सुरक्षित छैनन्, बालगृह
काठमाडौं : सिन्धुपाल्चोककी हिमा लामा (नाम परिवर्तन) ४ वर्ष नपुग्दै काठमाडौंको बालगृहमा पुगिन्। उनी ३ वर्ष नपुग्दै उनको आमाको मृत्यु भयो। सहरमा बसेका उनका काकाले उनको हेरचाह हुन्छ। राम्रो पढाइ हुन्छ भन्ने बहानामा ४ वर्षे नाबालिकालाई बालगृह पुर्याए। बालगृहमा उनले बस्न र खाना खान त पाइन्। बदलामा धेरै चिज गुमाइन्। बाबुआमाको माया गुमाइन्। म छु है भनेर भरोसा दिने साथ र हात गुमाइन्।
हिमा भन्छिन्, ‘परिवारले भव्य देखेर पठाएको बालगृहले मलाई सहज तरिकाले हुर्काएन। बालगृहमा बस्छन् भनेपछि पढ्ने स्कुलमा समेत साथीहरू बन्दैनथे। खान लाउने पैसा नभएर बालगृह बसेको होला भन्दै हेपेर व्यवहार गर्थे। मुस्किलले २ छाक खाना खाएर हुर्किएकी हुँ म।’
शिक्षकहरूले समेत समान व्यवहार नगर्ने अनुभव सुनाउँदै हिमाले जतिसुकै सुविधासम्पन्न बालगृह किन नहोस् बालमैत्री नहुने बताइन्। ‘हाम्रो त कहिल्यै पनि साथी नै नहुने। केही राम्रो काम गर्दा सुनिदिने कोही नहुने। दुःख पर्दा साहारा नहुने। बिस्कुट र चिया खाएर बालगृहमा हुर्कनु भन्दा बासीभात र पीठो खाएर घरमा हुर्कनु धेरै राम्रो हुन्छ,’ उनी भन्छिन्, ‘बाल्यकाल नै हराउँछ बालगृहमा। चाडपर्व आउँदा टुलुटुलु हेरेर रुनुपर्छ। सधै एउटै दैनीकी अनि परिवेश। निकै विरक्तलाग्दो हुन्छ, बालगृहको बसाइ। बिरामी हुँदा उपचार पाइँदैन।’ उपचार नपाएरै उनीसँगै बस्ने एक जना दिदी बिरामी हुँदा बितिएको उनले सुनाइन्।
यस्तै, जुम्लाका महेन्द्र शाही (नाम परिवर्तन) जनयुद्धको समयमा राजधानीको बालगृह पसे। गाउँका बच्चाहरू माओवादीमा लाग्ने र युद्धमा सहभागी हुने समय थियो, त्यो। युद्धबाट बचाउन महेन्द्रको आमाले उनलाई अनाथ बनाएर बालगृह पठाइन्। अनि सुरु भयो महेन्द्रको दुःखदायी जीवन। हेर्दा सबै राम्रो थियो। तर, सहज थिएन बालगृहको बसाइ।
विस्तारै उनमा मानसिक समस्यासँगै कहिले चिच्चाउने त कहिले निरासा उत्पन्न हुने हुन थाल्यो। आफन्तसँग टाँढिदा निकै समस्या हुने बताउँछन् शाही। बालगृहमा बस्ने अधिकांश व्यक्तिमा मानसिक समस्या देखिने उनले बताए। कति साथीलाई त शोषणसमेत हुन्थ्यो। केयर गर्ने मानिस नै नहुने। कडा नियममा बस्नुपर्ने। आफूखुसी गर्न कहिल्यै नपाइने। पेटभरी खानसमेत पाइन्नथ्यो।
बाबुआमा नभएका तथा आर्थिक रूपमा विपन्न भएका बालबालिकाको संरक्षण गर्न भन्दै खुलेका बालगृह बालमैत्री नभएको पछिल्ला केही घटनाले बताउँछन्। बालगृहमा आश्रित बालबालिकालाई कहिले धर्मप्रचार गर्न बाध्य पारिएको त कहिले विदेशी फन्ड तान्न गलत प्रयोग गर्ने गरेको घटना बेलाबखत सार्वजनिक भइरहन्छ।
नेपालमा बालबालिका स्थिति प्रतिवेदन २०७७ अनुसार नेपालभर ११ हजार ३५० बालबालिका संस्थागत स्याहार ‘बालगृह’ मा आश्रित छन्। जसमा ५ हजार १९४ जना बालक छन् भने ६ हजार १५६ जना बालिका छन्। नेपालभर ४५ जिल्लामा ४ सय ८९ बालगृह सञ्चालनमा छन्। औसतमा एउटा बालगृहमा २३ जना बालबालिका आश्रित छन्। यसमध्ये बाग्मती प्रदेशमा मात्रै ३ सय ६२ वटा बालगृह सञ्चालनमा छन्। जसमा ८ हजार ३३६ जना बालबालिका आश्रित छन्। युनिसेफको प्रतिवेदनअनुसार संसारभर २७ लाख बालबालिका संस्थागत स्याहारमा हुर्किरहेका छन्।
बालबालिकाका लागी काम गर्दै आएको संस्था हिमाली नवीन समाजले अव्यवस्थित रूपमा बालगृहमा बस्दै आएका बालबालिकालाई पुनःस्थापनाका लागि सहयोग गर्दै आएको छ। बालअधिकारको संरक्षण गर्न बालबालिकालाई परिवारमा पुनस्र्थापना गर्न जरुरी छ। समाजका कार्यकारी निर्देशक डीबी लामा बालबालिकालाई परिवारमै हुर्काउन जरुरी हुने बताए। उनी भन्छन्, ‘बालबालिकालाई संस्थागत स्याहारमा पठाउँदा ३ महिना बराबर १ महिनमा शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासमा ह्रास आउँछ।
अन्तर्राष्ट्रिय बाल संरक्षण संस्था सेभ द चिल्डे«नको सर्वेक्षणअनुसार संस्थागत स्याहारमा भएका बालबालिकामध्ये ८० प्रतिशत बालबालिकाको एक वा दुवै परिवार जीवित रहेको पाइएको थियो।
उनी भन्छन्, ‘असल नागरिक तयार गर्ने बहानामा अरुको प्रलोभनमा परेर परिवारदेखि टाढा पठाउँदा उनीहरूको जीवनमा जटिल समस्या निम्तिन सक्छ। बच्चाहरूलाई बालगृह पठाउनुभन्दा उनीहरूको परिवारलाई नै सहयोग गर्न उपयुक्त हुन्छ।’
त्यस्तै, काउन्सिल साइकोलोजिस्ट तथा लेक्चरर प्रज्ज्वल जोशीका अनुसार बच्चाहरूको बालगृहको बसाइ निकै ‘हामफल’ हुन्छ। उनीहरू धेरै नै रिक्स जोनमा छन्। मानसिक समस्यामा पर्छन्। उनीहरूलाई समाजमा घुलमिल गर्न गाह्रो हुने, असुरक्षित अनुभव गर्ने, जिम्मेवार नहुने, समस्या समाधान गर्न शक्ति नहुने, डिप्रेसनको सिकारलगायतका समस्या देखिने हुन्छ।