द्वारेगौंडा अर्थात् दारेगौंडा

द्वारेगौंडा अर्थात् दारेगौंडा

काठमाडौं उपत्यकाको पानी मञ्जुश्रीले काटेर बाहिर पठाए। र सोही स्थानमा उनले बस्ती बसाएको इतिहास छ। त्यसअघि पनि यस क्षेत्रमा बस्ती थियो भन्ने प्रमाण भेटिएको ठाउँ दारेगौंडा।
 

ललितपुरको महालक्ष्मी र गोदावारी नगरपालिकाको संगमस्थल दारेगौंडा। दुईवटा धार्मिक र ऐतिहासिक महत्त्व बोकेका क्षेत्रलाई जोड्ने नाका हो यो। १२ वर्षे सिंहअस्त मेला लाग्ने गोदावरी र श्रृङ्ग ऋषिको आश्रम, गौभराटेश्वर र महालक्ष्मीजस्ता धार्मिक तथा ऐतिहासिक महत्त्व रहेको महालक्ष्मी नगरपालिकालाई जोड्ने नाका दारेगौंडा। दुवै धार्मिक महत्त्व बोकेका क्षेत्रको प्रवेशद्वारको रूपमा यसलाई द्वारेगौंडा भन्ने गरिएको थियो। अपभ्रंश हुँदै पछि दारेगौंडामा परिणत भएको स्थानीयको बुझाइ छ।

काठमाडौं उपत्यकाको पानी मञ्जुश्रीले काटेर बाहिर पठाए। र सोही स्थानमा उनले बस्ती बसाएको इतिहास छ। त्यसअघि पनि यस क्षेत्रमा बस्ती थियो भन्ने प्रमाण भेटिएको ठाउँ हो यो। यस क्षेत्रमा पूरा पाषाण कालको अवशेष भएकाले यसको अनुसन्धान गर्नुपर्ने स्थानीय नागरिक बताउँछन्। प्राचीन ढुंगे डोली, ढुंगे सोलीलगायत सामग्री र अभूतपूर्व ढुंगे संरचनाहरू भएकाले यस क्षेत्रको अध्ययन अनुसन्धान गर्न आवश्यक रहेको स्थानीयवासी  बताउँछन्। ढुंगे युगको हतियार फेला परेको स्थान, प्रागैतिहासिक र पौराणिक कालमा भगवती पार्वतीले ६४ लिंग यात्रा गर्दा प्रयोग भएको गौश्रृङ्ग तीर्थ भएको साथै एक सिङ भएका श्रृङ्ग ऋषिले तपस्या गरेको स्थान मानिन्छ यो।

ऐतिहासिक, पर्यटकीय तथा धार्मिकमात्र नभई प्राकृतिक सौन्दर्यले आकर्षक यो क्षेत्रको प्रचार र संरक्षणका लागि सरकार र स्थानीयले जोड नदिएका कारण ओझेलमा छ। गोदावरी र श्रृङ्ग क्षेत्रको महत्त्वका बारेमा नेपाल महात्म्यलगायत धेरै शास्त्रहरूमा वर्णन गरिएको छ। यी दुवै पवित्र क्षेत्रको प्रवेशद्वार द्वारेगौंडाबाट प्रवेश गर्ने व्यक्ति सजिलै स्वर्गको द्वारबाट छिर्न पाउँछ भन्ने जनविश्वास रहेको जिल्ला विकास समिति, ललितपुरका पूर्वसभापति माधव पौडेल बताउँछन्। धार्मिक मात्रै नभएर यस क्षेत्रमा रहेको पूरापाषाण कालको अवशेष, औजार, ढुंगाका धेरै वस्तु र संरचना देख्न सकिन्छ।

प्राकृतिकरूपमा नै ढुंगाहरूबाट बनेको २० मिटरभन्दा लामो ढोकालाई द्वारको रूपमा लिएको पाइन्छ। यो एउटा पुराना राजाको किल्लाकै रूपमा रहेको छ। जुन आभास यहाँका ढुंगाका संरचनाहरूबाट पनि मिल्छ। ललितपुरको लुभुबाट लामाटार हुँदै चार किलोमिटरको दूरीमै उक्त स्थान पुग्न सकिन्छ। गोदावरी नगरपालिकाको विशंखुनारायण हँुदै चार किलोमिटरको दूरीमा त्यहाँ पुग्न सकिन्छ। यहाँबाट उपत्यकाको पूरै दृष्यावलोकन गर्न सकिन्छ।

स्थानीयमा चलेको किंवदन्तीअनुसार विशंखुनारायण भगवान्की छोरी ज्वालादेवीको विवाहका लागि जन्ती आएका थिए। ती जन्तीहरू त्यहीँ शिलाको रूपमा बसेको जनविश्वासका साथ पूजा गर्ने गरिन्छ। छाता, हात्ती, डोलीको आकारका शिलाहरू त्यहाँ देख्न पाइन्छ। डोलीजस्तो देखिने ढुंगोलाई विशंखुनारायणमा जान लागेको जन्तीको डोली भनेर धार्मिकरूपमा पुज्ने गरिन्छ। प्राचीन कालको राजाको बासस्थान रहेको भन्दै महालक्ष्मी नगरपालिका शंखादेवी निवासी ८६ वर्षीया धनकुमारी आचार्य यो क्षेत्रको ऐतिहासिक महत्त्व बताउँछिन्। उनी कामधेनु गाईसँग जोडिएका गौतम ऋषि, गोदावरी, गोश्रृंग तीर्थ, गोमती, गोचण्डेश्वरी, गोभराटेश्वर आदि ‘गो’बाट आउने धेरै देवदेवीका स्थानहरू यो क्षेत्रमा छन्। यी र गोपाल वंशदेखि नै यो क्षेत्रको महत्त्व विशेष भएको विषयलाई पुरानो भाकामा गाउँछिन् वृद्धा आचार्य।

यी सबै तीर्थस्थलहरू द्वारेगौंडासँग कुनै न कुनै रूपमा जोडिएको आचार्यको भनाइ छ। उनका अनुसार, शंखादेवी, ज्वालादेवी, महालक्ष्मी र लुभु राज्यको बारेमा चल्दै आएका श्रुतिहरूलाई दस्तावेजीकरण गर्नुपर्ने भए पनि उक्त कार्य भएको छैन। दारेगौंडामा भीमेश्वर महादेव वैभव धाम थियो। यसको पुनर्निर्माणका लागि भनेर २०७६ फागुनमा शिव महापुराण पनि लगाइएको तर कारणवश काम अघि नबढेको दारेगौंडा ​​​​​​पात्लेछापका बलराम गिरी बताउँछन्। स्थानीय सरकारको पहलमा आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य स्थल बनाउन पक्की सिँढी निर्माण र सडक निर्माणको कामहरू भइरहेको छ।

ऐतिहासिकता र महत्त्व हेर्दै जाँदा उपत्यकामा पहिलोपटक शासन गर्ने गोपाल वंशको वंशावलीअनुसार प्राचीन चिन्तक गौतम ऋषि गोपाल वंशभन्दा पहिले उपत्यकामा आएको उल्लेख छ। गौतम वंशावलीअनुसार, इशापूर्व सातौं शताब्दीको हाराहारीमा गौतम ऋषि बाहिरबाट उपत्यकाको हालको दारेगौंडा र गोदावरी क्षेत्रमा आई आश्रम खोलेर बसेका थिए। लिच्छवीकालीन बलम्बु शिलालेखअनुसार हालको गोदावरी इलाकामा उनको आश्रम थियो। अहिले पनि उनको आश्रमको अवशेष (सानो कुटी) छ।

दारेगौंडाबाट एक किलोमिटर  दूरीमा रहेको श्रृङ्ग ऋषि आश्रम नेपालमा मात्रै नभई भारतसम्म प्रसिद्ध छ। रामका पिता दशरथको पुत्रेष्टी यज्ञ सम्पन्न गराएर रामसहित चार छोरा पाउन सफल बनाउने ऋषि हुन्, नेपालका श्रृङ्ग ऋषि। जसलाई लिन अयोध्याबाट ललितपुरको सिस्नेरीमा अयोध्याका प्रतिनिधि वशिष्ठ ऋषि आएको कुरा रामायण र विभिन्न ग्रन्थमा उल्लेख छ। श्रृङ्ग ऋषि आश्रम र श्रृङ्ग ऋषि गुफामात्र होइन, यो क्षेत्रबाट बग्ने नदी श्रृङ्गमति नामले पुराणहरूमा वर्णित छ। जुन बग्दै तल पुगेपछि गोमति नदी बन्छ। उक्त नदी मिसिने दोभानमा गोश्रृङ्गी तीर्थ छ। त्यसभन्दा तल गोदावरी नदीमा मिसिने ठाउँसम्म विभिन्न तीर्थ छन्।

श्रृङ्गी ऋषिका कारण स्थापना गराइएको लुभुको गोभराटेश्वर महादेव मन्दिर क्षेत्रमा रहेको शिलालेखहरूमा श्रृङ्गी ऋषि र गोभराटेश्वर महादेवको सम्बन्ध पाइन्छ। श्रृङ्गी ऋषिले त्रेतायुगमा आश्रम बनाई बसेको यो क्षेत्रको सम्बन्ध उनले र पछिका ऋषिमुनिहरूले पनि गोदावरी, पनौतीजस्ता प्रसिद्ध तिर्थस्थलसँग कामधेनु गाईमार्फत जोडेको पाइन्छ। श्रृङ्गी ऋषिको आश्रमसँगै रहेको गुफाबाट गोदावरी पुग्न सकिन्छ भन्ने जनश्रुति चल्दै आएको छ। स्कन्द पुराणको हिमवत्खण्डको नेपाल महात्म्यमा गोदावरी, गोश्रृङ्ग तीर्थ र गोभराटेश्वरका बारेमा वर्णन छ। सँगै दारेगौंडामा रहेका आकाश भैरव, हनुमान महादेव आदिको पनि वर्णन गरेको पाइन्छ। स्कन्दपुराणको हिमवत्खण्डको नेपाल महात्म्यमा विरुपाक्ष तीर्थयात्राको १३३औं अध्यायमा गोश्रृङ्ग तीर्थबारे उल्लेख छ। जसमा विरुपाक्ष ब्राह्मणले चैत्र शुक्ल द्वादशी तिथिमा श्रृङ्ग तीर्थमा स्नान गरेर गोभराटेश्वर महादेवलाई पूजा गरेको कुरालाई 
यसरी उल्लेख गरिएको छ। 

समास्ते हि सदाकालं सेवन्ती पशुपतेश्वरम् 
तस्याः श्रृंगात्समुद्भुता नदी पुण्यतमाभावत्।

यस श्लोकमा भएको कामधेनु गाईले गोदावरी र गौराटेश्वर महादेवलाई जोड्छ। तिनै कामधेनु गाई सधैं पशुपतिनाथमा दूध चढाउन जाने गरेको र उनकै गोबरबाट गौराटेश्वर महादेवको उत्पत्ति भएको कुराले यो क्षेत्रलाई पशुपतिसँग जोड्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.