कुल, कलेज, विश्वविद्यालयहरूलाई मौसमी उत्पादन खपत गर्न आह्वान गर्छ। ती संघसंस्थाहरूले दुई–तीन पटक मात्रै किनिदिए भने बजारमा ती वस्तुको मूल्य सामान्य भएर आउँछ। त्यस्तै निजी वा सरकारीस्तरबाट अन्तर्राष्ट्रिय स्तरका खाद्य प्रयोगशालाहरू स्थापना गरी अमेरिका, युरोप र जापानले स्वीकार गर्ने मापदण्ड पूरा गर्न सके तरकारी मात्रै नभएर धेरै फलफूल र कृषिजन्य उत्पादन निर्यात गर्न सकिन्छ।
तरकारी खेती : व्यवसाय र सामाजिक दायित्व
चितवन, धादिङ, मकवानपुर, काभ्रेलगायतका धेरै जिल्लामा तरकारी खेती कृषि व्यवसाय बनिसकेको छ। व्यावसायिक काममा नाफा, घाटा, लगानी, ऋण, कर आदि विविध कुरा हुन्छन्। नाफा हुँदा व्यवसायीहरूले कर तिर्नु र नोक्सान हुँदा राज्यले जायज क्षतिपूर्ति दिनु व्यवसायमा सामान्य कुरा हो। हाम्रोमा हिउँदमा तरकारी साह्रै सस्तो भयो भनेर सडकमा फालेको देखिन्छ। वर्षा वा त्यो अगाडि र पछाडि अनि चाडपर्वको समयमा तरकारी महँगो हुँदा व्यवसायीहरूले उपभोक्ताको हितमा कि राहतको काम गरेको कहिले सुनिएको छैन।
नाफामूलक काम-व्यवसाय गर्नेको आफ्नो सामाजिक दायित्व पनि हुन्छ भन्ने मनन् गरेमा त्यस्तो अवश्य हुने थियो। आफ्नो नोक्सान हुँदा बेसरी कराउनेले जनता मह“गी पर्दा राहतका केही कदम नउठाउँदा तरकारी फाल्ने काम पनि थप नाफा कमाउनको लागि गरिने एक स्टन्ट हो भन्ने मानिसले बुझ्छन्। अन्तमा, तरकारी उत्पादनदेखि उपभोक्ताहरूका भान्सामा पुग्ने बजारीकरणका सबै प्रणालीहरूलाई यथोचित परिमार्जन र विकास नगरेसम्म मौसमी तरकारी सडकमा फालेका समाचार बर्सेनि आइनै रहने छन्।
काफ्ले नेसनल पिङतुङ युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी, ताइवानका एसोसिएट प्रोफेसर हुन्।