उपचारको अभावमा अढाई वर्षदेखि ओछ्यानमै थलिए बस्नेत

उपचारको अभावमा अढाई वर्षदेखि ओछ्यानमै थलिए बस्नेत
उपचारको अभावमा ओछ्यानमै थलिएका विराटनगर–६ निवासी माधव बस्नेत। तस्बिर : अन्नपूर्ण

विराटनगर : विराटनगर महानगरपालिका–६ बस्दै आएका दुर्घटना पीडित ५० वर्षीय माधव बस्नेतले अझै न्याय पाउन सकेका छैनन्।

अढाई वर्षदेखि ओछ्यानलाई नै संसार मानेर बसेका उनले राज्यको साथ पाउन नसकेका हुन्। सबैलाई पीडाबोध गराउने कहानी बोकेर बसेका उनले राज्यलाई गुहार लगाइरहेका छन्। तर, राज्य मौन छ। 

हाल उनी उपचारको अभावमा ओछ्यानमै छटपट्याइरहेका छन्। २०७७ पौष १ गते काठमाडौंबाट विराटनगर फर्किरहेका बस्नेत साँझको करिब ६ बजे सिराहाको लहानमा मोटरसाइकल दुर्घटनामा परेका हुन्। अनियन्त्रित रूपमा विपरीत दिशाबाट आइरहेको ट्याक्टरले बस्नेत चालक रहेको मोटरसाइकललाई ठक्कर दिँदा उनी यो अवस्थामा पुगेका हुन्। 

उनी आफ्नो कलेजोको क्यान्सरको शल्यक्रियापश्चात फलोअपका लागि काठमाडौं गएका थिए। २०७५ कात्तिकमा उनले कलेजोको क्यान्सरको शल्यक्रिया गराएका थिए। फलोअपका लागि काठमाडौंस्थित टिचिङ अस्पताल पुगेर फर्किदै गर्दा दुर्घटनामा परेको उनले बताए। उनले भने, ‘बाँच्न त बाँचे। तर, यो जीवन पनि मृत्युसरह भएको छ। खानपिनदेखि दिसापिसाबसम्म सबैकुरामा ओछ्यानकै भर पर्नुपरेको छ।’

सिराहाको गोलबजार नगरपालिका–११ घर भएका वर्ष २६ का सत्रुधन सदायले चलाएको ट्याक्टरको ठक्करबाट बस्नेतको दुर्घटना भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार सदायले मादक पदार्थ सेवन गरी ट्याक्टर चलाएको देखिएको छ। 

सवारी चालक अनुमतिपत्र समेत नभएका सदायले कल्याणपुर–१२ घर भएका राम एकवाल महतोको ट्याक्टर चलाएर दुर्घटना गरेको देखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले बताए। त्यतिबेला पीडकलाई पक्षलाई नियन्त्रणमा लिएर कानुनी कारबाही पनि अघि बढाइएको उनले जानकारी दिए। 

प्रहरीका अनुसार जिल्ला अदालत सिराहाका न्यायाधिश पुष्पराज थपलियाको इजलासले २०७८ पौष २६ गते ट्याक्टर चालकलाई ४ वर्ष कैद र ट्याक्टर धनीलाई आधा सजायको फैसला सुनाएको थियो। 

चालकलाई २५ हजार रुपैयाँ जरिवाना र धनीलाई १२ हजार ५ सय जरिवानाको फैसला पनि अदालतले गरेको थियो। त्यतिबेला पीडितलाई दुवै जनाबाट क्षतिपूर्ति बापतको न्यून रकम भराउने फैसला पनि भएको देखिएको सिराहा प्रहरीले जनाएको छ।

तर, अदालतले क्षतिपुर्ति बापत मात्र १ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने फैसला गरिदिएपछि आफु मारमा परेको बस्नेतले बताएका छन्। दुर्घटना गराउनेलाई कानुनी कारबाही भएपनि प्रभावकारी उपचारको अभावमा आफ्नो जीवन मरेसरह भएको उनको भनाइ छ। प्रशासनको बेवास्ताका कारण ट्याक्टर धनी पनि पुनः सम्पर्कमा नआएको उनको गुनासो छ।

दुर्घटनापश्चात विराटनगरस्थित नोबेल अस्पताल ल्याइएका बस्नेतले हाल काठमाडौं ट्रमा सेन्टरमा आफ्नो उपचार गराइरहेका छन्। नोबेलमा उपचार सम्भव नभएपछि उनलाई काठमाडौं रिफर गरिएको हो। दुर्घटनामा पर्दा शरीरको विभिन्न भागमा चोट लाग्नुका साथै उनको दाहिने खुट्टाको हड्डी कच्याककुच्चुक भएको थियो। 

सुरुमा विराटनगरस्थित नोबेल अस्पतालमा २ महिना उपचार गराएका उनको हाल कम्मरदेखि मुनिको भाग चल्दैन। दाहिने हातको औंला पनि चल्दैन। काठमाडौं ट्रमा सेन्टरमा उपचार गराएपछि हाल उनका शरीरका अन्य भागको घाउ निको भएपनि हातको औंला र खुट्टा अझै चल्न सकेको छैन। 

उनी कसैको सहाराबिना उठबस र हिँडडुल गर्न सक्दैनन्। १ महिनापछि फलोअपका लागि पुनः काठमाडौं जानुपर्ने भएको उनले अन्नपूर्णलाई बताए। ‘काठमाडौंमा अपरेशन गरेको पाँच महिना चल्दैछ। १ महिनापछि फलोअप छ,’ उनले भने, ‘अपरेशन गरेपनि खुट्टा टेक्न मिलेको छैन्। सहारा चाहिन्छ। हातको औंलाहरू पनि चल्दैनन्।’

दुर्घटना गराउने पक्षबाट पटकपटक गरेर बस्नेतले हालसम्म मात्र रु. २ लाख १५ हजार रुपैयाँ प्राप्त गरेका छन्। जबकी उनको उपचारमा हालसम्म २६ लाख रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ। पीडक पक्षले पछि तिरिदिन्छन भन्ने आशमा ऋण खोजेर उपचार गराइरहेको उनी बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म ऋण खोजेर उपचार भइरहेको छ। तर, ऋण तिर्न नसक्दा अर्को तनाव थपिएको छ। उपचारमा अझै १० लाख रुपैयाँभन्दा बढी रकम खर्च हुने डाक्टरको भनाई छ।’ 

उपचारको क्रममा दुर्घटना पीडित बस्नेतले सिराहाका तत्कालीन प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई ८ लाख रुपैयाँ खर्चको बिल पेश गरेका थिए। पछि उपचारका क्रममा खर्च बढ्दै गएपछि सोही अनुसार बस्नेतले बिल पेश गर्दै गए। 

१७ लाखको बिल पेश गर्दा सिराहा तत्कालिन सिडियो लालबाबु कवाडीले दुर्घटनाको क्षतिपुर्ति बापत पीडित माधव बस्नेतलाई १२ लाख ४७ लाख ५०० रुपैयाँ दिनु भनी निर्णय नै गरिदिए। तर, प्रशासनको निर्णयप्रति असहमति जनाउँदै पिडक पिक्षले हाल जिल्ला अदालतमा पुनरावेदन गरेका छन्। 

मुद्दा अदालत पुगेकाले प्रशासनको तर्फबाट पनि तत्काल केही गर्न नसकिने अवस्था रहेको जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए। उनले भने, ‘अब अदालतको फैसला कुर्नुको अन्य कुनै विकल्प छैन्।’

विराटनगरमा डेरा बस्दै आएका बस्नेत कोठा र पसलको मासिक १० हजार भाडा तिर्छन्। उनकी श्रीमती स्वस्थानी किराना पसल चलाउँछिन्। तर, पसलको अम्दानीले घरको भाडा तिर्न पनि हम्मेहम्मे पर्छ। 

आम्दानीको अन्य कुनै बाटो नरहेकाले घर चलाउन समेत गाह्रो भइरहेको श्रीमती स्वस्थानी बताउँछिन्। ‘छोराले प्लस टु सकिसकेको छ। छोरी कक्षा ८ मा पढछे। तर, पैसाको अभावमा उनीहरूको पठनपाठन समेत अगाडि बढाउन सकिएको छैन्।’

आर्थिक अवस्था कमजोर भएका कारण ओछ्यानलाई नै सर्वश्व ठानेर बसेका विराटनगर निवासी माधव बस्नेतले उपचारका लागि आर्थिक सहयोगको अपेक्षा गरेका छन्। 

प्राईम कर्मसियल बैंकको विराटनगर शाखामा माधव कुमार बस्नेतको नाममा रहेको ‘०३४०११७१ पि एस’ नम्बरको खातामा सक्दो सहयोग गरिदिन उनले आग्रह गरेका छन्। उनलाई ९८४२०६९२७९ मार्फत् सम्पर्क गरेर पनि सहयोग गर्न सकिने जनाइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.