बेनी–जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने

बेनी–जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने
बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत बेनपा–८ जलेश्वरमा सडक विस्तार गरिंदै । तस्बिर : सन्तोष गौतम।
सुन्नुहोस्

बेनी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक दैनिक साढे ६ घण्टा बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार बसेको बैठकले स्तरोन्नतिको कामलाई गति दिनका लागि बेनी–जोमसोम सडकको बेनी–गलेश्वर खण्डमा सवारी चल्ने र बन्द हुने समय तालिका बनाएको हो । 

प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, बेनी–जोमसोम-कोरला सडक आयोजना, निर्माण कम्पनी, यातायात व्यवसायी र सुरक्षा निकायका प्रतिनिधिको बैठकले समय तालिका बनाएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले फागुन १ देखि १५ गतेसम्म बिहान ६–८, दिउँसो ११:३० देखि १:३० र राती ८:३० देखि ११ बजेसम्म सडक स्तरोन्नतिका लागि यातायात आवत जावत बन्द गरिने जानकारी दिए । एम्बुलेन्स लगायत अत्यावश्यक सवारी साधनलाई सहज आवत जावत र साना सवारी डल्लेपिपल–राहुवडा–गलेश्वर वैकल्पिक मार्गको व्यवस्था मिलाउने निर्णय पनि गरिएको छ । 

सडक विस्तारको काम र यातायात सञ्चालन सँगै हुँदा दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माण कार्य प्रभावित बनेपछि समय तालिका बनाएको प्रजिअ पौडेलले बताए । निर्माण व्यवसायीले बेनी–जोमसोम– कोरला सडक आयोजना मार्फत प्रशासनमा समय तालिकाको व्यवस्था मिलाउन निवेदन दिएका थिए । 

राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले दुई किलोमिटर १०२ मिटर दुरीको बेनी–गलेश्वर सडक विस्तार र कालोपत्र गर्न जय धन्नजय–मंगलादेवी–सुवास जेभीसँग १२ करोड २५ लाख ९४ हजार ४३६ मा ठेक्का सम्झौता गरेको थियो । 

सम्झौता लगत्तै सडक फराकिलो बनाउन पहाड काट्ने र डिलतर्फ पर्खाल बनाउने कामलाई तिब्रता दिएको निर्माण कम्पनीका प्रतिनिधि सुवास कार्कीले बताए । ८५ जना मजदुरका साथै तीन वटा डोजर परिचालन गरिएको छ । दुई वर्षको अवधिमा सडकलाई ११ मिटर फराकिलो बनाएर नाली, पहिरो रोकथाम गर्न पर्खाल र खोल्सामा कल्भर्ट तथा ८ मिटर चौडाईमा कालोपत्र गरिने भएको छ । 

बेनी नगरपालिकाको ८, ६ र ९ नम्बर वडाको भूगोल समेटिएको तीन किलोमिटर दुरिको यो सडक वि.स. २०५३ मा मार्ग खुलेको थियो । यो म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर, रघुगंगा र अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको प्रवेशविन्दु हो । 


४ देखि ६ मिटर फराकिलो सडकको धेरै ठाउँमा ठूला गाडी दुईतर्फी आवत जावत नहुने, फस्ने र जाम हुने गर्दछन् । यस सडक म्याग्दीको बेनी नगरपालिका, रघुगंगा र अन्नपूर्ण गाउँपालिकाका साथै मुस्ताङका बासिन्दा, तिर्थयात्री र पर्यटकले प्रयोग गर्दछन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.