कर्णाली चिनाउने गायक पण्डित
वीरेन्द्रनगर : कर्णाली चिनाउने कर्णाली उत्सव कुडा कर्नालीका चौथो संस्करण शुक्रबार पहिलो दिन गायक सुरज पण्डितको संघर्षको कथाले दर्शकलाई रुवायो। आफ्नो कलाकारिता जीवनको संघर्षको कथा सुनाउँदै गायक पण्डित आफू पनि रोए, अरूलाई पनि रुवाए।
कर्णालीको दुर्गम जिल्ला जुम्लामा जन्मिएका रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले मोटर आउला बसेको छु रहरैमा बोलको निकै चर्चामा आएको लोकप्रिय गीतका गायक पण्डितले बाबाले दुईवटा विवाह गरेको, जेष्ठी आमाको कोखबाट जन्मिएको हुनाले बुवाले आफ्नो लालनपालन र शिक्षामा लगानी नगरेको, भात खानका लागि खाद्य संस्थानमा चामलको लाइनमा बसेको, मकैको चामलको भात धानको भात भन्दै खाएको जस्ता संघर्षमय दिनहरू छिचोल्दै जुम्लादेखि काठमाडौंसम्मको चुनौतीपूर्ण संघर्षको कथा सुनाए।
गाउँमा ढुंगा र गिट्टी कुटेर कमाएको पैसाले वाक्मिन र नारायण गोपालको क्यासेट किनेर एक दिनको घाम सयौँ दिनको पानी, लौ सुन मेरो रामकाहानी बोलको गीतमा संगीत सुनेको बताउने गायक पण्डितले सडकमा काम गरेर कमाएको पैसाले आफ्नो गायन जीवनको थालनी गरेको बताए।
चैतमा घुच्ची च्याउ र असोजमा चरेस पारेर बिक्री गरेर टिभी किनेका गायक पण्डितले भने, मेरा लागि जुम्लाबाट काठमाडौं धेरै टाढा थियो। मैले विद्यालय जाँदा आफ्टाइममा गीत गुनगुनाउदा शिक्षकले विद्यालयको वार्षिक उत्सवमा गीत गाउन आग्रह गरे। त्यसै बेला झुपा रेल पन भन्ने बोलको गीत गाएर मैले मेरो कलाकारिता जीवनको सुरु गरेको हुँ।
उनले भने, 'माइक र स्टेजमा जान गारो लाग्थ्यो। जिउँदो श्रीमानकी विधुवा मेरी आमाले मलाई बहादुर बनाउन चाहान्थिन्। मलाई खेलाडी बन्ने रहर थियो। तर डाक्टरले तपाईंको खेलाडी बन्नका लागि शारीरिक अवस्था कमजोर रहेको बताएकाले म त्यो क्षेत्रमा लागिन्। २०६८ सालमा जुम्लामा भएको पदम रोकाया एकल साँझ भयो। म भोलेन्टियर थिए। त्यहाँ गीत गाउने अवसर दिन अनुरोध गरे। त्यति बेला राजधानीबाट आएका कलाकारहरूको भन्दा आफ्नो प्रस्तुति मन पराए। त्यसपछि मैले कलाकार बन्ने अठोट गरे। योजनामा काम गरेका पैसा ५० हजार रुपैयाँ बोकेर म काठमाडौं गए। २०६८ पुस १६ गते माया गर्ने जीवन साथी रोज्यौ भन्ने खबर पाए, मलाई धोका दिन खोज्यौ भन्ने खबर पाँए बोलको मेरो पहिलो गीत रेकर्ड भयो। ३५ हजारको लगानीमा रेकर्ड भयो। भिडियो निकाल्ने पैसा पुगेर। अडियो त्यो गीत निकै लोकप्रिय पनि भयो। त्यसै गीतको मुनाफा अहिलेसम्म बाँचिरहेको छु।'
उनले थपे 'त्यसपछि काठमाडौं बस्न सक्ने हैसियत नभएकाले जुम्ला फर्किए। फेरि पैसा जम्मा गरेर २०६९ सालमा काठमाडौं गएर जोडेउ नाता सिन्दुरको बोलको गीत गाए। त्यसको पनि भिडियो निकाल्न सकिएन। कोही कसैले सहयोग पनि पाइन्। मेरी आमाले भन्थिन की तेरो कोई छैन। यो कलाकारिता क्षेत्रमा किन भबिश्य डुबाउदो। जीवन बर्बाद नपार। मैले आमालाई भने, म तपाईंलाई एक दिन खुसी बनाउला। सायद आमालाई अहिलेसम्म धेरै खुसी त दिन सकेको छैन होला। तर अहिले आमाले छोरा भनेर गर्ब गर्ने अवस्थामा पुगे। एक दिन खुसी दिनेछु। फेरि जुम्ला फर्किए। जुम्ला फर्किने क्रममा मेरो एक जना खड्कजित रोकायासँग भेट भयो। उसले मेरो क्षमता बुझेर एक जना रमेश भण्डारी भन्ने दाईलाई भेटाइदियो। उसले काठमाडौं बस्ने वातावरण बनाउन अनुरोध गरिदियो। २०७२ असोजमा एक दिन मैले भगवानसँग काठमाडौं टिक्ने वातावरण बनोस् भनेर भाकल गरिरहेका बेला रमेश दाईको फोन आयो। सानो जागिरमा लगाईदिए। सडक डिभिजनमा ज्यालादारी जागिर गरे।
'त्यसपछि मैले त्यसै जागिरबाट संगीत कलाश जान थाले। यस्तै संघर्ष गर्दै जाँदा २०७६ साल फागुन २८ गते हार्मोनियममा रियाज गर्दै थिए। अचानक हारमोनियममा यस्तो धुन आयो। अहिलेको रेलको बाटो पुग्दैछ रे तिमी बस्ने सहरैमा, हुम्ला कहिले मोटर आउला बसेको छु रहरैमा भन्ने गीतको धुन आयो। शब्द फेरेन। पहिलो हरफ मात्र मैले लेखे। काठमाडौंले रेलका कुरा गर्दा मेरो जुम्ला ढुंगे युगमै थियो। हुम्लामा मोटर बाटो पुगेको थिएन्। पछि यो गीतको सबै शब्दहरू लेखराज गिरीले लेख्नुभयो। त्यो गीतले सफलता पनि पायो। मलाई यो गीतले यो स्थानमा पुगायो। मैले जीवनमा निकै संघर्ष गरेर हिक्मत नहारेर यो अवस्थामा पुगे,' उनले थपे।
यही फागुन ५ गतेदेखि ७ गतेसम्म सुर्खेतको बुलबुले तालमा सञ्चालन हुने यो उत्सवमा विभिन्न १६ वटा विषयगत सत्रहरू, कर्णालीका हिरोहरू भनेर चिनिने पैकेलाका कथाहरू, यहाँको लोक बाजाका प्रस्तुतिहरूका साथै कर्णाली कन्सर्टका रूपमा सांस्कृतिक झाँक्रीहरू पनि राखिने आयोजकले जनाएको छ।