बैंक र लघुवित्तको विरुद्ध सुर्खेतमा प्रदर्शन
वीरेन्द्रनगर : बैंक तथा लघुवित्तको चर्को ब्याजको विरुद्धमा सुर्खेतमा प्रदर्शन गरिएको छ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चर्को ब्याजदरका विरुद्ध विरोध प्रदर्शन गरेको हो।
वीरेन्द्रनगरको मंगलगढी चौकबाट सुरु भएको विरोध र्याली वीरेन्द्रचोकमा पुगेको थियो।
वीरेन्द्रचोकमा आयोजित कोण सभामा नेकपाका सुर्खेत जिल्ला इन्चार्ज धुर्व सिले बैंक तथा लघुवित्तको ऋणले मानिसहरूलाई आत्माहत्या गर्न बाध्य बनाएको बताए।
उनले उपभोक्तालाई मारमा पार्ने ती संस्थाहरूका विषयमा सरकारले उचित कदम चाल्न नसकेको बताए।
बैंक र लघुवित्तहरूले गरेको ज्यादतिका विषयका पार्टीले अभियान नै सञ्चालन गरेको बताउँदै उनले यसलाई सामान्य रूपमा नलिन सरकारलाई चेतावनी समेत दिए।
यस्तै नेकपाका सुर्खेत जिल्ला सचिव जित सिले बैंक तथा लघुवित्तले जनतालाई ऋणको कारण परेको समस्यालाई तत्काल समाधान गर्न सुझाव दिए।
उनीहरूका समस्याहरू समाधान नभए नेकपाले फरक अभियान चलाउने बताए। उनले राज्यले व्यवसायीहरूलाई समेत स्वतन्त्र रूपमा व्यवसाय गर्न अवरोध सिर्जना गरेको टिप्पणी समेत गरेका थिए।