ट्रमा सेन्टरमा कार्यरत चिकित्सकमाथि प्रहरीको दुर्व्यवहार
काठमाडौं : ट्रमा सेन्टरमा कार्यरत एक चिकित्सकमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारी संसद्मा सम्बोधन गर्न जाने क्रममा ड्युटीमा रहेका प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डा. जेनिथ सिंहमाथि हातपात गरेका हुन्।
अर्थोपेडिक तथा अंकोसर्जन डा. जेनिथमाथि प्रहरीले दुर्व्यवहार गरेको खबर पाएको ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले जानकारी दिए।
प्रहरीले उनलाई वीर अस्पताल अगाडि कुटपिट गरेको हो। ट्रमा सेन्टरमा कार्यरत एक कर्मचारी पनि त्यसको पुष्टि गर्दै अस्पताल आउने क्रममा डा. जेनिथलाई कुटपिट गरेको बताए।
'डा. जेनिथ सिंह अस्पताल आउँदै हुनुहुन्थ्यो। राष्ट्रपतिको सवारी हुँदा नहिँड्नु भनेर प्रहरीले लठ्ठीले हानेका थिए। आइडी कार्ड देखाउँदा पनि प्रहरीले कुटपिट गरेको हो,' ती कर्मचारीले अन्नपूर्णसँग भने।