२ भूकम्प, १२०६ परकम्पले आक्रान्त टर्की

३३ हजार नाघे मृतक, २ करोड ३० लाख जना प्रभावित

२ भूकम्प, १२०६ परकम्पले आक्रान्त टर्की
टर्कीको दक्षिणी क्षेत्र अन्टाक्यमा भूकम्पले क्षतिग्रस्त भवनका भग्नावशेष । तस्बिर : एपी

३३ हजार नाघे मृतक, २ करोड ३० लाख जना प्रभावित

टर्की र सिरियामा गत सोमबार गएको दुई ठूला भूकम्पको झट्कालाई सन् १९३९ पछिकै शक्तिशाली मानिएको छ। उक्त भूकम्पका कारण आइतबार साँझसम्म ३३ हजार बढीले ज्यान गुमाए, कैयौं अझै बेपत्ता छन्। सोमबार फरक–फरक समयमा ७.८ र ७.५ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसपछिका चार दिनमा मात्रै १ हजार २ सय ६ वटा परकम्पन गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

टर्कीको ८१ प्रान्तमध्ये १० प्रान्तमा भूकम्पबाट अत्यधिक क्षति पुगेको छ। युनिभर्सिटी कलेज लन्डनका जोखिम र प्रकोप न्यूनीकरण संस्थानका प्रमुख प्रा.जोआना फाउरे वाकरका अनुसार सबैभन्दा घातक भूकम्पमध्ये विगत १० वर्षको अवधिमा एकै वर्षमा दुइटा मात्र बराबार म्याग्निच्युडका भूकम्प गएका छन् भने यसभन्दा अघिका १० वर्षमा चारवटा गएका थिए।

टर्कीमा भूकम्पको भग्नावशेषबाट निकालिएका शवलाई आइतबार हाते प्रान्तमा सामूहिक चिहानमा गाडिएको छ। एउटा कपास खेतलाई ‘भूकम्पको चिहान’मा परिणत गरी त्यहाँ मृतकको शव गाडिएको हो। 

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या आइतबार साँझसम्म ३३ हजार नाघेको छ। टर्कीको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहानै गएको टर्की–सिरिया विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या टर्कीमा २९ हजार ६ सय ५ र सिरियामा ३ हजार ५ सय ७४ पुगेको छ। दर्जनौं घाइतेको उद्धार कार्य जारी छ। 

सिरियाको सीमानजिकै गएको भूकम्पबाट १४ लाख बालबालिकासहित करिब २ करोड ३० लाख मानिस प्रभावित हुनसक्ने सम्भावना विश्व स्वास्थ्य संगठनले औंल्याएको छ। स्थानीय समयअनुसार बिहान ४ः१७ मै गएकोे उक्त प्रकोपको अवधिमा धेरै मानिस घरभित्रै सुतिरहेकाले पनि मानवीय क्षति बढी हुने अनुमान छ। 

असैय पीडाबीच टर्कीका बासिन्दा

सेरिजान आवास इस्केन्डरुनको एउटा विद्यालयको बगैंचामा कुर्सीमा सुतिरहेकी थिइन्। ६१ वर्षीया आवास उद्धारकर्तालाई आगो र खाना 
बाँड्छिन्। उनको अपार्टमेन्टको ब्लक उभिएको त छ। तर, त्यहाँ बस्न असुरक्षित मानिएको छ। भूकम्पपछि भत्किएका वा बस्न लायक नरहेका अधिकांश भवन गत वर्ष निर्माण भएकाले निर्माणकर्ताप्रति आक्रोश बढेको पनि उनले बताइन्। 

‘हाम्रो पीडा असैय छ। मेरो खल्तीमा जम्मा १५ लिरा मात्र छ, चुरोट पनि छैन’, उनले पीडा पोख्दै भनिन्, ‘मसँग अहिले गुुमाउने केही छैन, त्यसैले म डराउँदिन।’

भूकम्पबाट प्रभावित अर्का व्यक्ति एर्डेम अवसाओलुकी बहिनी, उनका श्रीमान् र दुई सन्तान अन्टाक्याको एक भवनमा बस्थे। उनीहरू भग्नावशेषमा फसे पनि जीवितै थिए। गत मंगलबार राति भवनमा आगो नलाग्दासम्म उनीहरू आफ्नो परिवारसँग कुराकानी गरिरहेका थिए। तर, आगलागीपछि त्यहाँको सञ्चार बन्द भयो। ‘आजको दिनसम्म आइपुग्दा सबै थाकिसकेका छन्। हामी उनीहरूको सिंगो शव फेला पार्न चाहन्छौं। तर, हामीले अझै केही फेला पार्न सकेका छैनौं। सायद ती सबै जलिसकेका छन्,’ एर्डेमले भने। 

नाकाबाट ११ सय शव ल्याइयो

टर्की र विपक्षी नियन्त्रित उत्तरपश्चिमी सिरियाबीचको एक मात्र सीमानाकाबाट हालसम्म करिब ११ सय शव ल्याइएको त्यहाँका अधिकारीहरूले जनाएका छन्। उनीहरूले टर्कीबाट सिरियामा शवहरू पुर्‍याउन चौबीसै घण्टा काम गरिरहेको जनाए। सिरियामा जारी गृहयुद्धको बीचमा लाखौं सिरियाली शरणार्थीहरू भूकम्पबाट सबैभन्दा बढी प्रभावित दक्षिणी टर्की क्षेत्रमा भागेका छन्। 

७२ घण्टापछि जीवनको न्यून सम्भावना
डक्टर्स विथआउट बोर्डर्स (मेडिसिन्स सेन्स फ्रन्टियर्स) का मेडिकल एकाइ प्रबन्धक डा. इभजेनिया जेलिकोवाका अनुसार भूकम्प पछिको पहिलो ४८ देखि ७२ घण्टासम्मको समय भग्नावशेष मुनिबाट बाँचेकाहरूलाई बाहिर निकाल्न महत्वपूर्ण मानिन्छ। ‘समय बित्दै जाँदा त्यहाँ बाँच्ने व्यक्तिहरू निकै कम हुनेछन्’, जेलिकोवाले जोर्डनको राजधानी अम्मानबाट भनिन्, ‘उत्तरपश्चिम सिरियामा अस्पतालहरूमा काम गरिरहेका हाम्रा टोलीहरूले ७२ घण्टापछि बाँचेका निकै कम घटनाहरू मात्र देखेका छन्।’

उनका अनुसार लामो समयसम्म चिसो मौसममा रहनु रगत र शरीरको तापक्रम घटाउने सबैभन्दा ठूलो कारक हो। यसले बाँच्न सक्ने सम्भावनालाई असर पुर्‍याउँछ। महामारीको अवस्था, चिसो मौसम, आंशिक रूपमा ध्वस्त पूर्वाधार, पानीजन्य रोग, दीर्घकालीन रोग भएकाहरूको स्वास्थ्य सेवामा पहुँच र मानसिक स्वास्थ्य प्रमुख चिन्ताको विषय रहेको उनले बताइन्। ‘उत्तर–पश्चिममा सिरियाली जनसंख्याले पहिले नै लामो संकट र कठिन परिस्थितिको सामना गरिसकेका कारण उनीहरूको मानसिक स्वास्थ्य बिग्रने उच्च जोखिम छ। निःसन्देश यस्तो दर्दनाक घटनाले उनीहरूको जोखिमलाई अझै बढाउन सक्छ,’ उनले भनिन्। 

उद्धारका असाधारण प्रयासहरू
टर्कीमा विनाशकारी भूकम्पबाट बाँचेकाहरू फेला पार्ने आशा क्षीण हुँदै गएको छ। यद्यपि यसैबीच पनि त्यहाँ केही असाधारण उद्धार प्रयासहरू जारी छन्। ती सफल उद्धारका कथाहरू अहिले सामाजिक सञ्जाल र सञ्चार माध्यममा व्याप्त छन्। त्यहाँका स्वास्थ्य मन्त्री डा. फहरेटिन कोकाले भग्नावशेषबाट १५० घण्टापछि एक बालिकाको जीवितै उद्धार गरिएको बताए। उनले एउटा छोटो भिडियो क्लिप ट्विट गर्दै टर्कीको हातेमा ती बालिकालाई १५०औं घण्टामा भग्नावशेषबाट निकालिएको जनाए। हाते फिल्ड अस्पतालमा उनको प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकप्टर एम्बुलेन्समार्फत उनलाई अडाना पठाइएको छ। 

अन्टाक्यामा बस्दै आएका सिरियाली अब्दुल्ला इलालीको पनि १५१ घण्टापछि उद्धार गरिएको जनाइएको छ। उनलाई दक्षिण टर्कीको हातेमा भग्नावशेषबाट निकालिएको हो। त्यसैगरी टर्कीको हातेमा भत्किएको एक भवनको भग्नावशेषबाट ३५ वर्षीय मुस्तफा सारिगुलको १४९ घण्टापछि उद्धार गरिएको हो। गत शनिबार भग्नावशेषबाट गाजियन्टेप प्रान्तका पाँच जनाको परिवार र हातेमा एक सात वर्षीया बालिकाको उद्धार गरिएको थियो। उनीहरूले भग्नावशेषमुनि करिब १३२ घण्टा बिताएका थिए। 

ग्रीसका विदेशमन्त्री प्रभावित क्षेत्रको भ्रमणमा

ग्रीसका विदेशमन्त्रीले टर्कीको भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेका छन्। दुई नेटो देशहरूबीच लामो समयदेखि चलिरहेको द्वन्द्वका बाबजुत आफ्नो समर्थन प्रदर्शन गर्न ग्रीसका विदेशमन्त्री टर्की पुगेका हुन्। त्यहाँको राज्य सञ्चालित ईआरटी टीभीका अनुसार भूकम्प प्रभावित क्षेत्रको भ्रमणका लागि हेलिकप्टर चढ्नु अगाडि परराष्ट्रमन्त्री निकोस डेन्डियासले आफ्ना टर्की समकक्षी मेभलुट काभुसोग्लुलाई भेटेका थिए। डेन्डियासको आगमन भूकम्पपछि युरोपेली मन्त्रीको टर्कीमा पहिलो भ्रमण हो। यी दुई मन्त्रीले ग्रीक उद्धारकर्ताहरूले खोज र उद्धार कार्यमा मद्दत गरिहेको क्षेत्र अन्टाक्याको भ्रमण गरेका हुन्। 

पीडितलाई अस्थायी भिसा प्रस्ताव

जर्मनीले टर्की र सिरियामा गएको भूकम्पबाट प्रभावित हुने व्यक्तिहरूलाई देशमा रहेका आफन्तहरूसँग अस्थायी रूपमा बस्न अनुमति दिने घोषणा गरेको छ। ‘यो आपतकालीन सहायता हो’, जर्मन गृहमन्त्री न्यान्सी फेसरले एक पत्रिकासँग कुराकानी गर्दै भनिन्, ‘हामी जर्मनीमा टर्की र सिरियाली परिवारहरूलाई प्रकोप क्षेत्रबाट आफ्ना नजिकका नातेदारहरूलाई आफ्ना घरमा ल्याउन अनुमति दिन चाहन्छौं।’

ध्वस्त भवनको अनुसन्धान तीव्र

टर्कीले ध्वस्त भवनको अनुसन्धानलाई तीव्र बनाएको छ। ती भवनहरू भत्किएकोमा संकास्पद जोकोहीमाथि अनुसन्धान गर्ने टर्कीले जनाएअनुसार हालसम्म १ सय १३ जनालाई पक्राउ गर्न आदेश दिएको छ। उपराष्ट्रपति फुआत ओक्तेले भूकम्पबाट प्रभावित १० प्रान्तमा भत्किएका हजारौं भवनमध्ये केहीमा अहिलेसम्म १ सय ३१ जना संकास्पद व्यक्तिलाई जिम्मेवार ठानिएको बताए। 

  • ४ दिनमा १२०६ परकम्प
  • टर्कीमा भूकम्पबाट भत्किएका भवनको निर्माण मापदण्डबारे अनुसन्धान सुरु, सय बढी  पक्राउ
  • भूकम्पपछि लुटपाट गर्ने ४८ पक्राउ
  • ग्रीसका विदेशमन्त्री टर्कीको भ्रमणमा
  • समय बित्दै जाँदा भग्नावसेसमा पुरिएकाहरूलाई जीवितै निकाल्ने सम्भावना कम
  • जर्मनीद्धारा पीडितलाई अस्थायी भिसाको प्रस्ताव
  • ८ लाखभन्दा बढी भूकम्प प्रभावितले पर्याप्त खाना नपाएको राष्ट्रसंघको भनाइ
  • चीनले पठायो ५३ टन पाल र ४० हजार कम्बल

‘यीमध्ये १ सय १३ लाई हिरासतमा राख्न आदेश जारी गरिएको छ’, उनले भने, ‘विशेष गरी ठूलो क्षति भएका भवनहरू तथा मृत्यु र घाइते बढी भएका भवनहरूको सन्दर्भमा न्यायिक प्रक्रिया पूरा नभएसम्म हामी उनीहरूलाई सावधानीपूर्वक पछ्याउनेछौं।’ 

भूकम्प प्रभावित प्रदेशमा मृत्यु र घाइतेको अनुसन्धान गर्न त्यहाँको न्याय मन्त्रालयले भूकम्प अपराध अनुसन्धान ब्युरो पनि स्थापना गरेको छ। भूकम्पको पीडाबीच नै टर्कीको जनता लुटपाटबाट पनि आक्रान्त बनेका छन्। पीडितलाई टेलिफोनमार्फत ठगी गर्ने ४८ जना लुटेराहरूलाई त्यहाँका अधिकारीहरूले पक्राउ गरेका छन्। 

संयुक्त राष्ट्रसंघको चेतावनी

भूकम्प पीडितको राहत र उद्धारमा लागेको संयुक्त राष्ट्र संघले भूकम्पपछिका अवस्थामा ८ लाखभन्दा बढी मानिसले पर्याप्त खाना नपाएको जनाएको छ। यसको सहायता एजेन्सीले भूकम्पबाट मृत्यु हुनेको अन्तिम संख्या अहिलेको भन्दा दोब्बर हुन सक्ने चेतावनी दिएको छ। 

संयुक्त राष्ट्र संघका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले विनाशकारी भूकम्पपछि सिरियाको विपक्षी नियन्त्रित क्षेत्रका मानिसलाई सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसंघ असफल भएको पनि स्वीकार गरेका छन्। ‘हामीले अहिलेसम्म उत्तरपश्चिम सिरियाका मानिसलाई असफल बनाएका छौं। उनीहरूले सही रूपमा त्यागिएको महसुस गरेका छन्। यस असफलतालाई सकेसम्म चाँडै सच्याउनु मेरो कर्तब्य र दायित्व हो,’ सीमा क्षेत्रको भ्रमणका क्रममा उनले भने, ‘अहिले मेरो ध्यान यसैमा छ।’

विपक्षी कार्यकर्ता ओसामा अबो जायदका अनुसार इडलिब प्रान्तको जानदारिस सहरमा पीडितका परिवारहरूले संगठनको सहयोगको कमीको निन्दा गर्न भूकम्पले ध्वस्त भएका भवनहरूमा संयुक्त राष्ट्रको झन्डा उल्टो फहराएका छन्। 

चीनले पठायो ५३ टन पाल
चीनले भूकम्प प्रभावित टर्कीका जनतालाई सहयोग गर्न ५३ टन पाल पठाएको छ। निकट भविष्यमा थप आपतकालीन सहायताको योजना रहेको राज्य प्रसारक सीसीटीभीले जनाएको छ। ठूला कार्गो विमानहरूमा पठाइएका ती पालले राहत कार्यमा सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

त्यसैगरी चीन सरकारले दिएको ४० हजार कम्बल पनि गत शनिबार नै इस्तानबुल पुगेको थियो। चीनले निकट भविष्यमा इलेक्ट्रोकार्डियोग्राम मेसिन, अल्ट्रासाउन्ड डायग्नोस्टिक इन्स्ट्रुमेन्ट, मेडिकल गाडी र अस्पतालका बेडहरूलगायतका चिकित्सा उपकरण पठाउने योजना बनाएको सीसीटीभीले जनाएको छ। चिनियाँ सरकारले पठाएको ८२ सदस्यीय उद्धार टोली पनि टर्की पुगिसकेको छ। त्यसैगरी कतारले उत्तरपश्चिमी सिरियाको सहायता समूह ह्वाइट हेल्मेटलाई उनीहरूको भूकम्प खोज र उद्धार कार्यमा सहयोग पुर्‍याएको छ।

कतार फन्ड फर डेभलप्मेन्टले जनाएअनुसार सहायतामा एम्बुलेन्स मर्मत र ठूला सवारी साधन सञ्चालन गर्न इन्धन समावेश छ। ‘अगाडिको बाटो लामो छ। तर, हामी तपाईंको सहयोग बिना यो विपत्तिको सामना गर्न सक्दैनौं’, ह्वाइट हेल्मेटले कतारलाई धन्यवाद दिँदै ट्विट गरेको छ। ह्वाइट हेल्मेट ३ हजार स्वयंसेवी उद्धारकर्ताहरूको समूह हो। आफूहरूले काम गर्ने विपक्षी नियन्त्रित क्षेत्रहरूमा सहायता पुग्न नसकेकोमा उक्त समूहले कडा आलोचना गरेको छ। 

राष्ट्रपतिको सत्ता संकटमा

धुवाँ र धुलोले गर्दा भूकम्प प्रभावित क्षेत्रको हावा बाक्लिएको छ। सरसफाइको व्यवस्था छैन। मानिस अझै पनि भग्नावशेषमुनि दबिएका छन्। हिउँ जम्ने चिसो मौसममा खुला आकाशमुनि सुत्न पीडित बाध्य छन्। यसले गर्दा पनि प्रभावित क्षेत्रमा जनस्वास्थ्यको ठूलै संकट निम्तिन सक्ने विज्ञले जनाएका छन्। 

टर्कीको अर्थव्यवस्था लगातार बिगँ्रदो अवस्थामा छ। त्यहाँको महँगी ५७ प्रतिशत बढेको छ। जीवनयापनको लागत पनि बढ्दै गएको छ। भूकम्पपछि जनताले आलोचना गरेपछि त्यहाँको सरकारले जनतालाई ट्विटरमा रोक लगाएको छ। भूकम्पमा परि जीवितै रहनेहरूको स्थान पहिचान गर्न त्यहाँका जनताले ट्विटरको प्रयोग गर्दै आएका थिए। 

भूकम्पपछि राष्ट्रपति रेचेप तैयप अर्दोआन सरकारले अझै धेरै मानिसलाई बचाउन सक्थ्यो भन्दै उनको आलोचना हुन थालेको छ। टर्कीमा चुनाव नजिकिँदै गर्दा उनको २० वर्ष पुरानो सत्ता संकटमा परेको छ। यस्तो संकटको अवस्थामा देशलाई एकताबद्ध बनाएर राख्न अर्दोआनले गरेको अपीललाई त्यहाँ जनताले वास्ता गरेका छैनन्। राष्ट्रपति अर्दोआनले भूकम्पमा राहत दिने कार्यमा कमी गरेको भन्ने आरोपलाई अपमानजनक बताएका छन्। उनले पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘आफ्नो राजनीतिक स्वार्थका लागि मानिसले नकारात्मक सन्देश फैलाउँदैछन्,। यस्तो दुस्प्रचार गर्नेलाई म सहन सक्दिनँ।’ 

भूकम्पबाट प्रभावित धेरै जसो सहरमा उनको पार्टी एकेपीको शासन छ। तर, अर्दोआन पहिले प्रधानमन्त्री र अहिले राष्ट्रपतिमा गरी २० साल सत्तामा रहिसकेका छन्। हाल देशमा उनको नीतिको विरोध भइरहेको छ। आगामी मे महिनामा चुनाव हुने भनिए पनि हालसम्म प्रचार अभियान सुरु भएको छैन। विपक्षी दलहरू मिलेर अर्दोआनको विरुद्ध संयुक्त उम्मेदवार खडा गर्ने सम्भावना पनि देखिन्छ।  

- एजेन्सीको सहयोगमा 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.