मधेसमा भोलिबाट एमालेको ‘मिसन ग्रास रुट’ अभियान
ढल्केवर(धनुषा) : नेपाल कम्युनिस्ट पार्टी(एमाले)ले मधेस प्रदेशमा मिसन ग्रास रुट अभियान चलाउने भएको छ।
बिहीबार जनकपुरमा सम्पन्न पार्टीको मधेश प्रदेश कमिटीको सचिवालय बैठकले शुक्रबारबाट मिसन ग्रास रुट अभियान चलाउने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कमिटीले तय गरेको मिसन ग्रास रुट अभियानलाई शुक्रबार जनकपुरको भान्सा घरबाट शुभारम्भ गरिने प्रदेश कमिटी सचिवालय सदस्य सोमप्रसाद शर्माले जानकारी दिए।
उनका अनुसार यो अभियान आगामी वैशाख ९ गतेसम्म भब्य रूपमा चलाइने छ।
बैठकले महोतरी, रौतहट र पर्साको जिल्ला अधिवेशन गर्न निर्देशन गर्ने निर्णय समेत गरेको छ। बैशाख १४-१५ गते महोत्तरी, वैशाख १७-१८ गते पर्सा र वैशाख २०-२१ गते रौतहटको जिल्ला अधिवेशन सम्पन्न गर्न निर्देशन गर्ने निर्णय भएको प्रदेश कमिटी सचिवालय सदस्य शर्माले बताए।