किन हुन्छ ग्यास विस्फोट ?
पसल, घर, वर्कसप, फ्याक्ट्री, कम्पनी, खाजा पसललगायतका ठाउँमा बढी विस्फोट देखिन्छ।
काठमाडौं : खाना पकाउन एलपी ग्यासले धेरै सहज बनायो। अहिले अधिकांशको घर/किचनमा ग्यास सिलिन्डर राखिएकै हुन्छन्। ग्रामीण क्षेत्रमा भन्दा सहरका घर–घरमा एउटा मात्रै नभई सोभन्दा बढी ग्यास सिलिन्डरको जोहो गरिएको पाइन्छ। तर, धेरैलाई यसबाट हुने दुर्घटनाका कारण थाहा नहुन पनि सक्छ। विज्ञ भन्छन्, ‘ग्यास लिक भएर कोठा नै जल्न सक्छ। लिक भएको ठाउँमा आगोका कुनै स्रोत परे विस्फोटसँगै जल्ने खतरा
जुद्ध वारूणयन्त्र काठमाडौंका पूर्वप्रमुख तथा अग्नि नियन्त्रक किशोरकुमार भट्टराई सिलिन्डर प्रयोग गर्दा धेरै सावधानी अपनाउनुपर्ने बताउँछन्। ग्यास लिक भएर भरिएको कोठामा बिजुली बत्ती बाल्दा पनि आगलागी हुन्छ। ‘ग्यास लिक छ भने आगलागी हुन्। विस्फोट हुन समय लाग्दैन,’ भट्टराई भन्छन्, ‘मुख्य कुरा ग्यास लिक हुनबाट बचाउन नै पर्छ।’
भट्टराईका अनुसार ग्यास लिक भएर भरिएको कोठामा बिजुली बलिरहेको छ भने निभाउन हुन्न, निभेको छ भने बाल्न पनि हुन्न। ‘बत्तीको स्विच अन अफ गर्दा प्लगमा आउने सानो झिल्को ‘स्पार्क’ ले पनि ठूलो आगलागी हुन्छ,’ उनले भने, ‘प्लग अन अफ गर्दा निस्कने झिल्कोले लाइटरको काम गर्छ। ग्यास राखेको कोठाको झ्यालढोका बन्द गर्नुहुँदैन। भेन्टिलेसन खुला नै छाड्नुपर्छ। जाली सधैं खुला हुनुपर्छ। सकभर ग्यास सिलिन्डरलाई कोठाबाहिरको खाली ठाउँमा स्टोर गर्दा जोखिम कम हुन्छ।’
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँका अनुसार हरेकको भान्सामा प्रयोग हुने अति संवेदनशील ग्यास सिलिन्डरको गुणस्तरीय हेर्नुपर्छ। सरकारी निकायको चासो हुनुपर्छ। पुराना सिलिन्डर भान्सामा पुग्दा जोखिम बढी हुन्छ। सिलिन्डर व्यवसायी भने सिलिन्डर आफंै नपड्किने दाबी गर्छन्। आगलागी भए मात्रै ग्यास सिलिन्डर विस्फोट हुने उनीहरूको दाबी छ।
सिलिन्डर निर्माण कम्पनी (एरोटेक प्रालि)का अध्यक्ष राजेन्द्र कावरा सिलिन्डरको कमजोरीका कारण सिलिन्डर विस्फोट नहुने दाबी गर्छन्। रेगुलेटर लिक भएर, ग्यास पाइप कमसल भएर वा पाइपमा फोहोर थुनिएर मात्रै विस्फोट हुने गरेको कावराको दाबी छ। मुलुकमा अन्तर्राष्ट्रिय स्तरका ग्यास सिलिन्डर निर्माण भइरहेको उनी बताउँछन्। ग्यास सिलिन्डर निर्माणका लागि ४ वटा कम्पनीले आधिकारिकता
पाएका छन्।
एलपी ग्यास उद्योग संघका महासचिव कृष्णभक्त श्रेष्ठले सिलिन्डरकै कमजोरीले विस्फोट हुने भन्ने कुरा गलत भएको बताउँछन्। उनले नेपालमा ग्यास उद्योग २०२८ सालमा सुरु भएको बताउँदै झन्डै ६० वटा कम्पनीमार्फत १ करोड ५० लाखवटा सिलिन्डर पठाएको जानकारी दिए। उद्योगले पठाएका सिलिन्डर गुणस्तरीय हुने तर्क गर्दै उनले ढुवानी गर्दा, स्टोर गर्दा तथा सिलिन्डर क्यापमा समस्या आउँदा जोखिम बढेको तर्क गरे। भन्छन्, ‘ग्यास भर्दा हामीले प्रत्येक पटक सिलिन्डर सफा गर्छौ। परिपक्क क्याप लगाउँछौं।’
प्रत्येक कम्पनीले सिलिन्डरको हाइड्रो जाँच गर्नुपर्छ। सरकारले गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै ग्यास भरी बजारमा पठाइने हुँदा सिलिन्डरको क्षमतामा प्रश्न गर्ने ठाउँ नरहेको श्रेष्ठको दाबी छ। भन्छन्, ‘सयमा सय सिलिन्डर नै चेकजाँच हुन्छ। ग्यास भरिसकेपछि पनि सिलक्याप लगाउने बेला पुनः चेकजाँच हुन्छ।’
व्यवसायी श्रेष्ठले दाबी गरेझै उद्योगबाट बजारमा पठाइएका सिलिन्डरको गुणस्तर गर्ने आधिकारिक निकाय भने अहिलेसम्म मौन छ। निकै पुराना ग्यास सिलिन्डर पनि भान्सामा आइरहेकै छ। कुनै सिलिन्डर १० वर्षमा नै स्क्राप पनि भएका छन्। नियमअनुसार उत्पादनको पहिलो ७ वर्षमा पूरै रिफाइन गर्नुपर्ने हो। तर, यहाँ कुनै कम्पनीले दशकौंसम्म पनि रिफाइन गरेको भेटिदैन। विस्फोटका घटना भएको समयमा २/४ दिन हल्ला हुन्छ त्यसपछि चुपचाप।
निश्चित प्रक्रिया पुर्याएर मात्रै उद्योग सञ्चालन गर्न पाइन्छ। दर्ता र स्वीकृति भएका कम्पनीले मात्रै ग्यास बजारमा पठाउन सक्छन्। सिलिन्डरको अवधिको विषयमा कहीँ कतै यति नै वर्ष भन्ने छैन।
- ज्योति जोशी भट्ट, प्रवक्ता, नेपाल गुणस्तर तथा नापतौल विभाग
हरेकको भान्सामा प्रयोग हुने अति संवेदनशील ग्यास सिलिन्डरको गुणस्तरीय हेर्नुपर्छ। सरकारी निकायको चासो हुनुपर्छ। पुराना सिलिन्डर भान्सामा पुग्दा जोखिम बढी छ।
- ज्योति बानियाँ, अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च
प्रहरी प्रधान कार्यालय नक्सालले दिएको तथ्यांकअनुसार ग्यास सिलिन्डर विस्फोटमा पछिल्लो ३ वर्षमा देशभर ९ जनाको मृत्यु भएको छ। ४२ जना घाइते भएका छन्। नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलका अनुसार देशभर भएका प्रायः सबै घटनामा ग्यास लिक भएको खुलेको छ। पसल, घर, वर्कसप, फ्याक्ट्री, कम्पनी, खाजा पसललगायतका ठाउँमा बढी विस्फोट देखिन्छ।
उपभोक्त हित संरक्षण मञ्चका महासचिव विष्णु तिमल्सेना भान्सा–भान्सामा कमसल सिलिन्डरकै कारण विस्फोटका घटना बढेको बताउँछन्। भन्छन्, ‘सिलिन्डरमा गुणस्तर हुन्छ। एक्सपायर डेट हुन्छ। सिलिन्डरमा खिया लाग्यो कि ? तोैल घट्यो कि ? लेदो भरिएर कम वेट भएको छ कि ख्याल गर्नुपर्छ।’
तिमल्सेनाका अनुसार सिलिन्डर विस्फोटमा मुख्य समस्या लिकेज हो। गुणस्तरीय क्याप लगायो भने लिकेज हुँदैन। प्रत्येक पटक ग्यास भर्दा नया क्याप लगाउनुपर्छ। तर, यहाँका उद्योगले एउटै क्याप धेरैपटक प्रयोग गरिरहेका छन्। नियमनका निकाय चुप छ।
मञ्चका उपाध्यक्ष अजय अधिकारीका अनुसार हरेक ग्यास कम्पनीले प्रत्येक सिलिन्डरको १५ लाख बराबरको बिमा गरेका हुन्छन्। बिमा गर्दाको सिरियल नम्बर पनि सिलिन्डरमा लेखिएको हुन्छ। ‘तर, हामीले पसलबाट ग्यास ल्याउँदा सिरियल नम्बरसहितको बिल पाउँदैनौं। हामीलाई यस्तो बिल किन दिइन्न ?’, उनी भन्छन्, ‘पक्कै पनि नापतौल, आयल निगम र ग्यास कम्पनीको मिलेमतो हुनुपर्छ। रिटेस्ट नगरी मिति मात्र फेरेर कमसल सिलिन्डर बजारमा पठाएको हुनुपर्छ। ग्यास कम्पनीले सिलिन्डर पड्किन्न भनेर हुन्छ ?’
आयल निगमका प्रवक्ता विनितमणि उपाध्याय धेरैजसो दुर्घटना मानवीय लापरबाहीले हुने दाबी गर्छन्। ‘सुरक्षित तरिकाले प्रयोग गर्न जाने जोखिम कम हुन्छ’, प्रवक्ता उपाध्याय भन्छन्। प्रत्येक महिना देशभर करिब ३२ लाख ४० हजार सिलिन्डर खपत हुन्छ। बर्सेनि १५ देखि २० प्रतिशतका दरले ग्यास खपत बढ्दो छ। सचेतना अपनाए दुर्घटना ९० प्रतिशत घटाउन सकिन्छ।
नेपाल गुणस्तर तथा नापतौल विभागका प्रवक्ता ज्योति जोशी भट्ट उद्योगलाई गुणस्तरीय चिन्ह प्रदान गर्ने बेलामा नै कडाइ गरेको बताउँछिन्।