बिब्ल्याँटो राजनीति

बिब्ल्याँटो राजनीति

शिक्षाले राजनीतिलाई चलाउनुपर्नेमा राजनीतिले शिक्षालाई निमोठिरहेको छ । नेतृत्वमा पुग्नेले ‘स्वार्थको बार्गेनिङ’ गरिरहे ।

फ्रान्समा चार्लेज मन्टेक्युई (सन् १६८९–१७५५) र जिन ज्याक रुसो (सन् १७२२–१७७८) ले बौद्धिक जागरणलाई अघि बढाएपछि दर्शन र विज्ञानलाई गाँसियो। बिस्तारै सामाजिक–आर्थिक रूपान्तरणसँग चेतनालाई जोड्ने अभ्यासमा बौद्धिक जगत् र राजनीतिक नेतृत्वले हातेमालो गरे। वस्तुतः सम्पन्न भनिएका मुलुकमा निष्पक्ष ‘थिंक ट्यांक’ले क्षमतानुसार अवसर पाएका हुन्छन्। तिनले अध्ययनका आधारमा बोल्छन् तर हचुवा र हलुका तर्कबाज छाँट्नुपर्ने बाध्यता बन्दैन। परिणामतः वैज्ञानिक चिन्तनलाई सामाजिक परिवेशमा प्रयोग गर्न सम्भव हुन्छ। तब युगानुकूल गतिशील विकासको गुणस्तरीय अभ्यासमा योजनाबद्ध परिवर्तनको हुँकारले तीव्रता पाउँछ।

समाजभित्र स्थापित कुशल आदर्शता र सबल पूर्वज्ञानलाई उपेक्षा गर्नुपर्ने कुचेष्टा लादियो। संस्कृतिभित्रको विकृति फाल्नुपर्ने र सुसंस्कृत बन्नुपर्ने भाष्यलाई खोतलिएन। वस्तुतः मुलुकमा स्थापित विचार र हाम्रो माटोको सम्बन्धसँग जनचाहनाको रागलाई बुझ्ने नेतृत्वको अभाव खड्किरह्यो। आर्थिक विकासका निमित्त श्रम र पुँजीको प्रयोगसँग नातो गाँसिएन। शिक्षामा लगानी, प्रक्रिया र उत्पादनको सम्बन्धलाई स्थापित गराइएन। विडम्बना, मुलुकमा यतिखेर विकृति नै संस्थागत बनिरहेको देखिन्छ। विशेषतः स्थानीय स्तरमा जागिर खान होस् वा कर्मचारीको सरुवा–बढुवामा तह र पदअनुसार सम्बन्धित निकायलाई तिर्नुपर्ने बढाबढ दामको घुस रकम रूढ भएर स्थापित भइरहेको छ। आखिर नीतिनियमको धज्जी उडाउनेहरू नै नेतृत्वमा पुगेपछि शक्तिको दुत्कार भइछाड्छ।

सुशासकबाहेक केही बदमासी गरेका अर्थात् समाजमा खुलेआम अन्याय गरेकाले नै नेतृत्व गरेपछि लोकतान्त्रिक राजनीति दूषित बन्न पुग्छ। जागिर खानेलाई बाध्यता छ। उसले भनेको रकम नतिरे दुर्गममा पर्नुपर्ने वा भोलिका निम्ति भनेजस्तो सहज नहुने अर्को पीडा हुन्छ। दलीय कार्यकर्ता दादागिरीका अघि आममान्छेको आवाज खोलाको गीत बन्छ। कतै शैक्षिक माफिया, कतै भूमाफिया त कतै मेडिकल माफियाको खुलेआम ‘माफियावाद’ अनि ‘बिचौलियावाद’ले सकारात्मक परिवर्तनमा तगारो हालिरहन्छ। राजनीतिभित्रको फोहोरको डंगुर पुस्तान्तरित भइरहँदा नयाँ भनिएका अनुहारमा समेत स्वच्छता देख्न पाइएकै छैन। सबैभन्दा ठूलो विडम्बना जनता त लोकतान्त्रिक स्वतन्त्रतामा समेत भद्दा मजाकभित्रको रंगमञ्चका ‘भोट बैंक’ मात्रै भयौं।

स्वार्थजडित राजनीति

हाम्रो समाज अझै पनि अगस्ते कम्तेले भने जसरी सामाजिक स्थिरता र सामाजिक गतिशीलताको संक्रमणको चरणमा छ। कम्तेले भने जसरी अलिकति आध्यात्मिक विश्वास, अलिकति काल्पनिक उडन्ते विचार अनि अलिकति वैज्ञानिक चिन्तनको खिचडी बोकेका नेतृत्वले देशको मियो समातेका छन्। कर्ममा भन्दा बौद्धिकताको नियन्त्रणमुखी चुक्लीबाजको मुख्र्यांईमा लिप्त संकीर्ण मथिंगलले अस्थिरतालाई निरन्तरता दिइरहेकै छ। यसर्थ पनि हाम्रो समाज र राजनीतिमा बौद्धिकताको चिरहरण भइरहेको देखिन्छ। पतीत स्वार्थपरक बौद्धिक बहसभित्र समाजले आपूmलाई सुधारेर माथि लैजानेभन्दा प्रतिस्पर्धीलाई सिध्याएर ठालुपन देखाउँदै ‘दूधको साक्षी बिरालो’ बन्ने परिपाटीमा बढी अभ्यास गर्न सिक्यो।

विचारको ध्रुवीकरणका कारण वर्तमान समाजमा बौद्धिक जागरणले फड्को मार्न सकेन। समाज बिब्ल्याँटो बुद्धि बोकेर अड्बांगे बन्दै गयो। शक्तिको पूजामा आरती हुन्छ। पदीय स्वार्थभित्र आफ्ना नेतालाई देवत्वकरण गर्नमा हिच्किचाहट हुँदैन। ‘मेरो मान्छे’ले यस्तो गरिदिन्छन्। ‘मलाई मन्त्रीको फोन आएकाले फलानोलाई कानुनविपरीत भए पनि जागिर दिएँ’ भन्ने भाष्य सामान्य बन्छ। परिवर्तनका नाउँमा नबोलिएका र नदेखिएका हजारौं प्रेमप्रसाद आचार्यको आहतका अघि वर्तमान स्वार्थजडित राजनीति निदाइदिन्छ। जात र धर्मका नाउँमा राजनीति गर्ने साम्प्रदायिक सोचमा उचालिने अर्थात् कसैलाई माथि लैजान कसैको खेदो खन्ने परिपाटीलाई उत्पातै राम्रो शैली मानिएको छ।

अर्थात्, मुलुकमा नवीन नेतृत्वको दोहोलो हुने परिवेश बनिरहँदा उही र उस्तै मगजहरूले आदर्श मूल्य, मान्यता र सकारात्मक सोचलाई उछितो काढ्न रमाइलो मान्छन्। फलतः नैतिक आदर्शताको खडेरीमा जनताले केही गरौं र केही बनौं भन्ने परिवेश बन्दैन। आमनागरिकका नाममा शपथ खाएर तिनकै ढाडमा बञ्चरो हानिरहेको यथार्थ छ। विडम्बना, असल भनिएकाहरू नै पनि बाध्यतामा अड्किन्छन्। कुनै पार्टीगत भूमिकामा रहेकाहरूको अपराधको बचाउमा अल्झिन पुग्छन्। कार्यकर्ता र आसेपासेका लागि भनसुन गरिदिने मोहमा लहसिन्छन्। यसर्थ सत्ताका वरीपरी घुम्नेले सुविधा पाउँछ। विडम्बना ‘भूस्थानीकरण’को युगमा समेत भुइँमान्छे पिल्सिरहेकै छ।

‘गरिबी’ र राज्यनीतिको अन्तर्य

जीवन निर्वाहको सहजता, आत्मसम्मान र स्वतन्त्रता नै विकासका मुख्य तत्त्व हुन्। अरस्तुले प्राप्तिलाई भन्दा असल चरित्रमा जोड दिन्छन्। यद्यपि, हामी साम्यवादी वा समाजवादी सिद्धान्तलाई बोलिरहँदा अघोषित अधिनायकत्वको दमनमा छौं। अर्थात्, व्यवस्था स्वतन्त्रताको हिमायती भए पनि सोच र व्यवहारलाई नेपथ्यबाट सीमित शक्ति केन्द्रद्वारा खेलाइन्छ। मुलुकको अर्थ राजनीतिमा कथित मुठ्ठीभरका शक्ति केन्द्रले प्रभाव जमाइरहँदा गरिबले गरिबै बन्नुपर्ने बाध्यता हुन्छ। यहाँ भ्रष्टाचारी, अत्याचारीको छानबिन गर्दा कतै न कतैबाट आफू र आफ्नाले फस्नुपर्ने जालो स्थापित भएकै कारण ठूला माछाले दाइँ गर्ने अवसर पाइरहन्छन्। टेन्डर पार्छन्। विकासलाई वर्षौं अँचेट्छन् र विपन्नसँग कर उठाएर तिनकै ढाडमा टेक्दै रजाइँ गरिरहन्छन्।

अर्कातिर कर्मचारीतन्त्रको अदृश्य शक्तिको जञ्जालभित्र कतिपय निःस्वार्थी पात्र नै अघोरै दोषी ठहरिन पुगिदिन्छ। वास्तविक दोषीहरू बजारमा रमिरहने विचित्रता पनि नाटकको कथानकभन्दा भिन्न देखिँँदैन। आर्थिक, सामाजिक र मानवीय उद्विकासको चिन्तनमा डुबुल्की मार्ने परिवेश नभएसम्म हामी अस्थिरताको गोलघरमा घुमिरहनेछौं। किनभने, चेतनामा निष्पक्ष निर्णायक सक्षमता विकास गर्न जीवनमा सरलता चाहिन्छ। स्वच्छन्दता र स्वतन्त्रतालाई जीवनमा भोग्न पाउने परिवेश हुनुपर्छ। आवश्यकता र अभावले कसैको ओड लिने र ओत लाग्नैपर्ने भित्री स्वार्थका कारण गलतलाई पनि असल बनाउन अर्थात् मौनता साँध्न विवश छ हाम्रो समाज।

राज्यले सन्तुलन कायम नगरिदिँदा जीवन सञ्चालन र समाज परिवर्तनको भाष्यबीच खाडल सिर्जना हुन्छ। स्वयं मुलुकको नीतिले नै गरिबीको तह निर्माण गरिदिन्छ। पैतृक सम्पत्ति नभएका सीमान्त क्षेत्रका विपन्नहरू सधैं सीमान्त वर्गमै बाँच्न विवश बन्छन्। तिनका सन्तान–दरसन्तानमा उही विपन्नताको बाध्यता हस्तान्तरित हुन्छ। आफूलाई समाज अनुकूल समुन्नत बनाउन नसकेका कारण विपन्नहरूको जीवन सधैं अभावमा हुन्छ। यसर्थ जनताको जीवनशैली सुधारमा मुलुकको नीति र पद्धतिले नै मुख्य भूमिका खेलेको हुन्छ।

शिक्षामा निजीकरण र वर्ग विकास

निजी संस्थाले राम्रो नतिजा प्रदान गरिदिँदा सामुदायिक शैक्षिक निकायको नतिजालाई सोलडोलमा राखेर मुलुकको शैक्षिक उपलब्धिमा हिस्सेदार बनाइँदै आएको देखिन्छ। फलतः सामुदायिक शिक्षालाई सुधार्ने कर्मकाण्डी बहसले व्यावहारिक रूपमा आकर्षित तुल्याउँदैन। अहिलेको परिवेशलाई हेर्दा केही सम्पन्न र सक्षम वर्गका सन्ततिहरू मात्रै नामी निजी शिक्षालयमा महँगो शुल्क तिरेर पढ्छन्। जतिसुकै आदर्शका कुरा गरे पनि व्यावहारिक हिसाबमा विपन्नहरू नै गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। कहिले झोला, कहिले चप्पल, कहिले एकएक पुरिया बिस्कुट दिएर तिनलाई विद्यालयमा नियमित आएर पढ्ने बनाउन सकिन्छ भन्ने सस्तो लोकप्रियताको फेसनले शिक्षामा रूपान्तरण सम्भव देखिँदैन। यसबाट सन् २०३० सम्ममा प्राप्त गर्ने भनिएको दिगो विकासको लक्ष्य पूरा नहुने संकथन तय भइरहेको छ।

वास्तवमा कुर्सीमोहले नैतिक मर्यादालाई सम्बोधन गर्न सकेन। जनमतलाई आफ्नो बनाउने र फेरि झुक्याएर सत्तामा पुग्ने खेल चलिरहेकै छ। रचनात्मक परिवर्तनमुखी विकासका पक्षमा सोच्ने फुर्सद कसैलाई छैन।

देखासिकी गरेरै भए पनि मध्यम वर्गले समेत सहरका निजी विद्यालय तथा क्याम्पसलाई रोज्ने स्थिति बनाइनुमा मुलुकको नीति र व्यवहार दुवै दोषी छ। चेतना बढ्नु सुखद पक्ष हो तर जीवनको सारा कमाइलाई खाइनखाइ शिक्षामा खर्चिनुपर्ने बाध्यता सिर्जना गर्नुमा राज्य जिम्मेवार हुन्छ। अर्कोतिर, विपन्न बालबालिका केही बुझेर वा नबुझेरै पनि कमसेकम सामुदायिक विद्यालयमा पढ्न पठाउँछन्। तथापि, समाजको संस्कार, परिवारको चिन्तन वा सोच अर्थात् अभाव र अज्ञानको परिणति तथा राज्यको बेवास्ताका कारण तिनले बीचैमा पढाइ छोड्छन्। पठन संस्कृतिको अभाव हुन्छ। अन्ततः सामान्य मजदुर बन्छन्। सम्पन्नका छोराछोरी मालिक हुन्छन्। दुःख गर्नुपर्छ, असल आचरणमा बस्नुपर्छ, दुव्र्यसनीमा फस्नु हुन्न भन्ने शिक्षा र चेतनाको अभावका कारण विपन्न र तल्लो वर्गका समुदायमा सकारात्मक चिन्तनको अभ्यास नै हुँदैन।

मेधावी र सक्षम विद्यार्थी राम्रा वा निजी विद्यालयतिरै जान्छन्। अन्तः कतै जान नसकेका कमजोर तथा पारिवारिक वातावरण नपाएर छानिएका विद्यार्थीबाट उत्कृष्ट नतिजाको अपेक्षा गर्नै सकिँदैन। अर्कातिर, विद्यालयीय परिवेश पनि सकारात्मक नहुँदा राज्यको शैक्षिक पद्धतिले भोलिको पुस्तालाई दुई खाले वर्गमा विभाजित तुल्याएर संवैधानिक मान्यताकै खिल्ली उडाइरहेको देखिन्छ। आज शिक्षाले रोजगारको अभावमा ग्रसित असन्तुष्ट जनशक्ति उत्पादन गरिरहेको छ। अर्थात्, शिक्षाले राजनीतिलाई चलाउनुपर्नेमा राजनीतिले शिक्षालाई निमोठिरहेको छ। नेतृत्वमा पुग्नेले ‘स्वार्थका लागि बार्गेनिङ’ गरिरहेका छन्। वैकल्पिक शक्तिलाई नामेट पार्न दलीय दादागिरीको त्रासद भाष्य रचेका छन्। ‘चोर’ र ‘साधु’को अर्थबोधमा समेत सस्तो लोकप्रियता र अन्धआलोचनाको बिब्ल्याँटे दोहोरीसमेत चलिरहेको छ।

वास्तवमा कुर्सीमोहले नैतिक मर्यादालाई सम्बोधन गर्न सकेन। जनमतलाई आफ्नो बनाउने र फेरि झुक्याएर सत्तामा पुग्ने खेल चलिरहेकै छ। रचनात्मक परिवर्तनमुखी विकासका पक्षमा सोच्ने फुर्सद कसैलाई छैन। शक्ति केन्द्रमा रहेर खेलिरहने होडबाजी नै आजको दूषित राजनीतिको यथार्थ हो। अन्ततः जनतालाई नै ढाल र तरबार बनाइरहिएको देखिन्छ। केही–केही नयाँपन देखिँदै गर्दा पुनः अस्थिरताकै पुनरावृत्तिको छनक आइसकेको पनि जगजाहेरै छ। परिणामतः आममान्छेको चुलोचौकोले अझै पनि बिब्ल्याँटो राजनीतिसँग मुकाबिला गरिरहनुपर्ने भाष्य स्थापित भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.