स्थानीय सरकारको जनमुखी काम, गाउँमै पुगेर भत्ता वितरण
जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–४ लहँकी ९१ वर्षीया हीरा रावललाई सामाजिक सुरक्षा भत्ताका लागि चार घण्टाको पैदल यात्रा गरेर नगरपालिकाको प्रशासनीक केन्द्र दल्ली जानुपर्ने बाध्यता थियो। भत्ता लिन जाँदा छोरालाई गुहार्थिन्। आमालाई बोकेर हिँड्नु पर्दा छोराहरूलाई पनि निकै सास्ती हुन्थ्यो। घर आँगनमै सामाजिक सुरक्षा भत्ता पाउँदा खुसी भएकी छन्। भत्ता लिन जाँदाका दुःखको उनले अनुभव सुनाइन्, ‘दल्ली पुगेर बैंकमा पनि लाइन बस्नुपथ्र्यो। भत्ता ल्याउन निकै सास्ती हुन्थ्यो। घर आँगनमै भत्ता पाउँदा निकै खुसी लागेको छ।’
सोही ठाउँका ८१ वर्षीय कर्णबहादुर रावल पनि गाउँमै भत्ता पाउँदा खुसी छन्। ‘नगरपालिकाको केन्द्र दल्ली जान निकै सास्ती हुन्थ्यो। गाउँमै नगद भत्ता पाएपछि सजिलो भएको छ,’ उनले भने ‘वृद्धभत्ता हाम्रो जीवनको साहारा भएको छ। यसले हाम्रो खर्च टर्छ, कसैसँग हात थाप्नु पदैन।’
हिरा र कर्ण जस्तै गाउँमै भत्ता पाएका धेरै ज्येष्ठ नागरिक र शारीरिक अशक्तता भएका व्यक्तिहरू गाउँघरमै भत्ता पाउँदा निकै राहात भएको बताउँछन्। ज्येष्ठ तथा अशक्तता भएका नागरिकको समस्यालाई मध्यनजर गर्दै वडाको पहलमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता गाउँमै वितरण गर्ने व्यवस्था मिलाएको हो। गाउँ–गाउँमा भत्ता वितरण भएपछि बैंकको लाइन बस्नुपर्ने, बाटोमा सास्ती खेप्नुपर्ने बाध्यता अन्त्य भएको ८८ वर्षिय गोपाल रावलले बताए।
वडाका गाउँबाट प्रशासनिक केन्द्रमा जान घण्टांै लाग्ने र सुरक्षा बापतको भत्ता बाटोमै सकिने भएकोले गाउँगाउँमा पुगी भत्ता वितरण गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले बताए। ‘नगरपालिकाभित्रका ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकहरूलाई गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छौं,’ उनले भने। सबै ठाउँमा यातायातको सहज पहुँच नहुँदा नागरिकले धेरै सास्ती व्यहोर्नु पर्ने भएकोले पायक पर्ने ठाउँमा गई भत्ता वितरण भइरहेको गिरीले बताए। ‘बैंकबाट रकम भुक्तानी गर्ने कुरा पारदर्शिता र आर्थिक सुशासनका हिसाबले धेरै उपयुक्त छ तर भत्ताको रकम टाढा–टाढाबाट बैंकमा आएर लिन सकस छ। प्रभावकारी छैन,’ उनले भने।
सरकारको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत विभिन्न प्रकारका सामाजिक सुरक्षा भत्ता तोकिएका लाभग्राहीले बैंक खाता मार्फत पाउनुपर्ने व्यवस्था गरिएको छ तर ज्येष्ठ तथा शारिरीक रुपमा अशक्तको अप्ठारोलाई मध्येनजर गर्दै बैंकसँग समन्वय गरेर गाउँमै भत्ता वितरण गरिएको नगर प्रमुख डम्बरबहादुर रावतले बताए। जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी र बैंक कर्मचारी समेत गाउँगाउँमा पुगी सबै ठाउँमा नगद भत्ता वितरण गरेका छन्। अब नगरका दुई स्थानमा भत्ता वितरण गर्न बाँकी रहेको नगर प्रमुख रावतले बताए।
नलगाडमा चालू आर्थिक वर्षमा १ हजार १ सय ७३ अन्य जेष्ठ नागरिक, दुई सय ७६ दलित ज्येष्ठ नागरिक, १ सय ५४ एकल महिला ज्येष्ठ नागरिक भत्ता वितरण भएको छ। यस्तै ३ सय ६५ विधवा आर्थिक सहायता, ६७ क वर्गका अपांग, १ सय ८६ ख वर्गका अपांग, २ हजार २ सय ४२ क्षेत्र तोकिएका बालबालिका र १ हजार १ सय ८ जना दलित बालबालिकालाई सामाजिक सुरक्षा तथा बालपोषण भत्ता वितरण भइरहेको नगरपालिकाले जनाएको छ।