हवाई रुटमा भारतको अलमल

हवाई रुटमा भारतको अलमल

दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन।

काठमाडौं : पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिना भयो। तर आन्तरिक उडानमा नै सीमित छ। गत जेठ २ गतेबाट सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुस १ गतेबाट बाह्य उडान ठप्प छ। भैरहवामा जजिरा एयरले हप्तामा तीन उडान गर्दै आएको थियो। खराब मौसमको कारण देखाउँदै ६१ दिनदेखि भैरहवामा अन्तर्राष्ट्रिय नियमित उडान रोकिएको छ। तर, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि भारतको अनुमति पहिलो विषय हो। 

दुई दिनको नेपाल भ्रमण सकेर फर्किएका भारतीय विदेश सचिव विनय क्वात्रासँगको छलफलमा पनि नयाँ हवाई रुट र भारतीय अनुमतिको सम्बन्धमा खासै छलफल भएन। भारतीय सचिवसँगको भेटमा नेपाल तर्फबाट थप हवाई प्रवेश मार्गका साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नजिकको सीमा उडान सञ्चालनका लागि सहमतिका सम्बन्धमा अनुरोध गरिएको थियो। करिब १५ दिनअघि नै सो सम्बन्धमा परराष्ट्रमा प्रस्ताव पठाइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए। 

‘भैरहवा रुटलाई बाई डिरेक्सनल बनाउने (विमान आउने र जाने) र पोखराको सम्बन्धमा सिमराबाट छिरेर गल्फ ५९० रुट भएर जाने सम्बन्धमा हामीले पहिला पनि भनेका थियौं,’ उनले भने। दुई देशको परराष्ट्र सचिवको भेटमा उद्योग तथा वाणिज्यसम्बन्धी छलफलले प्राथमिकता पाएकोले पनि यो नीतिगत विषय सम्बोधन नभएको भन्ने सुनिएको भुलले बताए। प्राधिकरणले केही समयअघि पनि कूटनीतिक नोट भनेर प्रक्रियागत रूपमा नै भारतलाई पठाएको तर कुनै प्रतिक्रया नआएको पनि उनले जानकारी दिए। 

भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ।

नयाँ रुट र सीमा उडान सहमतिको भारत समक्ष गरिएको प्रस्ताव भने नयाँ होइन। नेपाल पक्षले दशकदेखि उक्त मुद्दालाई हरेक कूटनीतिक भेटमा उठाउँदै आएको छ। भारतले मौखिक सहमति जनाउने तर कार्यान्वयन नगरेको प्राधिकरण पूर्वकार्यकारी निर्देशक राजकुमार क्षेत्री बताउँछन्। चिनियाँ लगानी रहेका कारण पनि नयाँ हवाई रुटका लागि भारतीय अनुमति प्रभावित हुने सम्भावना रहेको क्षेत्रीले बताए। 

प्राधिकरणले भारतीय निकायसँग नयाँ रुटको विषयमा लामो समयदेखि छलफल गर्दै आएको छ। तर, भारतले हालसम्म यो विषयमा निष्कर्षसहितको निर्णय दिन सकेको छैन। यसले गर्दा भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी जहाज नेपाल भित्र्याउने सरकारको योजना अलपत्र पर्दै आएको छ। 

हाल ९० प्रतिशत अन्तर्राष्ट्रिय उडान सिमरा हुँदै काठमाडौं भित्रिने गरेका छन्। चीनबाट आउने विमान सगरमाथा आसपास क्षेत्र र भुटानबाट आउने विमान मेची हुँदै नेपाल प्रवेश गर्छन्। नेपाल बाहिरिने हवाई रुटे सिमरा, विराटनगर, जनकपुर, महेन्द्रनगर र भैरहवाको आकाश मार्ग रहेको छ।

प्रायः एउटै रुटबाट आगमन हुँदा हवाई ट्राफिक जामका साथै उडान तालिका प्रभावित र लामो समयसम्म आकाशमै विमान ‘होल्ड’ गर्नुपर्ने बाध्यता नेपालले भोग्दै आएको छ। हाल प्रयोग भइरहेका रुटबाहेक थप रुट उपलब्ध भएको अवस्थामा व्यवस्थापन गर्न सहज हुने बताइन्छ। कम्तीमा भैरहवा र नेपालगन्ज रुटका लागि मात्रै भारत सकारात्मक हुने हो भने नेपाल छिर्ने विमानका लागि दूरी निकै घट्नेछ। 

भैरहवामा मार्चबाट अन्तर्राष्ट्रिय उडान
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बाह्य उडान सञ्चालनका लागि प्रविधि नै बाधक बनेको छ। यहाँ जडित इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम (उपकरणद्वारा नै अवतरण गरिने प्रणाली) आईएलएसका कारण अन्तर्राष्ट्रिय उडानमा समस्या भएको छ। आईएलएस प्रयोग गर्दा भारतीय हवाई सीमा पनि छुने भएकाले भारतको अनुमति चाहिएको हो। यसका लागि भारतसँग पहल हुँदै आएको प्राधिकरणका सहसचिव ज्ञानेन्द्र भुल बताउँछन्। ‘सफा मौसमभन्दा पनि खराब मौसमको समयमा भारतीय सीमा छुन सक्ने हो। करिब ६ सय मिटर भारतीय सीमा छुन्छ,’ उनले प्रष्ट्याए।

भैरहवा विमानस्थलमा एयर जजिराले मात्रै नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आएकोमा पुस १ बाट बन्द छ। अब मार्च ९/१० बाट नियमित उडान गर्न सक्ने जानकारी आएको विमानस्थल प्रमुख गोविन्द दाहालले बताए। अरू एयर कम्पनीले चासो दिएका छैनन्। केही चार्टर्ड उडान फाट्टफुट्ट भइरहेको छ। मार्चदेखि नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नियमित उडान गर्न सक्ने बताइएको छ। 

२३ फेब्रुअरीबाट अन्तर्राष्ट्रिय उडानका लागि पोखरा तयार 

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको डेढ महिनादेखि आन्तरिक उडानमा नै सीमित भएको छ। प्रक्रियागत ढिलाइका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। एयर एम्बुलेन्स, चार्टर्ड पार्टीले उडानका लागि अनुरोध गरिरहे पनि २३ फेब्रुअरी यता उडान हुन नसक्ने प्राधिकरणका सहप्रवक्ता भुल बताउँछन्।

अन्तर्राष्ट्रिय उडानका लागि एरोनोटिकल इन्फरमेसन पब्लिकेसन –एआईपी) गरी पोखरालाई अन्तर्राष्ट्रिय विमानस्थलमा स्तरोन्नति भयो भनेर सूचना दिने काम भइसकेको छ। यसको ४२ दिनको अवधि २२ फेब्रुअरीमा पुग्दैछ। २३ फेब्रुअरीबाट औपचारिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु हुन सक्ने भुल बताउँछन्। पोखराबाट नियमित उडानका लागि चाइनिज एयरलाइन्सले इच्छा देखाइरहेको भुलले जानकारी दिए। 

२३ फेब्रुअरीबाट इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स (आईएफआर–उपकरणको माध्यमबाट उडान सञ्चालन गरिने) बाट उडान सुरु हुन सक्ने विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले बताए। जनवरी १२ मा मात्रै पोखरा विमानस्थलको एआईपी प्रस्ताव गरेको भएर अन्तर्राष्ट्रिय उडानको प्रक्रिया ढिला भएको उनले थपे। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.