राष्ट्रपति कांग्रेसकै उम्मेदवार बन्छ : उपसभापति खड्का
वीरेन्द्रनगर : नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्ने दाबी गरेका छन्।
नेपाली कांग्रेस वीरेन्द्रनगर कार्यसमितिको नगर सम्मेलनमा सहभागी हुन गृहजिल्ला सुर्खेत आएका नेता खड्काले नगर सम्मेलनलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका हुन्।
उनले भावी राष्ट्रपति नेपाली कांग्रेसबाटै बन्ने प्रशस्त वातावरण बनिसकेको बताए। उनले भने, 'धेरै कुरा नगरौँ, कांग्रेसकै उम्मेदवार राष्ट्रपति बन्नुहुन्छ।'
उनले निर्वाचनका बेला भएको गठबन्धन भित्रका दलहरू पनि नटाढिएको संकेत गरे। राष्ट्रपतिका विषयमा सत्तागठबन्धन भित्र खटपट देखिएका बेला कांग्रेस नेता खड्काले निर्वाचनमा गरिएको गठबन्धनबाट पार्टीलाई उपलब्धी नै भएको र फेरि पनि सहकार्य हुन सक्ने संकत गरेका छन्।
तर कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्छ भन्ने खुलाएनन्। त्यस विषयमा पार्टीमा छलफल भइरहेको बताए।
उनले पार्टी सरकारमा जाने र बाहिर बस्ने कुरा स्वभाविक भएको भन्दै कार्यकर्ताहरूलाई उत्साहका साथ संगठन निर्माणको काममा लाग्न आग्रह गरे।
उनले भने, नेपाली कांग्रेस विगतका भन्दा थप सशक्त बन्दै गएको छ। कांग्रेसको लोकप्रियता जनताका बीचमा घट्ने अवस्था छैन। बस्ती बस्ती र वडा वडाबाट सबैले पार्टी संगठनलाई थप मजबुत बनाउनका लागि सक्रियताका साथ लाग्नुस्।'