मोरङमा दुई पुरुष मृत फेला
दुई पुरुषको शव फेला परेको छ। उनीहरूको पहिचान खुलेको छैन।
विराटनगर: मोरङका अलगअलग स्थानमा २ जना पुरुष मृत फेला परेका छन् । दुवै जनाको पहिचान खुल्न बाँकी छ।
बेलबारी नगरपालिका–३ स्थित पशु हटिया लाग्ने ठाउँमा अन्दाजी ७० वर्षीय वृद्ध पुरुष बुधबार दिउँसो ३ बजेतिर मृत फेला परेका छन् । सुतिरहेको अवस्थामा मृत फेला परेका पुरुषको पहिचान नखुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
त्यस्तै सुन्दरहरैँचा नगरपालिका–५ स्थित हसिना खोलाको बाँधको पानीमा डुबेको अवस्थामा अन्दाजी ३६ वर्षीय पुरुष मंगलबार राति मृत फेला परेका छन् । उत्तानो परेको र शरीरको आधार भाग पानीमा डुबेको अवस्थामा राति साढे ९ बजेतिर शव भेटिएको डीएसपी कार्कीले बताए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । इलाका प्रहरी कार्यालय बेलबारीले घटनाको अनुसन्धान गरिरहेको छ ।