मुस्ताङमा छैन दमकल

मुस्ताङमा छैन दमकल
मुस्ताङमा एक–आपसमा जोडिएका परम्परागत घरहरू। तस्बिर : सुन्दरकुमार थकाली
सुन्नुहोस्

मुस्ताङका अधिकांश परम्परागत घरहरूमा सदियौं पहिलेदेखि घरको छतमाथि लस्करै दाउरा पाँज्ने प्रचलन छ।

जोमसोम : ‘जोमसोमै बजारमा, बाह्र बजे हावा सरर’ नेपथ्य ब्यान्डका गायक अमृत गुरुङको धेरै अघिको कर्णप्रिय गीत हो। यो गीतले मुस्ताङको जोमसोममा दिउँसो बाह्र बजेपछि उन्मादको बजोडको हावाहुरी चल्छ भन्ने जनाउँछ। गीतका शब्द सृजनाकार पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीले मुस्ताङको भौगोलिक अवस्था र यहाँका वातावणीय अनुभवलाई नजिकबाट नियाल्दै यस गीतको शब्द रचना गरेका थिए।

गीतमा चित्रण गरिएझै मुस्ताङमा दिउँसो बाह्र बजेपछि बेजोडको हावाहुरी चल्छ। बस्ती नै नभएको कालीगण्डकी नदीको बगरमा स–साना ढुङ्गा हावाको झोक्काले उडाइदिन्छ। समुन्द्री सतहदेखि करिब २५ मिटर उचाइमा रहेको मुस्ताङमा हावाहुरी चलेपछिमा जनजीवन नै प्रभावित पारिदिन्छ। पृथक भुगोल र यहाँ चल्ने हावाको प्रत्यक्ष अनुभवले मुस्ताङ भ्रमण गर्ने पर्यटकले हिमाली जिल्लाको फरक अनुभूति गर्न सक्छन्।

मुस्ताङमा बाह्र बजेपछि चल्ने हावाको गीतमा वर्णन गरिए पनि यहाँका लागि कहिलेकाहीँ यही हावा अभिशाप बनिदिन्छ। मुस्ताङमा सम्भावित आगलागीको घटना हुँदा यहाँ चल्ने हावाले थप विपद् र संकट निम्त्याइदिन्छ।  जुन नियति मुस्ताङीले वर्षौंवर्षदेखि झेल्दै आइरहेका छन्। प्राचीन कला, संस्कृति र जीवन्त परम्परागत सभ्यता र मौलिकताले हिमाली जिल्ला मुस्ताङको पहिचानलाई विश्वमाझ परिचित तुल्याइदिएको छ। मुस्ताङको मौलिक संस्कृतिभित्र यहाँको परम्परागत ढुंगा र माटोले बनेका सदियौं पुराना घर जीवन्त छन्। तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङको सीमावर्ती गाउँसम्म ९६ वटा गाउँ बस्ती छन्। यहाँका अधिकांश बस्तीहरू एक–आपसमा गुजमुच जोडिएका छन्। यिनै आपसमा जोडिएका पुराना घरहरूले यहाँका पर्यटनलाई जोड्न योगदान दिएको छ।

मुस्ताङका अधिकांश परम्परागत घरहरूमा सदियौं पहिलेदेखि घरको छतमाथि लस्करै दाउरा पाँज्ने प्रचलन छ। यही सांस्कृतिक प्रचलन अझै मुस्ताङमा जीवितै छ। मुस्ताङमा लस्करै एक–आपसमा जोडिएका घरहरूमा कुनै सम्भावित आगलागीको घटना हुँदा विपद् प्रतिकार्य गर्न पनि उक्तिकै चुनौतीपूर्ण छ। २०७५ साल मंसिरमा मुस्ताङ सदरमुकाम जोमसोमको एक फर्निचर उद्योग रहेको दुई तले घरमा ठूलो आगलागी भयो। घर आगो निभाउने समुचित उपकरण नहुँदै पूरै घर जलेर नष्ट भयो। जसबाट करोडौंको सम्पत्ति नष्ट भयो। 

२०७६ सालमा पनि जोमसोममा एक फेन्सी पसल रहेको घरमा आगलागी भयो। जहाँ पूरै घर जलेर नष्ट भयो भने फेन्सी पसलमा राखिएका लाखौं रुपैयाँ बराबरको क्षति भयो। यसै वर्ष २०७९ माघ २२ गते थासाङको लेते कालोपानीमा पनि एक दुई तले घर विद्युत् सट भएर आगलागी भयो। जसबाट घर पूर्ण रूपमा क्षति भयो। मुस्ताङमा आगो निभाउने समुचित उपकरण नहुँदा माथि उल्लेख गरिएका घरहरू पूर्ण रूपमा क्षति भए। स्थानीय र सुरक्षाकर्मीले बाल्टीबाट पानी खन्याएर आगो निभाउने प्रयास गरे पनि आगो निभेन। मुस्ताङमा सम्भावित आगलागी हुँदा एक घरबाट अर्को घर जोगाउन आगो निभाउन उपकरण आवश्यक छ। तर, जिल्लाको ५ वटै स्थानीय तहमा वारुणयन्त्र उपलब्ध छैन। जसका कारण मुस्ताङ आगलागीको घटना हुँदा थप क्षति न्यूनीकरण गर्न समस्या छ। 

मुस्ताङमा विगत ५ वर्षअघि देखि नै आगो नियन्त्रण गर्ने वारुणयन्त्रको आवश्यकताको महसूस गरिएको थियो। जिल्ला विपद् व्यवस्थापन समितिले पनि यसबारे प्रसंग उठान नगरेको होइन। यद्यपि, यस विषयमा यहाँका स्थानीय तहले वारुणयन्त्र व्यवस्थापन गर्ने विषयमा उदासिन बने। स्थानीय तहमा विपद् व्यवस्थापन कोष रहे पनि जिल्लामा वारुणयन्त्र व्यवस्थापनमा कुनै पालिकाले चासो दिएनन्।

विगतका वर्षहरूमा मुस्ताङमा कम्तीमा पनि एउटा वारुणयन्त्र चाहिन्छ।  यसका लागि ५ वटै तहले साझेदारी गर्ने कुरा पनि उठ्यो। तर,वारुणयन्त्र व्यवस्थापन गर्ने विषय केवल कुरा कुरामा मात्र सीमित रह्यो। कसैले पहल गरेनन्।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीले आगलागी नियन्त्रण गर्न कम्तीमा एक वारुण यन्त्र आवश्यक पर्ने बताए। ‘मुस्ताङलाई दमकल आवश्यक छ। यहाँ सबै पालिकालाई राखेर यो विषय राख्नेछु,’ प्रजिअ केसीले भने, ‘सबै पालिकाले बजेट साझेदारी गरे वारुणयन्त्र किन्न गाह्रो छैन। यसले दीर्घकालीन रूपमा आगलागी क्षतिको जोखिममा जोगाउँछ। तर, यहाँका कतिपय स्थानीय तहले आगो नियन्त्रण गर्न वारुणयन्त्र नभई पानी तान्ने ट्यांकरसहितको पम्पको आवश्यक छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.