म्याग्दीको निस्कोट र बिम जोड्ने सडक अलपत्र
म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई सडक आयोजना अलपत्र परेका छन्।
बेनी: अधकल्चो काम छाडेर निर्माण व्यवसायी सम्पर्कविहीन बनेपछि म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित दुई सडक आयोजना अलपत्र परेका छन्।
गाउँपालिकाले गौरवको आयोजनाको रुपमा कार्यान्वयन गरेको दरवाङ-निस्कोट र खारा-बिम सडक आयोजना अलपत्र परेका हुन्। आधा पनि काम नगरी निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि योजनाले पूर्णता पाउन नसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले बताए।
‘दुई वटै सडक निर्माणको काम गत असार महिनादेखि भएको छैन,’ उनले भने ‘कार्यपालिकाको निर्णय अनुसार आगामी असार महिनासम्म सम्झौताको म्याद थपिएपनि निर्माण व्यवसायी काममा फर्किएका छैनन् । पत्र र मौखिक रुपमा ताकेता गरिरहेका छौ।’
गाउँपालिकाको केन्द्र दरवाङदेखि वडा नम्बर १ र वडा नम्बर ७ जोड्ने सडक विस्तार, नाली, पर्खाल निर्माण, ग्रेड र घुम्ति सुधार गर्न गत वर्षदेखि आयोजना सुरु गरिएको थियो। वि.स. २०७८ माघ ७ गते दुई करोड आठ लाख तीन हजार १५९ रुपैयाँ मा जिकेआइएसएसी जेभी बुर्तिवाङले ठेक्का लिएको दरवाङ-निस्कोट सडकको भौतिक प्रगति ५० प्रतिशत छ।
हालसम्म ९६ लाख ६५ हजार ९२४ रुपैयाँ भुक्तानी भएको गाउँपालिकाका लेखापाल सागर पौडेलले बताए। उनका अनुसार एक करोड ५९ लाख ५४ हजार रुपैयाँमा दिव्यज्योती नाना जेभीले ठेक्का सम्झौता गरेको खारा-बिम सडकको हालसम्म ३७ लाख ४४ हजार रुपैयाँ मात्र भुक्तानी भएको छ।
थप भएको म्याद सकिन पाँच महिना बाँकी रहँदा सम्म पनि निर्माण व्यवसायी काममा फर्किएका छैनन्। निर्माण व्यवसायीले समयमा काम नगर्दा संघीय सरकारले दिने अनुदान कटौती हुने र गाउँपालिकालाई व्यभार थपिएर अप्ठ्यारो पर्ने गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए।
मालिका गाउँपालिका-१ का वडा सदस्य मानसिंह सापकोटाले निर्माण व्यवसायीले अधकल्चो बनाएर छाडेको सडकमा जोखिम र सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको बताए। उनले भने, ‘करोडौ बजेटको योजना अलपत्र पर्ने, नागरिकले सास्ती र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। जनता हामीसँग कराउँछन । ठेकेदारले हाम्रो कुरा सुन्दैनन्।’
जिकेआईएसएसी जेभीका विजय भण्डारी र दिपज्योती नाना जेभीका प्रतिनिधि विपिन खड्काले फोननै उठाउन छाडेको जनप्रतिनिधि र कर्मचारीले बताएका छन्।