चार वामपन्थी पार्टीको संयुक्त अपील, किन गर्दैछन् पार्टी एकता?
काठमाडौं : वामपन्थी चार पार्टीले एकताका लागि छलफल चलाउने निर्णय गरेका छन्। नेकपा पार्टीका महासचिव विप्लव, नेकपा अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव आहुति र नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी (सुशील) सम्मलित बैठकले यस्तो निर्णय गरेको हो।
देशको वर्तमान राजनीतिक अवस्था चरम संकटमा र गम्भीर अवस्थामा रहेको त्यससंग लड्न एक भएर अघि बढ्ने निष्कर्षमा उनीहरू पुगेका छन्। ‘नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र देशको संकटपूर्ण अवस्थालाई दृष्टिगत गरी चार पार्टीको बीचमा पार्टी एकता एवं क्रान्तिकारी ध्रुवीकरणको निम्ति समय निर्धारण गरी बहस, छलफल आरम्भ गर्ने र संयुक्त मोर्चालाई थप व्यवस्थित गर्ने निर्णय लिइएको छ,' चारवटै पार्टीका नेताहरुद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गरी सार्वजनिक गर्न आगामी फागुण १५ गते चार पार्टीको बैठक बस्ने निर्णय गरेको छ।’